पोखरा, नेपाली काँग्रेस भित्र नियमित महाधिबेशन र बिशेष महाधिबेशनको बारेमा बिबाद चलिरहेको बेला पोखरामा बिशेष महाधिबेशनको बिरोधमा र नियमित महाधिबेशनको पक्षमा रहेका कांग्रेसका नेता कार्यकर्ताहरुको दवाबमुलक भेला सम्पन्न भएको छ।
गण्डकी प्रदेशस्तरीय भेला भनिएको भएपनि भेलामा कास्की, बाग्लुंग, पर्बत र स्यांग्जा जिल्ला बाहेक अन्य जिल्लाका नेता कार्यकर्ताको उपस्थिति भने कम देखिएको थियो। भेलाका सहभागीहरु नियमित महाधिबेशनको पक्षमा देखिएको भएपनि महाधिबेशन कुन मितिमा गर्ने भन्ने सवालमा भने अधिकांश अन्योलमा थिए।
भेलाले पार्टीको बिधान बमोजिम यथाशिघ्र क्रियाशील सदस्यहरुको नबिकरण, नयाँ क्रियाशील सदस्यताको वितरण, नवयुवा उमेर समुहको समेत प्रतिनिधित्व हुनेगरी नेपाली कांग्रेसको वडा तहको अधिबेशनदेखि केन्द्रीय महाधिबेशन सम्पन्न गर्न अर्थात यथाशिघ्र नियमित महाधिबेशन सम्पन्न गर्न केन्द्रीय समिति समक्ष अनुरोध गर्ने प्रस्ताब पारित गरेको कांग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए।
महाधिबेशनको लागि दवाबमुलक भेला भनिएपनि भेलामा महाधिबेशन कहिले गर्ने भनेर कुनै मिति भने प्रस्ताब गरिएन। तर, संसदीय चुनाब र महाधिबेशन संगसंगै हुन नसक्ने भन्दै भेलामा बोल्ने बक्ताहरुले फागुन २१ मा चुनाब नहुने अबस्था आएमा माघ फागुनसम्ममा पार्टीको महाधिबेशन गर्नुपर्ने र फागुन २१ मा चुनाब हुने भएमा बैशाखमा महाधिबेशन गर्नुपर्नेमा जोड दिएका थिए ।
यो भेलालाई कांग्रेसको संस्थापन पक्षधरहरुको भेला भनिएपनि आँफुलाई संस्थापन भन्दै आएका गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेसहित मन्त्रीहरु बिन्दुकुमार थापा, डा. टकराज गुरुङ लगायतका अन्य केहि संस्थापन पक्षका नेताहरु भने उपस्थित भएनन्। उनीहरुमध्ये अधिकांशले भेलामा सहभागी बन्ने भन्ने जानकारी आयोजकलाई दिएको भएपनि भेलामा उपस्थित नभएपछि कतिपयले संस्थापन वा गुटको नाममा बिभिन्न किसिमको फाइदा लिएर लाभान्वित बनेकाहरु नै भेलामा उपस्थित नभएको भन्दै गुनासो गरेका थिए।
भेलामा बोल्दै नेपाली काँग्रेस बाग्लुंगका सभापति एबम गण्डकी प्रदेशका सांसद जीत शेरचनले बिशेष महाधिबेशनले पार्टी भित्रको गुटबन्दीलाई तल्लो तहसम्म संस्थागत गर्ने भएकोले पनि आँफुहरु बिशेष महाधिबेशनको बिपक्षमा रहेको स्पष्ट पारे। उनले पार्टीको नेतृत्व मात्र नभएर नीति र संरचनामा समेत सुधार गर्दै आमुल परिवर्तन गर्नुपर्ने भएकोले पनि नियमित महाधिबेशन अहिलेको आबश्यकत भएको बताए ।

उनले यथाशिघ्र पार्टीको केन्द्रीय समितिले निर्णय गरेर महाधिबेशन सम्पन्न नगर्ने हो भने पार्टीको केन्द्रदेखि तल्लो तहसम्मका सबै समिति भंग गरि महाधिबेशन आयोजक समिति बनाउनुपर्नेमा जोड दिंदै जेनजी पुस्ताको नाममा भएको आन्दोलनको भावना अनुसार पनि तल्लो तहबाट अधिबेशन जरुरी रहेको उल्लेख गरे।
भेलाको अध्यक्षता गरेका नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले पार्टीलाई विभाजित हुन नदिन, बिशेष महाधिबेशनको नाममा गुटबन्दी संस्थागत हुन् नदिन र समयमै महाधिबेशन गर्न दवाब दिने उद्धेश्यले भेलाको आयोजना गरिएको बताए ।
भेलामा नेपाली काँग्रेसकी महाधिबेशन प्रतिनिधि एबम गण्डकी प्रदेश सांसद सरस्वती गुरुङ, नेपाल महिला संघ कास्कीका सभापति मिना पाण्डे, ढोरपाटन नगरपालिकाका मेयर कल्याण कायत, नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य यामबहादुर मल्ल, महासमिति सदस्य पुष्पकुमार शाही, बाग्लुंगका कांग्रेस नेता पदम बहादुर खत्री, महाधिबेशन प्रतिनिधि लिला बहादुर रनपाल लगायतले बोलेका थिए ।
यसैगरी पर्वत कांग्रेसका नेता इन्दु शर्मा पौडेल, तरुल दलका केन्द्रीय सदस्य तिर्थ गौतम, नेविसंघका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेत र आदर्श मल्ल, महाधिबेशन प्रतिनिधि इन्दिरा निरौला, कांग्रेस नेता धर्मराज अर्याल, कास्की क्षेत्र न.२ का पुर्व क्षेत्रिय सभापति निर्मल कर्माचार्य, पार्टीको गण्डकी प्रदेश सदस्य आसिक गुरुङ, स्यांजाका नरेन्द्र शर्मा लगायतले पनि आआफ्नो भनाई राखेको भेलामा सहभागि कांग्रेस महाधिबेशन प्रतिनिधि बिष्णुबहादुर क्षेत्रीले गुरुकुल खबरलाई जानकारी दिए ।



















