पोखरा, पोखराका अग्रज पर्यटन ब्यबसायी, ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान ) गण्डकीका पूर्व अध्यक्ष एबम सल्लाहकार बसन्तराज दवाडीको आइतबार राती निधन भएको छ। पोखरा महानगरपालिका -५ मालेपाटनस्थित निवासमा गएराती अचानक हृदयाघात भएपछि उनलाई उपचारको लागि अस्पतालमा लागिएको भएपनि डाक्टरले उनको निधन भैसकेको जानकारी दिएका थिए । स्व. दवाडीकी श्रीमती, एक छोरा रोशन र एक छोरी संगीता रहेको छन। अमेरिकामा रहेका छोरा रोशन बुधबार मात्र नेपाल आइपुग्ने बताइएको छ।
५७ बर्षीय दवाडी गण्डकी प्रदेश प्याराग्लाइडिङ तथा ह्याङ्गग्लाइडिङ संघका अध्यक्ष समेत रहेर काम गरिरहेका थिए। पोखरालाई प्याराग्लाइडिङ खेलकुदको माध्यमबाट प्रबर्द्दन गर्न गठित नेपाल प्याराग्लाइडिङ संघका संस्थापक तथा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यका रुपमा चार बर्षे कार्यकाल पुरा गरेका दवाडी नेपाल हवाई खेलकुद संस्था (ना)का संस्थापक समेत थिए ।
कास्कीको घाचोकबाट पोखरा – ५, मालेपाटनमा आएर बसोबास गरेका दवाडीले पछिल्लो समय गाउँको बिकासमा समेत त्यत्तिकै सक्रियता देखाएका थिए उनले माछापुछ्रे गाउँपालिकाको घाचोकमा अन्नपूर्ण मन रिसोर्ट संचालन गरेका थिए। पोखराको लेकसाइडमा होटल एबम पर्यटन व्यवसायमा संलग्न रहँदै आएका दवाडीको सक्रियतामा माछापुच्छ्रे गाउँपालिकाबाट पनि ब्यबसायिक रुपमा प्याराग्लाइडिङ उडान गर्न गत बर्ष परिक्षण उडान समेत गरिएको थियो ।
दवाडीको अध्यक्षतामा गठन गरिएको आमा प्रतिष्ठान नेपालको अगुवाईमा स्थानिय महिलाहरुलाई स्वरोजगार र शिपमुलक तालिम प्रदान गर्ने, गरिब तथा विपन्न वर्गका महिला छात्राहरुलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने र स्थानीय वृद्धवृद्धाहरुको लागि आमा भवन समेत निर्माण गरेको बताइएको छ।
यसैबीच, टान गण्डकीका पुर्व अध्यक्ष एबम पोखराका होटल तथा पर्यटन ब्यबसायी हरी भुजेलले टान गण्डकीका पुर्व अध्यक्ष दवाडीको निधन प्रति दुख प्रकट गर्दै पोखराको पर्यटन क्षेत्रले एक अभिभावक र मार्गदर्शक गुमाएको महशुस भएको उल्लेख गरेका छन। उनले पोखराको पर्यटन विकास, ट्रेकिङ व्यवसायको समृद्धि तथा संस्थाको उन्नतिमा दवाडीको समर्पण, दूरदर्शी नेतृत्व र योगदान सदैव सम्झन लायक रहेको समेत स्पष्ट पारेका छन।




















