पोखरा, कास्की जिल्लाको क्षेत्र न. २ बाट प्रतिनिधिसभा सदस्यको निर्बाचनमा नेपाली काँग्रेसको तर्फबाट उमेदवार बनेका छन माधव प्रसाद बाँस्तोला ‘मधु’। पोखरा महानगरपालिका -११, फूलबारीमा २०२३ सालमा प्राज्ञिक पृष्ठभूमि भएको परिवारमा बाँस्तोला जन्मिएको हुन । उनका हजुरबुवा बनारसमा पढेका थिए भने बुवा चन्द्रकान्त बास्तोला दरबार स्कुल हुँदै बनारस पुगेर उत्तरमध्यमा उत्तीर्ण गरेका थिए । सोहि कारण पनि बाँस्तोलाका ३ दाजु भाई र २ दिदिबैनीले शिक्षाबाट बन्चित हुनुपरेन । आंफ्नो घर नजिक रहेको शिवशक्ति स्कुलबाट शुरु भएको उनको पढाई मालेपाटनको बाराही माविबाट एसएलसी गरेपछि पोखराकै पृथ्वीनारायण क्याम्पसबाट उच्च शिक्षा अन्तर्गत बीएल र त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तरसम्म पुगेको छ।
उनि आंफ्नो गाउँमा कक्षा ६ मा पढ्नेबेला २०३६ सालमा जनमत संग्रहको घोषणा भएको थियो । जनमत संग्रहमा बहुदलको पक्षमा लागेका बीपी कोइराला पोखरा आएर गरिएको आमसभामा आफ्ना दाजु गुरुप्रसादसंगै आमसभा हेर्न पुगेको स्मरण गरे त्यसबेला बिपी कोइरालाले ‘कानुनभन्दा माथि राजा कदापि हुन सक्दैनन्, प्रजातन्त्र र मुलुकका लागि बहुदलीय शासन व्यवस्था नै चाहिन्छ ।’ भनेको कुराले उनको मन छोयो र उनि नेपाली कांग्रेसको पक्षमा जोडिन पुगे। जसका कारण बाराही स्कुलमा पढ्दा नेविसंघमा लागेका उनले विंस २०४२ मा कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए ।
२०४२ सालमा भएको स्थानीय तहको निर्बाचनमा नेपाली काँग्रेसले पनि भाग लिएको थियो उक्त निर्बाचनमा कांग्रेसको पक्षमा सक्रिय रहेका बाँस्तोला विंस २०४६ को जनआन्दोलनमा पनि सक्रिय बनेका थिए । २०४६ को आन्दोलन सफल भएपछि नेपाली काँग्रेसको संगठनमा वडातहबाट लागेका बाँस्तोला २०४९ सालमा पोखरा -११ को कांग्रेसको सभापति र २०५४ को स्थानीय निर्वाचनमा सोही वडाको वडाध्यक्षमा निर्वाचित भए । त्यसपछि पनि उनको राजनीतिक यात्राले निरन्तरता पाउँदै गएको थियो र उनि २०६२/६३ को जनआन्दोलनका क्रममा केहि दिन प्रहरी हिरासतमा बसे । पार्टीको १२ औं र १३ औं महाधिवेशनबाट तत्कालिन कास्की क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति बनेका माधव बाँस्तोला पार्टीको १४ औं महाधिबेशनपछि नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रवक्ताको जिम्मेवारीमा छन् । राजनीतिसंगै उनि स्थानीय शिवशक्ति मावि र क्याम्पसको पुर्व अध्यक्ष सहित रामेश्वरी मन्दिर र फुलबारी क्लब जस्ता संस्थामा पनि संलग्न छन ।

