Play

सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपमा ४ सय ४ पदकका लागि प्रतिष्पर्धा हुने, तयारी अन्तिम चरणमा

गुरुकुल खबर


पोखरा, पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार आयोजक पोखरा महानगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार प्रतियोगितामा कुल ४ सय ४ पदकका लागि ३ हजार ३ सय १२ विद्यार्थीले प्रतिष्पर्धा गर्नेछन् ।

पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले प्रतियोगितालाई व्यवस्थित बनाउनका लागि दुई महिनादेखि तयारी गरिएको बताए । यस प्रतियोगितासँग सम्बन्धित संस्थागत तथा सामुदायिक विद्यालयसँग धेरै पटक छलफल गरिएको उनको भनाइ छ। अघिल्ला संस्करणहरूमा जन्ममितिका कारण बढी मात्रामा विवाद आउने गरेकोले यसपालि विद्यालय भर्ना हुँदा प्रत्येक विद्यार्थीलाई दिइने ‘इमिस कोड नम्बर’को आधारमा कडाइ गरिएको उनले खुलाए ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले पोखरा महानगरपालिकामा रहेका झण्डै २ सय ६० विद्यालय मध्ये १ सय ८० भन्दा बढी विद्यालयको विभिन्न खेलमा सहभागिता रहने उल्लेख गरे ।  ७० प्रतिशत भन्दा बढी विद्यालय सहभागी बन्ने निश्चित भएको भन्दै अर्को वर्ष सत प्रतिशत पुर्‍याउने लक्ष्यका साथ कार्य गर्ने समेत प्रतिवद्धता जनाए । पोखरा महानगरपालिकाको भूगोलको कारण समेत सबै विद्यालय सहभागी हुन समस्या भएको उनले औँल्याए ।

पौष ११ गतेसम्म चल्ने प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधामा प्रतिष्पर्धा हुने पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुरज अधिकारीले जानकारी दिए । जस अनुसार भलिबलमा छात्र तर्फ ४५ विद्यालयका ४ सय ५० जना र छात्रातर्फ २३ विद्यालयका २ सय ३० जना खेलाडी सहभागी हुनेछन् ।

कबड्डी छात्रतर्फ २० विद्यालयका २ सय जना र छात्रातर्फ ११ विद्यालयका १ सय १० जना खेलाडी सहभागी बन्ने निश्चित भएको छ ।  एथलेटिक्समा कुल ८४ विद्यालयका छात्रतर्फ ३ सय ७० जना र छात्रातर्फ २ सय ६५ जनाले प्रतिष्पर्धा गर्नेछन् । कराँतेमा ४१ विद्यालयका ६४ छात्र र ७० छात्राले प्रतिष्पर्धा गर्नेछन् ।

तेक्वान्दोतर्फ २६ विद्यालयका ४८ छात्र र ५० छात्राले सहभागिता जनाउनेछन् ।  उसुतर्फ २१ विद्यालयका ४० छात्र र ६५ छात्राले प्रतिष्पर्धा गर्नेछन् । मार्चपासमा ४५ विद्यालयका १ हजार ३ सय ५० विद्यार्थी सहभागी बन्ने सदस्य सचिव अधिकारीले खुलाए ।

एकजना खेलाडीले प्रतियोगितामा समावेश खेलका विधा मध्ये एउटा मात्र विधामा सहभागिता जनाउन पाउनेछ । परिवर्तित नियम लगायतको विषयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकालाई पालना गर्न  पोखरा महानगरपालिका खेलकुद विकास समितिले आग्रह गरेको छ ।

भलिबल र कबड्डीमा प्रथमले ३० हजार, द्वीतियले २० हजार र तृतीयले १२ हजार रुपैयाँ  सहित पदक र प्रमाणपत्र पाउनेछन् । एथ्लेटिक्स एकल तर्फका प्रथमले ४ हजार, द्वीतियले २ हजार ५ सय र तृतीयले १ हजार ५ सय तथा रिले खेलमा विजेता टिमले ६ हजार, द्वीतियले ४ हजार र तृतीयले २ हजार प्राप्त गर्ने अध्यक्ष गोदारले जानकारी दिए ।

यसैगरी मार्चपासमा प्रथम टिमले २० हजार, द्वीतियले १५ हजार तृतीयले १० हजार र सान्त्वना टिमले ५ हजार रुपैयाँ पाउनेछन् । अन्य विधाका खेलाडीलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको उनले जनाए ।

प्रतियोगिताको उद्‌घाटन पोखरा रङ्गशालामा बुधबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्नेछन् । उद्घाटन समारोहमा मार्च पास, साँस्कृतिक कार्यक्रम र तेक्वान्दो डेमोस्ट्रेसन समेत हुनेछ । प्रतियोगितालाई भव्य बनाउन अध्यक्ष दीपक बहादुर गोदारको संयोजकत्वमा व्यवस्थापन तथा निर्देशन समिति र १० वटा विभिन्न उपसमिति निर्माण गरिएको आयोजकको भनाइ छ ।

७ पुष २०८२, सोमबार २०:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा