पोखरा, पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्ष २०२६ को आगमनको अवसरमा आयोजित २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा वेटरतर्फ बेञ्जन रेष्टुरेण्टका प्रशान्त रोक्का प्रथम, चिल्ली बारका अमर परियार द्धितिय तथा बेञ्जनकै इमोन थापाले तृतीय स्थान हाँसिल गरे ।
वेट्रेसतर्फ डुंगा रेष्टुरेण्टका मोनिका नेपाली प्रथम, मोबु रेष्टुरेण्टका रिकिता पौडेल द्धितिय तथा बेलिफ रेष्टुरेण्टका अश्मि घर्ती मगर तृतीय भइन् । उनीहरुले क्रमश नगद रु. ५ हजार, ३ हजार र २ हजार रुपैयाँ सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे ।
हल्लनचोकदेखि खहरेचोकसम्म भएको दौड प्रतियोगितामा वेटरतर्फ २० जना वेट्रेसतर्फ ९ जनाले सहभागिता जनाएका थिए । उनीहरुलाई रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, महोत्सव संयोजक बसन्त गौतम, खेलकुद कार्यक्रम संयोजक सुमन भट्टराई लगायतले पुरस्कृत गरे ।
लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रफलमा जारी महोत्सव अन्तर्गत सोमबार सडक बहस कार्यक्रम पनि सम्पन्न भएको छ । लेकसाइडको सडकमै आयोजित बहसमा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणीराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराई र अग्रज पर्यटन व्यवसायी टिकाराम सापकोटाले बिबिध बिषयमा जानकारी गराएका थिए। रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गरेका थिए ।
महोत्सवको मुख्य प्रायोजकमा गोर्खा व्रुअरी प्रालि र सह प्रायोजकमा यति डिष्ट्रिलरी, बोटलर्स नेपाल (तराई) र दि नेपाल डिष्टिलरी प्रालि रहेका छन् । प्रबर्द्दकमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् लगायत रहेका छन् । महोत्सवमा मंगलबार बिहान अम्मट घाटमा डुंगा दौड प्रतियोगित हुँदैछ ।















