Play

पोखरामा २२ औं संस्करणको स्पोर्ट्स अवार्ड कार्यक्रम, बिभिन्न विधाका खेलाडी, प्रशिक्षक सहित अन्यलाई सम्मान

गुरुकुल खबर


पोखरा, पारा तेक्वान्दोकी पलेसा गोवर्धन एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा ट्रेजब्लेजर अफ दि इयरको अवार्डले सम्मानित भएकी छन्।नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बुधबार पोखरामा आयोजना गरेको स्पोर्ट्स अवार्डको २२ औँ संस्करण कार्यक्रममा पोखरा महानगरपलिकाका मेयर धनराज आचार्यले पलेसालाई अवार्ड प्रदान गरे । स्पोर्ट्स अवार्ड पहिलो पटक काठमाडौँ बाहिर पोखरामा आयोजना भएको हो ।

पेरिस पारा ओलम्पिकमा काश्य पदक जितेर इतिहास बनाएपछि पलेसालाई नेपाली खेलकुदकी पथप्रदर्शकको सम्मान दिइएको हो । पलेसा ओलम्पिक पदक जित्ने नेपालकी पहिलो खेलाडी हुन् । गत वर्ष पलेसा एनएसजेएफ पारा एथ्लेट अवार्डबाट सम्मानित भएकी थिइन् । करातेकी एरिका गुरुङ र क्रिकेटर दिपेन्द्र ऐरी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को वर्ष खेलाडी घोषित भए । यस अवार्डका लागि क्रिकेटकै कुशल भुर्तेल, उसुका विजय सिन्जाली, खोखोका जनक चन्द, टेबलटेनिसका श्यान्टु श्रेष्ठ पनि मनोनयनमा परेका थिए । गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले ऐरीलाई अवार्ड प्रदान गरे ।

गत वर्ष दिपेन्द्रले एसिसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा छ छक्का प्रहार गर्दै इतिहास बनाएका थिए । यस्तो कीर्तिमान बनाउने टी २० अन्तर्राष्ट्रियकै तेस्रो खेलाडी हुन् । वर्ष २०८१ मा ३७० रन जोड्नुका साथै २० विकेट लिन सफल भए । अमेरिकामा सम्पन्न टी २० विश्वकपमा ६ विकेट लिँदै उनी नेपालका लागि सर्वाधिक विकेट लिने बलर थिए । नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करणमा सर्वोकृष्ट खेलाडी बन्दै कार जित्न सफल भएका थिए । प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबलाई च्याम्पियन बनाउने क्रममा ४ अर्धशतक सहित ३०८ रन र ७ विकेट लिएका थिए ।

गत वर्ष चार अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने एरिकाले लगातार दोस्रो पटक वर्षक सर्वश्रेष्ठ महिला खेलाडीको अवार्ड जित्न खोखोकी मानमती धामी, कराँतेकी एलिसा रास्कोटी मगर, भलिबलकी सलिना श्रेष्ठ र फुटबलकी रेखा पौडेललाई पछाडि पारिन् । एरिकाले २०८० को पनि वर्ष महिला खेलाडी घोषित भएकी थिइन । कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा र पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङले एरिकालाई अवार्ड प्रदान गरे ।

गत वर्ष एरिकाले भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली करातेमा दोहोरो स्वर्ण तथा अस्ट्रेलियन ओपन २०२४ र सिंगापुरमा सम्पन्न १६ औं एसिया प्यासिफिक कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । यसगरी एीरकाले चीनमा भएको २०औंँ सिनियर कराते च्याम्पियनसिप र दुबईमा भएको विश्व कराते वन युथ लिगमा रजत पदक जित्न गौरव पनि हासिल गरिन् ।

भलिबलका हिमाल सुनारीले पिपुल्स च्वाइसको अवार्ड जिते । ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा हिमाल विजेता बनेका हुन् । हिमालले सर्वाधिक ४०.१० प्रतिशत मत प्राप्त गरे । यस अवार्डको मनोनयनमा फुटबलर रेखा पौडेल, क्रिकेटकी पूजा महतो, टेबलटेनिसकी इभाना थापा मगर र उसुका विजय सिन्जाली पनि प्रतिस्पर्धामा थिए । खल्ती बाइ आएइमइका सिइओ प्रवीण रेग्मी र नासा सेक्युरिटिजका ग्रोथ चिफ अनिल श्रेष्ठले हिमाललाई पिपल्स च्वाइस अवार्ड प्रदान गरे ।

पारा तेक्वान्दोका कविराज नेगी लामाले वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड हासिल गरे । बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दिपक लामा र नेपाल पर्यटन बोर्डका अफिसएटिङ निर्देशक सुनील शर्माले प्रशिक्षक नेगीलाई अवार्डले सम्मानित गरे । नेगीले दीपक महर्जन (बक्सिङ), लक्ष्मी नारायण वैद्य (खो खो), महेश रिजाल (क्रिकेट) र पछल्ल्लो वर्षका विजेता कुशल श्रेष्ठ (कराँते)लाई निराश बनाए । पलेसाले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक पदक जित्दा नेगी प्रशिक्षकको भूमिकामा थिए । नेपाल पत्रकार महासंघका महासचिब रामप्रसाद दाहाल लगायतले उनीहरुलाई अवार्ड प्रदान गरेका थिए ।

