Play

सिक्लेसको उचाईमा साथीहरुसंग पुगेर अचानक ढलेका चित्रबहादुर भट्टराई कहिल्यै नउठ्ने गरि ढलिरहे…

गुरुकुल खबर


पोखरा, कास्कीको सुन्दर अनि रमणीय पर्यटकीय गाउँ सिक्लेसमा पुगेर त्यहाँको प्राकृतिक सुन्दरतामा रमाउने चाहना राखेका पोखराका पर्यटन ब्यबसायी चित्रबहादुर भट्टराई सिक्लेसमा पुगेको केहि मिनेटमै अचानक ढल्न पुगे। सिक्लेसको एक होटलमा पुग्ने बित्तिकै अचानक ढलेका भट्टराई सहितको पांचजनाको टोली त्यस दिन सिक्लेसमा बसेर भोलिपल्ट कपुचे ताल पुग्ने र पर्सिपल्ट पोखरा फर्किने योजनाका साथ त्यहाँ पुगेको थियो। टोलीका एक सदस्य भट्टराई शारीरिक रुपमा तन्दुरुस्त नै देखिन्थे तर, अचानक होटलमा पस्ने बित्तिकै ढलेका उनि त्यसपछि कहिल्यै नउठ्ने गरि सदाका लागि ढलिरहे।

पोखराको लेकसाईडका ६० बर्षीय भट्टराई आंफ्ना साथीहरु सहित गाडी चढेर पोखराबाट सिक्लेस गएका थिए। उनको टोलीमा थिए, लेकसाइडका भट्टराई परिवारकै सदस्य एबम पोखराका अग्रज पर्यटन ब्यबसायी समेत रहेका पुर्व राष्ट्रिय खेलाडी गणेश बहादुर भट्टराई, सोहि परिवारकै सदस्य एबम पोखरामा होटल ब्यबसाय रहेपनि पछिल्लो समय क्यानाडामा बस्दै आएका महेश बहादुर भट्टराईको साथै स्थानीय धर्म बहादुर लामिछाने र सुक गुरुङ गरि पांच जना।

सिक्लेस जाने बाटोमा गाडी रोक्दै, केहि समय आराम गर्दै अनि त्यस क्षेत्रको प्राकृतिक सुन्दरताको स्वाद लिंदै र सुन्दर गाउँ अनि हिमशृंखलाको दृश्यसहित आँफुहरुलाई पनि तस्बिरमा कैद गरेर रमाउंदै उनीहरु दिउँसो सिक्लेस गाउँको बसपार्कमा पुगेका थिए। दुई दिनसम्म त्यस क्षेत्रमा घुम्ने, स्थानीय संस्क्र्ति र प्राकृतिक सुन्दरतामा रमाउने योजना अनुरुप उनीहरु गएकोले पोखराबाट गएको गाडी त्यहि दिन फर्किने तयारीमा थियो। तर सिक्लेस बसपार्क पुग्ने बित्तिकै गाडी चालकलाई खाना खाएर पोखरा फर्किन आग्रह गरेपछि उक्त गाडीका चालक समेत केहि समय उनीहरुसंग रहन तयार भए ।

( सिक्लेस गाउँलाई पृष्ठभुमीमा पारेर लिईएको भ्रमण टोलीका पांचजनाको तस्बिर:  बायाँबाट क्रमश चित्रबहादुर भट्टराई, धर्म लामिछाने, सुक गुरुङ, गणेश भट्टराई र महेश भट्टराई )

उनीहरुलाई लिएर गएको गाडी सिक्लेसको बसपार्कमा रोकिएपछि सबै जना ५/७ मिनेटको दुरीमा रहेको नमस्ते होटल तर्फ अगाडी बढे ।ठिक, त्यहि बेला सिक्लेस पुगेर फर्किन लागेका गण्डकी प्रदेशका पुर्वमन्त्री कुमार खड्का र नारायण पहारी लगायतसंग टोलीको जम्काभेट भयो। ‘हाइहेलो’ सहितको सामान्य कुराकानी पछि धर्म लामिछाने, महेश भट्टराई र चित्र भट्टराई होटल तर्फ अगाडी बढे। तर, गणेश भट्टराई र सुक गुरुङ भने पुर्वमन्त्री कुमार खड्कासंग कुराकानी गर्दै र फोटो खिच्ने भन्दै केहि मिनेट बिताए ।

सिक्लेस बसपार्कबाट केहि मिनेटको दुरीमा रहेको नमस्ते होटलको बाहिर सबैभन्दा अगाडी पुग्दै गरेको तीनजनाको टोलीमा धर्म, महेश र चित्र थिए । उक्त टोली जब होटलमा पुग्यो, चित्र भट्टराई अचानक भुइंमा ढल्न पुगे, उनको निधार भुँईमा ठोकिएको कारण सामान्य चोट लागेको त देखियो नै, त्यसमाथि उनि एकाएक अचेत अबस्थामा पुगे। उनलाई तत्काल उठाउने प्रयास गरेका धर्म र महेशले उनि अचेत भएको थाहा पाएपछि त्यहाँ पुगेका सबै साथीहरु किम्कर्त्यब्यबिमुढ़ बन्न पुगे।

भट्टराईसंगै गएका पांचजना साथीहरुले मात्र नभएर स्थानीय सर्बसाधारणले समेत भट्टराईलाई अचेत अबस्थाबाट सामान्य अबस्थामा फर्काउन निरन्तर प्रयास गरे। एकातिर उनीहरुको निरन्तरको प्रयास र अर्कोतिर तत्काल हेलिकप्टरबाट उद्वार गरेर पोखरामा उपचारको लागि पुर्याउने दुवै प्रयास एकैपटक अगाडी बढाइयो। स्थानीयसंगको सहकार्य अनि पोखरामा रहेका स्वास्थ्यकर्मीहरुसंग सम्पर्क गरेर उनलाई कृतिम श्वासप्रश्वास दिने प्रक्रियालाई समेत निरन्तरता दिईयो। तर पनि उनको श्वासप्रश्वास नियमित अबस्थामा फर्काउन नसक्दा उनीहरु सबै चिन्तित बनिरहेका थिए। उनलाई हृदयाघात भएको अनुमान गरियो र तत्काल थप उपचारको लागि पहल गरियो ।

उनीहरुको एकमात्र आशा अस्पताल पुर्याएर थप प्रभावकारी उपाय अबम्लम्बन गरेपछि उनको स्वास्थ्यस्थिति सामान्य अबस्थामा फर्काउन सकिन्छ कि भन्ने मात्र थियो ।  यसबीचमा पोखरामा रहेका चित्रबहादुर भट्टराईका कान्छा भाई गोपीबहादुर भट्टराईसंग समन्वय भएपछि उनले पोखराबाट डाक्टर सहितको हेलिकप्टर सिक्लेसमा पठाए।  घटना भएको ३५/४० मिनेटको अन्तरालमा सिक्लेसमा हेलिकप्टर समेत पुग्यो र तत्काल उनलाई स्ट्रेचरमा राखेर हेलिप्याडमा पुर्याइयो र हेलिकप्टरबाट पोखराको मणिपाल अस्पतालमा लगियो । अस्पतालमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले भट्टराईको अबस्थाको चेकजाँच गरेर भने। ‘अब उनलाई सामान्य अबस्थामा फर्काउन सम्भव छैन, वहांको निधन भैसकेको छ।’

सिक्लेस पुगेको टोलीका पांचजना सदस्यमध्ये असामान्य अबस्थामा रहेका चित्रबहादुर भट्टराईलाई लिएर गणेश बहादुर भट्टराई हेलिकप्टरमा पोखराको मणिपाल अस्पताल पुगेका थिए।  तर डाक्टरहरुको भनाई सुनेपछि गणेशबहादुर मात्र नभएर पोखराबाट अस्पतालमा पुगिसकेका उनका परिवारजन र आँफन्त समेत ठुलो पिडामा परे अनि परिवारर आफन्तको रुवाबासी नै चल्यो।

