पोखरा, पोखरा महानगरपालिका वडा नम्बर १६ लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारी र सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ। विद्यालयको शैक्षिक एवं भौतिक सुधारमा पुर्याएको योगदानको कदर गर्दै व्यवस्थापन समितिका पदाधिकारीहरूलाई सम्मान गरिएको बताइएको छ।
विद्यालयका प्रधानाध्यापक केशवप्रसाद अमगाईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा २०७९ सालमा गठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापासहितको कार्यसमितिलाई सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रधानाध्यापक अमगाईले समितिको सक्रियता र समन्वयकारी भूमिकाका कारण विद्यालयले पछिल्लो समय शैक्षिक र भौतिक दुवै क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको बताए।

कार्यक्रममा सम्मानितहरुको तर्फबाट बोल्दै दिलबहादुर थापाले आँफु पदमा नरहे पनि विद्यालयको सर्वपक्षीय विकासका लागि सदैब तत्पर रहने प्रतिबद्धता ब्यक्त गर्नुको साथै आंफ्नो कार्यकालमा भएका कामहरुको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा ब्यबस्थापन समितिका सदस्यहरू चित्रबहादुर थापा र गोविन्दबहादुर थापाले विद्यालयको सर्वाङ्गीण विकासका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका थिए समितिका सदस्यहरु निर्मल थापा, भुवन भट्टराई र चीनमाया सुवेदी श्रेष्ठका साथै शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार क्षेत्री र सदस्य भवानी थापाले पनि विद्यालयको विकासका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा शैक्षिक संयोजक धनकुमार श्रेष्ठ, प्राबि इन्चार्ज सिर्जना थापा, सहायक प्रधानाध्यापक बलबहादुर श्रेष्ठको साथै विधालयका सहायक प्रधानाध्यापक एबम सूचना अधिकारी सीता पौडेल लगायतले विद्यालयको बर्तमान अबस्था, भोग्नुपरेका समस्या र समाधानका उपायहरुको बारेमा आआफ्नो भनाई राखेका थिए।