युवा वर्ष खेलाडी अवार्ड महिला क्रिकेटर पुजा महतो घोषित भइन् । अनिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र केल्मी नेपालका निर्देशक उत्तम न्यौपानेले पुजालाई अवार्ड प्रदान गरे । पूजा उत्कृष्ट भएको यस विधामा अजय बिक (एथ्लेटिक्स), अञ्जली महर्जन (कराते), स्वस्तिका तिरुवा (बक्सिङ) र समीर तामाङ (फुटबल) पनि मनोनयनमा थिए ।

गत वर्ष पुजा नेपाली यु १९ महिला टोलीलाई इतिहासमा पहिलो पटक महिला विश्वकपमा छनोट गराउने टालीकी कप्तान थिइन् । सो छनोटमा पूजाले २७२ बनाई सर्वाधिक रनकर्ता बन्नुका साथ १० विकेट लिन सफल भइन् । उनले कुवेत विरुद्ध अविजित १३० रनको शतकिय पालि खेलेकी थिइन् । सोही वर्ष पूजा एसिसी महिला यु–१९ एसिया कप २०२४ मा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै इतिहास रच्ने कप्तान पनि बनेकी थिइन् ।

एनएसजेएफ पारा एथ्लिट अवार्डबाट प्रभा आङदम्बे सम्मानित भइन् । प्रभा पारा एथलेटिक्स खोलडी हुन् । नेपाली खेलकुद क्षेत्रमा प्रवेश गरेको एक वर्ष पनि पूरा नभएकी प्रभाले नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटक्समा ऐतिहासिक रजत पदक जित्न सफल भएकी थिइन् । टी ४७ क्याटेगोरीमा प्रभाले लङजम्पमा ३.९६ मिटर उचाई नाघेर ऐतिहासिक रजत पदक जितेकी हुन् । जुन पारा एथलेटिक्समा नेपालले जितेको अहिलेसम्मको ठूलो पदक हो । हिमश्री फुड प्रा.लिका प्रबन्ध निर्देशक प्रकास केसीले प्रभालाई अवार्ड प्रदान गरे ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सबैभन्दा प्रतिष्ठित र सम्मानित विधा लाइभ टाइफ एचिभमेन्ट अवार्डबाट एथलेटिक्सका खड्गबहादुर रानाभाट सम्मानित भए । पोखरालाई आफ्नो कर्मथलो बनाउँदै आएका उनी नेपाली खेलकुदको पहिलो पहिलो पुस्ताका खेलाडी र प्रशिक्षक हुन् । आप्mनो जीवनको आठौँ दशकतर्फ अग्रसर रानाभाट कर्तिमान धावक जितबहादुर केसीका समकालीन हुन् । खेलाडी जीवनपछि उनी प्रशिक्षणमा उत्तिकै ब्यस्त रहे । नामी विदेशी विश्वविद्यालयबाट प्रशिक्षणको अवसर पाएका उनी सिक्ने सिकाउने क्रममा ७७ जिल्ला पुगेका छन्,। राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको संगठन बनाउन समेत महत्वपूर्ण भूमिका खेलेका उनले पोखरा म्याराथनलाई स्थापित मात्र गरेनन्, सफलतापूर्वक अगाडि बढाएका छन् । सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा बैकुण्ठ मानन्धरको म्याराथनमा किर्तिमान बनाउँदा रानाभाट नेपाली टिमका प्रशिक्षक थिए । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र महासचिव अन्जन खड्काले रानाभाटलाई अवार्ड प्रदान गरे ।

स्पेसल अवार्डबाट तेक्वान्दोकर्मी तुलसी कुमार गुरुङ सम्मानित भए । पोखरेली गुरुङले गतवर्ष दक्षिण कोरियाको कुक्किवोनबाट नवौँ डान ब्ल्याक बेल्ट प्राप्त गरेका थिए । तेक्वान्दोमा यस्तो उपल्लो डानको मान पाउने उनी पहिलो नेपाली हुन् । गुरुङ झन्डै ३ दशकको तेक्वान्दो यात्रामा नेपाली खेलकुद विकासमा जोडिएका छन् । सन् २०१३ मा उनी हङकङ राष्ट्रिय तेक्वान्दो टिमका मुख्य प्रशिक्षक नियुक्त भएका थिए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र यती एयरलाइन्सका प्रमुख बिजनेस अफिसर युवराजकुमार विस्टले रानाभाटलाई अवार्ड प्रदान गरे ।

भारतका नयाँ दिल्लीमा भएको पहिलो खोखो विश्वकपमा उपविजेता बनेर ऐतिहासिक रजतक पदक दिलाउने खोखो पुरुष र महिला टिमलाईटिम अफ दि इयरको अवार्ड प्रदान गरियो । टिम गेम’ मा नेपाल विश्वकप खेलेर उपविजेता बनेको खो खो पहिलो खेल हो । मेजेस्टिक लेकफ्रन्टका अध्यक्ष सुनील बहादुर भट्टराई खोखोका दुवै टिमलाई ट्रफी प्रदान गरे ।

यसैगरी बङगलादेशका खेल पत्रकार राना हसनले एसियन स्पोर्ट् जर्नलिस्ट अवार्ड प्राप्त गरे । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले हसनलाई अवार्ड प्रदान गरे । वर्ष खेलाडी पुरुष÷महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्राप्त गरे । अन्य विधाका विजेतालाई जनही एक लाख रुपियाँ प्रदान गरिएको थियो । २२ औँ संस्करण पोखरा महानगरपालिका प्रवर्धकको भूमिकामा रहेको छ । यसैगरी अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै रह्यो । यसैगरी पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको थिया । स्पोट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका थिए ।

२४ पुष २०८२, बिहीबार ११:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा