पोखरा, न्याशनल इन्भेन्टिभ स्कूल बैदाम पोखरामा अंग्रेजी स्क्र्याबल क्लब गठन गरिएको छ। बिधार्थी तथा सानो उमेरका बालबालिकाहरुलाई स्पेलिङ (हिज्जे), उच्चारण र शब्द प्रयोग जस्ता भाषागत तत्त्वहरूमा सुधार ल्याउन स्क्र्याबल खेल उपयोगी हुने बताइएको छ ।
नवगठित क्लबको अध्यक्षमा अनिमेष लामिछाने, उपाध्यक्षमा समिर क्षेत्री, र सचिवमा हर्षना श्रेष्ठ चयन भएका छन्। क्लबमा कुल ३२ जना सदस्यहरू रहेका छन्।
क्लबको समिति गठन गर्न आयोजित कार्यक्रममा विद्यालयका संस्थापक तथा प्राचार्य श्रीमती उमा लामिछानेले संपूर्ण पदाधिकारीहरूलाई शुभकामना दिँदै स्क्र्याबल खेलमार्फत विद्यार्थीहरूको अंग्रेजी भाषागत क्षमता र दिमाग विकासमा योगदान पुर्याउने बिश्वास ब्यक्त गरिन।

विद्यालय प्रशासन प्रमुख कृष्णराज गुभाजुले नवगठित क्लबका पदाधिकारीहरूलाई स्वागत गर्दै अंग्रेजी सिक्न र दिमाग विकास गर्न सहयोग गर्ने स्क्र्याबल जस्ता खेलमार्फत नयाँ क्लब खोलिएकोमा खुशी व्यक्त गरे उनले समय समयमा स्क्र्याबल प्रतियोगिताहरू पनि आयोजना गर्ने जानकारी समेत दिए ।
त्यसैगरी विद्यालयका अंग्रेजी शिक्षक सिपी पोखरेलले अंग्रेजी स्क्र्याबलको महत्वबारे प्रकाश पार्दै स्क्र्याबल खेल्दा विद्यार्थीले नयाँनयाँ अंग्रेजी शब्द सिक्ने अवसर पाउने र उनीहरूको शब्दभण्डार विस्तार गर्न सहयोग पुग्ने बताए।















