पोखरा, पोखरामा रहेर पर्यटनसंग सम्बन्धित महिलाहरुको छाता संस्था पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान) ले पर्यटन क्षेत्रमा संलग्न महिलाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तीनदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा सोमबारदेखि पोखरामा सुरु भएको तालिम बुधबार समापन भएको हो ।
तालिमको पहिलो दिन व्यक्तित्व विकाससँगै शारीरिक तथा मानसिक स्वास्थ्यका विषयमा डा. आरती रेग्मीले सहजीकरण गरेकी थिइन् । उनले व्यवसायिक जीवनमा सफलता हासिल गर्न मानसिक सन्तुलन, आत्मविश्वास, सकारात्मक सोच र स्वस्थ जीवनशैली अपरिहार्य हुने उल्लेख गर्दै महिलाहरूले आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी थिइन् ।
दोस्रो दिन मंगलबार डिजिटल प्रविधिको प्रयोगमार्फत व्यवसाय प्रवर्द्धन गर्ने उपायबारे डिजिटल मार्केटिङ प्रशिक्षक विजय कुमालले प्रशिक्षण दिएका थिए । उनले सामाजिक सञ्जाल, अनलाइन प्लेटफर्म र डिजिटल सामग्रीको प्रभावकारी प्रयोगबाट पर्यटन व्यवसायलाई कसरी ब्रान्डिङ गर्न सकिन्छ भन्ने विषयमा व्यवहारिक ज्ञान प्रदान गरेका थिए ।
तालिमको अन्तिम दिन बुधबार साइबर अपराध तथा अनलाइन ठगीसम्बन्धी सचेतनामूलक सत्र कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले सहजीकरण गरेका थिए । उनले पछिल्लो समय बढ्दै गएको अनलाइन ठगी, ह्याकिङ र साइबर अपराधबाट जोगिन अपनाउनुपर्ने सतर्कता तथा कानुनी पक्षबारे जानकारी गराएका थिए । यसै दिन व्यवसाय प्रवर्द्धन तथा ‘ब्रान्डिङ’ विषयमा समिर बरालले प्रशिक्षण दिएको टेवानका महासचिव शोभा अधिकारी पौडेलले जानकारी दिइन् ।
समापन कार्यक्रममा प्रमुख अतिथि तारानाथ पहारीले सिकाइ कहिल्यै अन्त्य हुँदैन भन्दै यस्ता तालिमहरू आगामी दिनमा अन्य विषयमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । सल्लाहाकार समिर बरालले तालिमबाट आर्जित सीप तथा ज्ञानलाई सहभागीहरूले आफ्ना व्यवसायमा व्यवहारिक रूपमा लागू गर्न आग्रह गरे ।
टेवान पोखराका अध्यक्ष शोभा न्यौपाने पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष कमला गिरी, पूर्व अध्यक्ष रेनु थापा मगर, संस्थापक अध्यक्ष लक्की कार्कीलगायत वक्ताहरूले तालिममा गरिएको लगानीले प्रत्यक्ष रूपमा पर्यटन व्यवसायको प्रवर्द्धनमा योगदान पुग्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रमको समापनका अबसरमा बोल्दै टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले तालिमबाट अपेक्षित उपलब्धि हासिल भएको बताउँदै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने नेपाल पर्यटन बोर्ड, प्रशिक्षक, अतिथि तथा सहभागी सम्पूर्णप्रति धन्यवाद तथा आभार व्यक्त गरिन् ।
संस्थाका उपाध्यक्ष अनिता खड्का भट्टराई, महासचिव शोभा अधिकारी पौडेल, सचिव शान्ता तिमिल्सीना, कोषाध्यक्ष शारदा लम्साल तथा कार्यक्रम संयोजक मीना बराललगायत सहभागीहरूले तालिमले आफ्नो व्यवसाय ब्रान्डिङ, डिजिटल मार्केटिङ तथा साइबर सचेतनासम्बन्धी ज्ञान आर्जन गर्न महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिएका छन् ।
















