Play

कांग्रेसको १५ औं महाधिबेशन: पुषको अन्तिममा वडा र माघ महिनासम्ममा केन्द्रीय महाधिबेशन हुने सम्भावना

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको १५ औँ महाधिवेशन घोषित मिति पुस २६ देखि २८ गतेभित्र नहुने लगभग निश्चित छ ।  मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले कार्यतालिकासहित पुस अन्तिममा महाधिवेशन गर्ने निर्णय गरे पनि सोही तालिकाअनुसार काम हुन नसक्दा निर्धारित समयमा महाधिवेशन हुने सम्भावना क्षीण बन्दै गएको हो ।

बैठकबाट पारित कार्यतालिका अनुसार महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले काम पूरा गर्न नसक्दा महाधिवेशनको प्रक्रिया अन्योलमा परेको हो । केन्द्रीय समितिको बैठकले मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्यता फाराम केन्द्रबाट वितरण गरिसक्ने र २४ गतेसम्म वडा तहसम्म पुर्‍याउने कार्यतालिका तय गरेको थियो । तर, सो कार्य समयमै हुन सकेन ।

केन्द्रीय समितिको निर्णयअनुसार थापा नेतृत्वको समितिले जिल्ला हुँदै तल्लो तहमा पठाएका चार लाख नयाँ क्रियाशील सदस्यता फाराममा ‘सिरियल नम्बर’ नभएको पाइएपछि विवाद सुरु भयो । पार्टीभित्रको संस्थापन र डा. शेखर कोइराला नेतृत्वको इतर समूहले सिरियल नम्बर बिनाका फाराम फिर्ता गरेर नयाँ पठाउनुपर्ने अडान राखे । तर महामन्त्री थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र उनीहरूको समूह भने केन्द्रबाट सिरियल नम्बर तोकिदिएर त्यही फाराम भर्दा हुने पक्षमा थिए ।

यसैबीच, नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पनि पोखरामा आफ्ना निकटस्थहरुसंग कुरा गर्दै कांग्रेसको १५ औं महाधिबेशन माघ महिना भित्रमा सम्पन्न हुने र पुष १६ मा शुरु हुने भनिएको वडा अधिबेशन पुषको २५/२६ सम्ममा हुने बताएको श्रोतले जनाएको छ। फागुन २१ मा हुने भनिएको चुनाब अगाडी महाधिबेशन गर्नुपर्ने अडान राख्दै आएका कांग्रेस महामन्त्री थापाले फागुन २१ मा प्रस्तावित संसदीय चुनाब समेत बैशाख मसान्तसम्ममा गर्न सके राम्रो हुने बताएको उक्त श्रोतले जनाएको छ ।

यसैबिच, मंगलबार इतर समूहका नेता डा. कोइरालाले सभापति शेरबहादुर देउवालाई उनकै निवासमा भेटी सिरियल नम्बरबिनाका फाराम मान्य नहुने र सोही आधारमा प्रक्रिया अघि बढे महाधिवेशन हुन गाह्रो हुने बताएका थिए । लगत्तै सभापति देउवाले सिरियल नम्बरबिनाको सदस्यता फाराम रद्द गरी नयाँ पठाउन महामन्त्री थापालाई निर्देशन दिए ।

सबैतिरको दबाबपछि महामन्त्री थापा आफ्नो अडानबाट पछि हट्न बाध्य भए । मंगलबार अपराह्न क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक राखेर उनले सिरियल नम्बर नभएका फाराम फिर्ता माग्ने र सिरियल नम्बरसहितका नयाँ फाराम छापेर पुनः पठाउने निर्णय गरे । सोही निर्णय बमोजिम केन्द्रीय कार्यालयले नयाँ फाराम छापेर बिहीबारदेखि पठाउन सुरु गरेको समितिकी सदस्य सीता गुरुङले जानकारी दिइन् ।समितिकै कमजोरीका कारण मंसिर २४ गते नै वडा–वडामा पुग्नुपर्ने फाराम पुस २ गते मात्रै केन्द्रीय कार्यालयबाट पठाइँदै छ ।

नयाँ क्रियाशील सदस्यताको फाराममा मात्र नभई नवीकरणमा पनि महामन्त्री थापा नेतृत्वको समितिले कार्यतालिका मिचेको छ । केन्द्रीय कार्य समितिको निर्णयअनुसार मंसिर २५ गतेभित्र नवीकरणको काम सकिसक्नुपर्ने थियो । तर महामन्त्री थापाले समितिको बैठकबाट सो निर्णय उल्ट्याउँदै मंसिर २९ गतेभित्र सक्न निर्देशन दिएका थिए ।

नवीकरणका लागि थपिएको समय सकिएको पनि बिहीबार तीन दिन भइसकेको छ । तर नवीकरणको सबै काम अझै नसकिएको समिति सदस्य प्रकाश स्नेही रसाइलीले स्वीकार गरे । ‘केही स्थानमा विवाद भएका कारण नवीकरणको काम पूर्ण रूपमा सकिएको छैन,’ रसाइलीले भने, ‘कहाँ र के विवादका कारण काम रोकिएको हो भन्नेबारे तथ्यांक संकलन भइरहेको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराउने तयारी छ ।’

क्रियाशील सदस्यताको काम कार्यतालिका अनुसार नहुँदा महाधिवेशन निर्धारित समयमा नहुने देखिएको हो । महाधिवेशनका लागि तोकिएको मिति आउन २३ दिन मात्र बाँकी रहँदा सदस्यतासम्बन्धी काम अस्तव्यस्त भएपछि नेताहरूले पनि मुख खोल्न थालेका छन् ।

के भन्छन् नेताहरू ?

इतर समूहका नेता डा. कोइरालाले सोमबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै १५औँ महाधिवेशन घोषित मितिमा हुन कठिन रहेको बताए । महाधिवेशनको मिति सर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘अहिले नै त्यसो नसोचौँ, हामी समयमै गर्ने पक्षमा छौँ । तर सिरियल नम्बर नै नभएका फारामहरू जिल्लामा गएपछि तोकिएकै मितिमा हुन्छ भन्नु अलि चुनौतीपूर्ण नै देखिन्छ ।’

कुनै विवाद नहुँदा पनि पुस २६ को समयसीमा भेट्न गाह्रो हुने भन्दै केन्द्रीय समितिकै बैठकमा कतिपय नेताले आशंका व्यक्त गरेका थिए । त्यसमाथि क्रियाशील सदस्यतामै विवाद र ढिलाइ भएपछि महाधिवेशन सर्नु निश्चितजस्तै छ ।

पूर्वउपसभापति विमलेन्द्र निधि क्रियाशील सदस्यता व्यवस्थापन समितिको कमजोरीका कारण कार्यतालिका प्रभावित भएको बताउँछन् । ‘सिरियल नम्बर नभएका फाराम पठाउनु समितिको ठुलो कमजोरी हो,’ निधिले भने, ‘यसले महाधिवेशनको कार्यतालिका र मिति दुवै प्रभावित हुने देखिन्छ ।’

अब के छ तयारी ?

केन्द्रीय समितिको निर्णयअनुसार पुस ८ गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरणको काम सक्ने उल्लेख छ । त्यसैगरी जिल्लास्तरीय प्रारम्भिक छानबिन समिति गठन गर्ने, समितिले पुस १२ गतेभित्र केन्द्रलाई प्रतिवेदन बुझाउने र पुनरावेदनको काम १४ गतेसम्म सक्ने तालिका छ । पुस १४ गते नै केन्द्रीय सभापतिलाई सदस्यताको अन्तिम सूची बुझाउनुपर्ने भनिएको छ ।

यस्तै, पुस १५ गतेभित्र विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन, १६ गते वडा, १७ गते पालिका, १९ गते प्रदेशसभा निर्वाचन क्षेत्र र २१ तथा २२ गते जिल्ला अधिवेशन गर्ने तालिका छ । पुस २३ र २४ गते प्रदेश अधिवेशन सकेर २६ देखि २८ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णय भएको थियो ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पनि सदस्यता वितरण र नवीकरणमा भएको ढिलाइले निर्धारित मितिमा महाधिवेशन गर्न गाह्रो हुने बताए। ‘सदस्यताको काम नसकी अधिवेशन प्रक्रिया अघि बढ्दैन । सिरियल नम्बर नभएका फारामका कारण कार्यतालिका प्रभावित भइसक्यो,’ प्रवक्ता महतले भने, ‘अब कसरी अघि बढ्ने भन्नेबारे केही दिनमा छलफल गरेर निर्णय लिइनेछ ।’

३ पुष २०८२, बिहीबार २३:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा