पोखरा, ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ। येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो। नयाँ वर्ष २०२६ का अवसरमा यो पात्रोअनुसार चाडपर्व मान्ने समुदाय र युवापुस्ताले आज एकापसमा शुभकामना आदानप्रदान गरी खुसी साटासाट गरिरहेका छन्।
ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ। संवत्सम्बन्धी अध्येता डा. शास्त्रदत्त पन्तका अनुसार सौर्यमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विक्रम संवत् जति वैज्ञानिक नभए पनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी बन्दै गएको छ।
पृथ्वीले सूर्यलाई घुम्न लाग्ने समय ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेन्डलाई आधार मानेर वर्ष गणना गरिन्छ। तर, दिनभन्दा सानो घण्टा, मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भएकाले पात्रोमा देखाइँदैन। त्यसको व्यवस्थापनका लागि विक्रम संवत्मा ३ वर्षमा अधिकमासको व्यवस्था गरिएको छ। इस्वी सन् अनुसारको पात्रोमा भने ‘लिप इयर’ का रूपमा त्यसलाई व्यवस्थापन गर्न खोजिएको छ। यद्यपि, यस विषयमा पश्चिमा देशमै पूर्ण मतैक्यता हुन नसकेको डा. पन्तले बताए।
पछिल्लो समय नेपालमा पनि अंग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ। नयाँ वर्षको अवसरमा विदेशी पर्यटकको बढी उपस्थिति हुने काठमाडौंको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहा, लुम्बिनीलगायतका स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ।