यतिबेला भ्रमण टोलीमा सिक्लेस पुगेका भट्टराई परिवारका सदस्य बाहेक अन्य पनि त्यत्तिकै पिडामा छन। संगसंगै सिक्लेस पुगेका प्रत्यक्षदर्शी धर्म लामिछानेले सुनाए, “गणेश दाई र सुक पछाडीबाट आउंदै गर्दा हामी तीनजना भने होटलमा पुगेको थियौ।  होटलमा पुग्दा म सबै भन्दा अगाडी त्यस पछि महेश र त्यसभन्दा पछाडी चित्र दाई हुनुहुन्थ्यो।  होटलको डाईनिंग जस्तो कोठामा पुगेर झोला राख्न नपाउंदै अचानक चित्र दाई भुइंमा ढल्नुभयो।”

भुइंमा ढलेका चित्र भट्टराईको निधारमाथि चोट लागेको देखिएपनि त्यसभन्दा बढी पिडा उनि बेहोस बनेको थाहा पाउँदा भयो। धर्मले भने ‘हामी पनि नजिकै भएकोले तत्काल उठाउन कोशिस त गरियो तर वहाँ एकाएक बेहोस भएर श्वास समेत रोकिएको जस्तो लागेपछि स्वास्थ्यकर्मीसंग सल्लाह लिंदै ७/८ मिनेट कृतिम श्वासप्रश्वास समेत दिईयो, तर सुधार हुन् सकेन। अनि तत्काल हेलिकप्टरबाट अस्पताल पठाईएको थियो तर पनि कसैको केहि लागेन।’

को हुन् त चित्रबहादुर भट्टराई ? 

चित्रबहादुर भट्टराई उमेरले ६० पुगेर ६१ बर्षमा लागेका थिए। २०२२ सालमा जन्मिएका उनि पोखराको होटल तथा पर्यटन ब्यबसायीको रुपमा पनि चिनिन्थे । होटल मुनलाइट, लेकसाइडका संचालक रहेका भट्टराई निर्माण व्यवसायमा समेत संलग्न थिए उनि भट्टराई कुलबंश प्रतिष्ठानका केन्द्रीय सदस्य समेत रहेका थिए।

पोखराका अग्रज पर्यटन ब्यबसायी रुद्रबहादुर भट्टराईको चारभाई छोराहरुमध्ये चित्रबहादुर माइला छोरा हुन चित्रबहादुरका दाजु भरतबहादुर भट्टराईको केहि बर्ष अगाडी निधन भएको थियो। उनका दुई भाइहरु चिनबहादुर भट्टराई र गोपीबहादुर भट्टराई रहेको छन। गोपी भट्टराई पोखरा पर्यटन परिषद एबम रेबान पोखराका पुर्व अध्यक्ष समेत हुन।

स्व. चित्रबहादुरकी श्रीमती लक्ष्मी भट्टराईको साथै कल्याण भट्टराई र कन्चन भट्टराई गरि दुई छोरा रहेका छन। जेठा छोरा कल्याणको बिहे केहि बर्ष अगाडी पोखराका युवा ब्यापारी बिष्णुबहादुर थापाकी छोरी नेहा थापासंग भएको थियो ।

यसैबीच, अकल्पनीय किसिमबाट निधन हुन् पुगेका पोखराका होटल ब्यबसायी चित्रबहादुर भट्टराईको बुधबार अन्त्येष्टि गरिएको छ। लेकसाइड स्थित उनको निवासबाट शबयात्रा गरि पोखराको रामघाटमा उनको अन्त्येष्टि गरिएको थियो। शबयात्रामा पोखरेली ब्यबसायी, उद्योगी, बिभिन्न राजनीतिक दल र संघसंस्थाको साथै बिभिन्न क्षेत्रसंग सम्बद्ध व्यक्तित्वहरु सहभागी थिए।

 

२७ कार्तिक २०८२, बिहीबार १३:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा