पोखरा, कालजयी स्वरकी धनी तारादेवी र अरुणा लामालाई सम्झंदै पोखराका महिला कलाकारहरुको संस्था हार्मोनी र पोखराको एभरेस्ट एफएमले संयुक्त रुपमा तारादेवी–अरुणा लामा स्मृति श्रष्टा साँझ कार्यक्रम सम्पन्न गरेको छन। शुक्रबार साँझ पोखरामा आयोजित कार्यक्रममा हार्मोनीमा आबद्द कलाकारहरुले तारादेवी र अरुणा लामाका एक दर्जन कालजयी गीतहरु प्रस्तुत गरेर उनीहरुलाई मात्र सम्झेनन, आम पोखरेलीहरुलाई पनि कालजयी गीतसंगीतको माध्यमबाट भरपुर मनोरन्जन समेत दिलाए ।
कार्यक्रममा हार्मोनीका कलाकारहरुले सामुहिक बन्दना र त्यसपछि लगातार तारादेवी र अरुणा लामाका कालजयी गीतहरु शुभकामना भरी, उकाली ओरालीहरुमा, पोहोर साल, एक फूल झरेर के भो ?, ए कान्छा ठट्टैमा, हेर न हेर कान्छा, फूललाई सोंधे भन्ने गीतबाट स्वर किन्नरी द्वयलाई श्रद्दाञ्जली अर्पण गरेर कार्यक्रमलाई अगाडी बढाइएको थियो ।
त्यसपछि पालैपालो स्टेजमा उक्लिएका गायीकाहरु ईतु जोजिजु, शितल थापा, कौशल्या गुरुङ, रजनी ऋदम राई, लक्ष्मी गिरी, मितु पाल र बबी दियाली रसाईलीले तारादेवी र अरुणा लामाका गीतहरु एकपछि अर्को गर्दै गुञ्जाउँदा दर्शकहरुले भरपुर मनोरंजन लिएका थिए ।

कार्यक्रममा ईतुले अरुणा लामाको ‘मैले जीवनलाई कसरी सजाएँ’ र ‘आफ्नो र त्यो कहिले घाम, कहिले छायाँ’, सितल थापाले तारादेवीका ‘टाढाबाट बोलाएको’ र ‘जति माया लाएपनि’, कौशल्या गुरुङले तारादेवीको ‘जताततै खोजें’ र आफ्नो ‘जून राम्रो जुनेली रातको’, रजनी ऋदम राईले अरुणा लामाको ‘भेटिनु छुटिनु’ र आफ्नो ‘को छ र मेरो’, लक्ष्मी गिरीले अरुणा लामाको ‘उदास मेरो जीवन कथा’ र आफ्नो ‘हिमालकी प्यारी छोरी’, मितु पालले अरुणा लामाको ‘हाँसी राखें, बोली राखें’ र आफ्नो ‘परिभाषा हराएको’ तथा बबी दियाली रसाइलीले तारादेवीको ‘जबजब मेरा सपनाहरु’ गीत भ्वाईलिनको साथमा गुञ्जाएका थिए ।
कार्यक्रममा आधुनिक र शास्त्रीय संगीतमा छुट्टै पहिचान बनाएकी चर्चित गायीका कुन्ती मोक्तानले विशेष सांगीतिक प्रस्तुती दिएकी थिईन् । सुर शक्ति नारी समूहकी सचिवसमेत रहेकी उनले तारादेवी र अरुणा लामालाई समर्पित गर्दै अरुणा लामाको ‘म आँखैमा राख्न’र आफ्ना दुई गीतहरु ‘भन्छन् कोहि’ र ‘माथि माथि सैलुङ्गेमा’ गीतहरु गुञ्जाईन् । जसले कार्यक्रममा छुट्टै रौनकता थपेको थियो ।

कार्यक्रमका संयोजक दिपेन्द्र श्रेष्ठले स्मृति साँझको औचित्य र आवश्यक्ताका बारेमा जनाकारी दिंदै यसलाई बर्षेनी निरन्तरता दिईने जानकारी गराए साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक प्रकाश सायमीले कलाकार द्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सुनाएका थिए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तारादेवी–अरुणा लामा स्मृति साँझ पोखराको अर्को एउटा प्रोडक्ट बनेको बताए । उनले भने,‘पोखराका सबै क्षेत्रका अगुवाहरुको जमघट गर्ने एउटा थलेको बनेको छ यो । जसले गीत, संगीतसँगै पर्यटनमासमेत छुट्टै आयाम थपेको छ।’
समापनको अबसरमा बोल्दै एभरेस्ट मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङले स्वर साम्राज्ञी अरुणा लामाको माघ २२ गते र कालजयी गायीका तारादेवीको माघ ९ गते स्मृतिदिवस भए पनि यी दुवै सर्वप्रिय गायीकाको स्मृति दिवसको सन्दर्भ पारेर हार्मोनी र एभरेस्ट एफएमले २०७९ सालदेखि हरेक वर्ष अरुणा लामा–तारादेवी स्मृति साँझ आयोजना गर्दै आएको जानकारी दिईन् ।















