पोखरा, पोखरामा फुटबलको पर्याय बनेको सहारा क्लबको आयोजनामा २५ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यहि माघ २७ गतेदेखि फागुन ९ गतेसम्म हुने भएको छ। प्रतियोगिताबारे जानकारी दिन पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा सहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापाले हिमश्री फुड्स प्रा. लि. को मुख्य प्रायोजनमा पोखरा रंगशालामा आहा रारा गोल्डकप प्रतियोगिता संचालन गरिने जानकारी दिए ।
सहारा क्लबले पोखरामा पहिलो पटक क्याराभान गोल्ड कप आयोजना गरेकोमा त्यस पछिका बर्षमा आहा रारा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ आयोजना हुन लागेको प्रतियोगितामा यस वर्ष १२ टोलीको सहभागिता रहनेछ। आयोजकका अनुसार प्रथम हुने टोलीले १४ लाख १ हजार र द्वितीय टोलीले ७ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित क्लबहरूसहित दुई विभागीय र एक आयोजक टोली सहभागी हुनेछन्। जसअनुसार नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, प्लानिङ ब्वाइज युनाइटेड, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, सहारा क्लब पोखरा, भारतको गोल्ड नर्थ युनाइटेड (सिक्किम), गोर्खा इन्टरनेशनल फुटबल क्लब (हरियाणा), भारत एक टोली तथा उज्बेकिस्तानको आमा फुटबल क्लब रहेका छन्।
पत्रकार सम्मेलनमा प्रमुख प्रायोजक हिमश्री फुड्स प्रा. लि. का सञ्चालक प्रकाश केसीले सहारा क्लबसंगको सहकार्यलाई निरन्तरता दिने बताउंदै प्रतियोगिताको कारण पोखराको खेलकुद र पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आएको बताए।
पोखरा महानगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति लगायत विभिन्न संघसंस्थाको सहयोग रहेको आयोजकले जनाएको छ। पोखरा पर्यटन वर्ष २०२५–२६ लाई समेत प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष रात्रिकालीन खेल सञ्चालनका लागि अस्थायी फ्लडलाइट जडान गरी प्रतियोगिता सञ्चालन गरिने जानकारी पनि दिइएको छ।















