पोखरा, नेपाल रेडक्रस सोसाइटी अन्नपूर्ण गाउँपालिका वडा न. ६ र ७ उपशाखा लुम्लेको २८ औं साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले रेडक्रस मानवीय संस्था भएकोले अन्नपूर्ण गाउँपालिका भित्र रहेका सबै रेडक्रस सोसाइटीका उपशाखाहरुसंग मिलेर गाउँपालिकाले काम गर्न चाहेको बताए।

विशेषगरी बिपदको क्षेत्रमा रेडक्रससँग गाउँपालिकाको बिपद व्यवस्थापन कार्यक्रमलाई समन्वय गर्नसके जनताले छिटो राहत पाउनसक्ने हुँदा रेडक्रस र गाउँपालिका मिलेर काम गर्नुपर्नेमा उनको जोड थियो।
सोहि अबसरमा अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा लुम्लेको ढाकेमा निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटी अन्नपूर्ण गाउँपालिका वडा न. ६ र ७ उपशाखा लुम्लेको कार्यालय भवनको उद्घाटन पनि गाउँपालिका अध्यक्ष केसीले गरेका थिए।

रेडक्रस सोसाइटी उपशाखाका सभापति नुमलाल देवकोटाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा अन्नपूर्ण गाउँपालिका वडा नं . ६ का वडाध्यक्ष एकदेब देवकोटा, वडा नं. ७ का वडाध्यक्ष तथा अन्नपूर्ण गाउँपालिकाका प्रबक्ता भरतमान गुरुङले रेडक्रस उपशाखाले वडासँग मिलेर बिपदको क्षेत्रमा उत्कृष्ट काम गरेको बताए।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वार्ड नं ६ का पूर्व वडाध्यक्ष चित्र बहादुर गुरुङ र रेडक्रस सोसाइटी उपशाखा लुम्लेका पूर्व सभापति भक्तिराम देवकोटाको साथै निवर्तमान सभापति चुडामणि देवकोटा लगायतले संस्थाले स्थानीयस्तरमा गरेका कामको चर्चा गरेका थिए कार्यक्रममा रेडक्रसका सात सिद्धान्त बाचन कार्यसमिति सदस्य अनिता विकले गरेकी थिईन ।
साधारणसभामा उपशाखाका सचिव दिनेश कुमार जिसीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष खुमराज देवकोटाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो। उक्त कार्यक्रमको सञ्चालन उपशाखाका सचिव श्री दिनेश कुमार जि.सी.ले गर्नु भएको थियो।
















