पोखरा, आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ को निर्वाचन परिचालन कमिटीको सम्पर्क कार्यालय पोखरा महानगरपालिका – १४ चाउथेमा स्थापना गरेको छ । उक्त कार्यालयको उद्घाटन एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले गर्ने कार्यक्रम तय गरिएको भएपनि स्वयम् अधिकारीले नै जेनजी पुस्ताका युवालाई कार्यालयको उद्घाटन गर्न लगाएका थिए ।
रिबन काट्न हातमा कैंची लिएका अधिकारीले सोधे, ‘यहाँ जेन्जी पुस्ता को हुनुहुन्छ ?’ आफ्नो दायाँबायाँ हेरे । कास्की रुपा गाउँपालिकाका आदर्श सुवेदी अगाडिपट्टि उभिएका थिए । अधिकारीले सोधे, ‘बाबु, जेन्जी होइन ?’
आदर्श सुबेदी एकछिन रोकिएर आँफुलाई जेनजी पुस्ताको बताएपछि एमालेका केन्द्रीय सचिब अधिकारीले उनै सुबेदीलाई कार्यालय उद्घाटन गर्न बोलाएका थिए । त्यसपछि २६ वर्षीय आदर्श सुवेदीको हातबाट एमालेको कास्की क्षेत्र नम्बर १ को चुनावी कार्यालयको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा बोल्दै एमाले सचिव अधिकारीले विभिन्न भ्रम फैलाएर पार्टीबारे दुष्प्रचार गर्ने प्रयास भइरहेको बताए । भ्रष्टाचार गर्नेलाई कारबाही गर्नेसहित नवपुस्ताका माग सम्बोधन गर्नुपर्छ भन्नेमा एमाले दृढ रहेको उनले बताए ।
एमालेका उम्मेद्वारले कसैलाई गाली नगर्ने र आफ्ना नीति–विचार बोकेर जनताकहाँ जाने उनले सुनाए । मादी, रुपाका गाउँ–गाउँमा एमालेले गरेका कामले नै पार्टीको प्रभावकारी उपस्थिति देखिएको भन्दै उनले जनताले एमालेबाहेक अरुलाई विश्वास नगर्ने दाबी गरे ।
कास्की–१ का उमेदवार बैनबहादुर अधिकारी क्षेत्रीले देशको सार्वभौमसत्ता, राष्ट्रियता जोगाउने–नजोगाउने भन्ने विषयसँग फागुन २१ को निर्वाचन जोडिने बताए । नवपुस्ताले उठाएका विषय सम्बोधन गर्ने विषयमा एमाले सकारात्मक रहेको उनको भनाइ थियो ।
राजनीतिलाई जनताको समृद्धि र आयस्तर वृद्धिमा जोड्ने आफूहरुको चाहना रहेको उनले सुनाए । ‘हामी राजनीतिलाई जनताको समृद्धिसँग जोड्न चाहेका छौं,’ उनले थपे, ‘राजनीतिलाई जनताको आयस्तर बढाउने कुरासँग जोड्ने कुरा गरिरहेका छौं । हामी विकास निर्माणमा त्यस्तै ध्यान दिएका छौं ।’ विगतमा गरेका काम, कास्की–१ को भूगोलमा निरन्तरको सक्रियताले गर्दा आफूलाई मतदाताले जिताउने विश्वास उनले व्यक्त गरे ।