आंफ्नो राजनीतिक यात्राको दौरानमा बाँस्तोलाको लागि मात्र नभएर कांग्रेस नेता कार्यकर्ताको लागि पनि एक दुखद र बिर्सिन नसकिने घटना हुनपुग्यो । २०६७ असोज ६ गते साँझ। नेपाली कांग्रेसको काठमाडौँमा सम्पन्न १२ औं महाधिवेशनमा सहभागि भएर पोखरा फर्किने क्रममा पृथ्वीराजमार्ग अन्तर्गत कुरिनटार- मुग्लिंग सडकखण्डको रमाइलो डाँडामा उनी चढेको गाडी सडकबाट तल नदीमा खसेर दुर्घटना भयो। दुर्घटनामा परेर पोखराको चिप्लेढुंगा घर भएका कांग्रेसका तत्कालिन क्षेत्रिय सभापति कृष्णप्रसाद पराजुली, पोखरा -१० घर भएका महासमिति सदस्य तेजप्रसाद दाहाल र पोखरा -६ घर भएका शिक्षक युवराज पहारीको घटनास्थलमै निधन भयो भने पोखराको नयाँबजार घर भएका कांग्रेस जिल्ला सदस्य जोगेन्द्र बाटाजुको घटनास्थलबाट उद्वार गरिएपनि उपचारका क्रममा ज्यान गयो ।
(दुर्घटनामा गम्भीर घाइते भएर पनि पुनार्जिबन पाएका मदन बहादुर केसी र माधव प्रसाद बाँस्तोला)
सोहि दुर्घटनामा परेका महाधिबेशन प्रतिनिधि माधव प्रसाद बास्तोला र मदन बहादुर केसी भने गम्भीर घाइते भए । टाउकोमा गम्भीर चोट लागेको र ७ वटा करङ भाँचिएको अबस्थाका बास्तोलाले झण्डै १ वर्षको उपचार र आरामपछि पुनर्जीवन पाएको भन्दा अत्युक्ति हुँदैन। बाँस्तोलासंगै पुनार्जिबन पाएका पोखरा -१६ लामाचौरका मदनबहादुर केसी पनि लामो समयको उपचारपछि घर फर्केर धार्मिक र राजनीतिक जिबन बिताइरहेको भएपनि शारीरिक रुपमा भने कमजोर बनेका छन । कहाली लाग्दो उक्त दुर्घटना सम्झ्निदै बाँस्तोला भन्छन ‘चारजना साथीले ज्यान गुमाउँदा मेरो पनि बाँच्ने आशा मरेको थियो तर ईश्वरले मलाई बचाए र मैले पनि मृत्युलाई जितेर आए, अब यसपटक मतदाताले मलाई जिताउनुहुन्छ र म चुनाब जित्छु अनि देश जनता र व्यबस्थाको लागि काम गर्छु।’ उक्त दुर्घटनापछि उनलाई भेट्न कांग्रेसका तत्कालिन सभापति sushil कोइराला लगायतका नेता कार्यकर्ताहरु आउने क्रम पनि बढेको थियो।

हुन त, बाँस्तोलाले यस अगाडिका निर्बाचनमा पनि चुनाब लड्ने चाहना ब्यक्त गरेका थिए। यस अगाडी सोहि क्षेत्रबाट प्रदेश सांसद बन्ने चाहना गरेका उनले त्यसबेला टिकट पाएनन। पोखराका ब्यबसायी बिन्दुकुमार थापा पार्टीका नेताहरुको कारण दुई पटकसम्म प्रदेश सांसदको उमेद्वार बनेर मतदाताले चुनाब पनि जिताइदिए नेपाली काँग्रेसको प्रभावक्षेत्र मानिने उक्त प्रदेशबाट चुनाब लड्न चाहेका कांग्रेसका तत्कालिन नेता नरेशशंकर पालिखेलाई पार्टीले उमेदवार नबनाएर ब्यबसायी थापालाई उमेदवार बनाएपछि पालिखे कांग्रेसबाट नै बाहिरिए। यसले कांग्रेसको संगठनमा पनि असर परेको छ। यस्तै बिभिन्न घटनाका कारण नेपाली काँग्रेस र प्रजातन्त्रको लागि बिगतदेखि महत्वपूर्ण सहयोग गर्दै आएको पोखराको मुख्य बजार क्षेत्र अनि नेवार समुदायको सम्बन्ध कांग्रेससंग चिसिन पुगेको छ ।
