पोखरा, पोखरा महानगरपालिका- ८ सिमलचौरस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिको १४ औं बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन धार्मिक एवं सामाजिक व्यक्तित्व तथा पुर्व जनप्रतिनिधि वीरेन्द्रनारायण विजुक्छेले गरेका थिए।
त्यस अबसरमा बोल्दै बिजुक्छेले समाजमा धार्मिक चेतना बढाउन सके समाजको उत्थानमा सहयोग पुग्ने बताए। नेपाली काँग्रेसका नेता समेत रहेका बिजुक्छेले धार्मिक ज्ञान र चेतनाले नै मानिसलाई जिम्मेवार र नैतिकवान बनाउने भएकोले राजनीतिमा सक्रिय रहनेहरुमा पनि धार्मिक चेतना आवश्यक रहेको बताए ।
पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दामोदर सिग्देलले यस क्षेत्रको धार्मिक धरोहरका रुपमा रहेको पशुपतिनाथ मन्दिरलाई विकास गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । उनले धर्म बाँचे मात्र संस्कार बच्ने र समाज असल हुने कुरामा जोड दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका-८ का वडा सदस्य गोविन्द बराल, समितिका संस्थापक अध्यक्ष बाबुराम पौडेल, सल्लाहकार एबम स्थानीय समाजसेवी परशुराम बराल, श्रीराम टोल विकास समितिका अध्यक्ष ऋषिराम पौडेल, नेपाल सरकारका पुर्व सहसचिव प्रेमराज गिरीलगायतले समितिले गरेका कार्यको प्रशंसा गरेका थिए ।

सभाले सचिव कृष्णहरि सिग्देल र कोषाध्यक्ष बालकृष्ण बरालले पेश गरेको वार्षिक प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । व्यवस्थापन समितिका अध्यक्ष दामोदर सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसचिव देवका पौडेलले गरेका थिए भने कार्यक्रमको संचालन सचिव कृष्णहरि सिग्देलले गरेका थिए ।
कार्यक्रमको अवसरमा मन्दिरमा बिभिन्न किसिमको सहयोग गर्ने सहयोगदातालाई प्रशंसापत्र प्रदान समेत गरिएको थियो ।समितिमा ४ सय ५ जना आजिवन र ९३ जना साधारण सदस्य रहेको समितिले जनाएको छ।















