पोखरा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पंछी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि दिइएको तीन दिने चरा पहिचान तालिम आइतबार सम्पन्न भएको छ । पदयात्रामा जाने पर्यटकलाई चराहरू बारे जानकारी गराउन सहज होस् भन्ने उद्देश्यका साथ गण्डकी प्रदेशमा पदयात्रा क्षेत्रमा पथप्रदर्शन गरिरहेका ३६ जना पथप्रदर्शकलाई तालिम दिइएको पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए ।
तालिमका सहभागीलाई नेपाल पंछीविद् संघका अध्यक्ष हठनराम महतो, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)का प्रमुख रविन कडरिया, काठमाडौं इन्भाइरोन्मेन्टल एजुकेशन प्रोजेक्ट(किप)का कार्यकारी सदस्य गोपि श्रेष्ठका साथै पंछीविद्हरूले चरा अवलोकनका विभिन्न पक्षबारे सैद्धान्तिक र स्थलगत रुपमा नै पुगी प्रयोगात्मक तालिम दिएका थिए ।
तालिमको समापन समारोहमा तालिमका सहभागीलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, समाजका सल्लाहकार जीवनराज सापकोटा लगायतले सहभागिताको प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीले पर्यटनका विभिन्न विधा मध्ये चरा पर्यटन पनि महत्वपूर्ण पक्ष भएको बताए । तालिमका उपलब्धिलाई व्यहारमा उतार्न उनले सहभागीसंग आग्रह गरे ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले कतिपय पर्यटक केवल चरा मात्रै हेर्न आउने बताउँदै त्यस्ता पर्यटकका लागि यस सम्बन्धमा विज्ञता हासिल गर्नु जरुरी रहेको बताए ।
नेपाल पंछीवद् समाजका अध्यक्ष हठनराम महतोले चरा पर्यटनमा काम गर्न चाहनेले त्यस सम्बन्धी विज्ञता हासिल गर्न प्रविधिको प्रयोगका साथै यसतर्फको गहिरो लगाव हुनु जरुरी रहेको उल्लेख गरे ।
समाजका सल्लाहकार जीवनराज सापकोटाले पथप्रदर्शकलाई क्षमताबान बनाउनका लागि तालिम उपयोगी बनेको विश्वास व्यक्त गरेका थिए ।

