यसबीचमा, कास्की क्षेत्र न. २ को टिकट कसले लिने भनि रस्साकस्सी चलेको बेला बाँस्तोलासहित कांग्रेस महासमिति सदस्यद्वय बिरेन्द्र नारायण बिजुक्छे र ऋषिराम काफ्ले मात्र नभएर कास्की कांग्रेसका कोषाध्यक्ष समेत रहेका पोखराका ब्यवसायी माइकल कर्माचार्य र युवा उधमी किरण केसीको लगायतको नाम चर्चामा आएको थियो सबैजसोले आंफ्नो पक्षमा निर्णय हुने आशा आँफु निकटका साथीहरुसंग राख्दै आएका थिए । कांग्रेसले निर्णय नगर्दै नेकपा एमालेले पोखराका पुर्व मेयर एबम गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई उमेदवार बनाउने निर्णय गरेको र एमालेभित्र असन्तुष्टि बढ्दै गएर उमेदवार परिवर्तन गर्नुपर्नेसम्मको चर्चा चलिरहेको बेला सोहि क्षेत्रबाट २०७४ मा प्रतिनिधिसभा सदस्यको उमेद्वार बनेका कांग्रेस नेता देबराज चालिसे समेत चुनाब लड्ने भन्ने कुराले पनि पार्टीभित्र महत्व पायो। राष्ट्रिय सभा सदस्य बनेर संसदमा प्रवेश गर्ने सोच बनाएका चालिसे बिशेष महाधिबेशनबाट केन्द्रीय सदस्य हुँदै पार्टीको प्रबक्ता बनेपछि उनमा जनताबाट अनुमोदित भई प्रतिनिधिसभाको सदस्य बन्ने चाहना बढेको निकटस्थहरुको भनाई छ।
तर, एमालेले आन्तरिक असन्तुष्टिका कारण कृष्ण थापाको ठाउँमा रश्मि आचार्यलाई उमेदवार बनाउनु, कांग्रेस नेता चालिसेले प्रतिनिधिसभाको निर्बाचनको लागि पहिले नाम नदिनु र कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले चालिसेलाई यस पटक आँफै चुनाब लड्नु भन्दा पार्टीको प्रचार प्रसारमा जुट्नुपर्ने आबश्यकता रहेको बताएपछि उनि पछाडी हटेको बताइन्छ। चालिसेलाई यस पटक चुनाब नलडे आगामी दिनमा संसदीय यात्राको लागि बाताबरण मिलाउने आन्तरिक समझदारी सभापति थापा सहितका नेताहरुसंग भएको समेत बताइएको छ। चालिसेले कास्की – २ मा चुनाब लड्ने कुराबाट पछाडी हटेपछि सोहि क्षेत्रमा कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको समेत जोडबलमा माधव बाँस्तोलालाई उमेद्वार बनाउने निर्णय भएको जानकारहरुको भनाई छ। लामो समयदेखि निरन्तर कांग्रेसको राजनीतिमा संलग्न, पोखराका स्थानीय बासिन्दा, सादगी जिबन शैली अनि पार्टीभित्रको बिबादमा समेत खासै नपरेका बाँस्तोलाको उमेदवारीलाई लिएर पार्टी भित्र आलोचना नसुनिएपनि बाँस्तोलाले मतदाता समक्ष व्यक्तिगत सम्बन्ध र सम्पर्क बढाउनुपर्ने खाँचो भने सबैतिरबाट औंल्याइएको छ ।

उनले पोखराको मुख्य समस्या बनेको फोहरमैलालाई आर्थिक उपार्जनको माध्यम बनाउन उपयुक्त स्थान छनोट गरी आधुनिक प्रशोधन केन्द्र बनाउनसके, पोखरा लाई पर्यटकीय राजधानीको रूपमा विकास गर्दै तालतलैया र नदीको संरक्षण गर्नसके, पोखरालाई केन्द्रमा राखेर धार्मिक पर्यटन करिडोर निर्माण गर्नसके र पोखरालाई देशकै शिक्षा र स्वास्थ्यको ‘हब’ बनाउनसके पोखरा समुन्नत शहर बन्नसक्ने बताए । युवाको विदेश पलायन रोक्न, समयानुकुल संविधान संशोधन र निर्वाचन प्रणालीमा पुनर्विचार गर्न आबश्यक रहेको उनको भनाई छ । उनले कांग्रेस सभापति गगन थापालाई प्रधानमन्त्रीको उमेद्वार घोषणा गरेर जानु पार्टीको लागि राम्रो भएको बताए ।















