जोमसोम, हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङ जिल्लामा आगामी फागुन २१ गते हुने चुनाबको चहलपहल बढ्न लागेपछि विभिन्न राजनीतिक दलमा आवद्ध नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
यस अगाडी नेकपा (माओवादी केन्द्र) मुस्ताङकोजिल्ला अध्यक्ष रहेर काम गरिसकेका गणेश थकाली, नेकपा (एमाले) मुस्ताङ जिल्ला कार्यसमिति सदस्य प्रतिभा गुरुङ तथा ताक्लुङ निवासी नेता चन्द्र बि.क. नेपाली कांग्रेसमा प्रवेश गरेको बताइएको छ।
नेपाली कांग्रेस मुस्ताङ जिल्लाका सभापति एवं पूर्व मन्त्री रोमी गौचन थकालीले नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै प्रजातान्त्रिक मूल्य–मान्यता, समावेशी राजनीति र जनसेवामा विश्वास गर्ने व्यक्तित्वहरूको कांग्रेस प्रवेशले जिल्लामा नेपाली काँग्रेस थप सुदृढ र संगठित बन्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रदेशसभा सदस्य बिकल शेरचन, प्रदेशसभा क्षेत्र नं. २ का कार्यवाहक सभापति योगेश शेरचन लगायत पार्टीका नेता र कार्यकर्ताहरूले नेपाली कांग्रेसको प्रजातान्त्रिक विचार, सामाजिक न्याय र समावेशी विकासप्रतिको स्पष्ट प्रतिबद्धताका कारण जनविश्वास क्रमशः बढ्दै गएको उल्लेख गरे।
अन्य दलमा काम गरेका नेताहरुको नेपाली काँग्रेस प्रवेशका कारण आसन्न निर्बाचनमा नेपाली काँग्रेस थप शसक्त बन्ने बिश्वास गरिएको छ।















