पोखरा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले मुलुकमा उत्पन्न विषम परिस्थितिजन्य बाध्यताको कारण सीधा बाटोबाट अलिकति अलग हुन बाध्य भएको नेपालको संविधानलाई चुनावले मात्रै मूलबाटोमा ल्याउनसक्ने बताएका छन ।
सामाजिक संजाल फेसबुकमा लेख्दै कांग्रेसका युवा नेता गुरुङले २०८२ फाल्गुन २१ गते हुने निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर पार्टीले आफ्नो सम्पूर्ण गतिविधि सञ्चालन गर्नुपर्ने कुरामा जोड दिंदै नेपाली कांग्रेसको अहिलेको लक्ष्य चुनाव, चुनाव र चुनाव नै हुनुपर्ने स्पष्ट पारेका छन।
गठबन्धनको विषयमा मौसम अनुसार बोल्ने र मुड अनुसार बोली परिवर्तन गरिरहने प्रवृत्तिलाई रोक्ने वैधानिक व्यवस्था पार्टीले गर्नुपर्नेमा पनि गुरुङले जोड दिएका छन ।
गुरुङले बुँदागत रूपमा केही सुझाव समेत अघि पारेका छन्–
१, नेपाली कांग्रेसले प्रतिनिधि सभा (प्रत्यक्ष र समानुपातिक तर्फ), राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहहरूको निर्वाचनमा अहिलेसम्म कुनै पनि अवसर नपाएकाहरूलाई उम्मेदवार बनाउनु पर्छ । पार्टीमा राजनीतिक न्याय, राजनीतिक सुरक्षा र राजनीतिक अवसरको समान र न्यायोचित वितरण हुन्छ भन्ने व्यवहारिक विश्वास र अनुभूति हुनु पर्छ ।
२, नेपाली कांग्रेसको विधानको धारा (२३) अनुसार गठन हुने केन्द्रीय कार्य सम्पादन समितिलाई पूर्णता दिनु पर्छ र यसमा अहिलेसम्म कुनै पनि अवसर नपाएका युवाहरू (५० प्रतिशत पुरुष र ५० प्रतिशत महिला)लाई मनोनीत गर्नु पर्छ ।
३, नेपाली कांग्रेसको विधानको धारा ३१ को उपधारा १ (घ) अनुसार गठन हुने केन्द्रीय संसदीय समितिलाई पूर्णता दिनु पर्छ र यसमा अहिलेसम्म कुनै पनि अवसर नपाएका युवाहरू (५० प्रतिशत पुरुष र ५० प्रतिशत महिला)लाई मनोनीत गर्नु पर्छ ।
४, नेपाली कांग्रेसले १६५ प्रतिनिधि सभा, ३३० प्रदेश सभा र ७५३ स्थानीय तहको निर्वाचनमा एक्लै आफ्नो उम्मेदवार लिएर चुनावमा जानु पर्छ । अन्य कुनै पनि दलसँग प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नु हुँदैन ।
५, तर, राष्ट्रिय सभा, राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसले आवश्यक अवस्थामा आवश्यकता अनुसार अन्य दलहरूसँग गठबन्धन गर्न सकिने ढोकालाई पनि खुल्ला राख्नु पर्छ ।
६, नेपाली कांग्रेसले या त प्रतिनिधि सभामा आफ्नो एकल बहुमत नआएसम्म सरकार गठन नगर्ने वैधानिक व्यवस्था गर्नु पर्छ । या त प्रतिनिधि सभामा पार्टीको एकल बहुमत नरहेको अवस्थामा सरकार निर्माणको क्रममा अन्य दलहरूसँग आवश्यकता अनुसार गठबन्धन गर्न सकिने विकल्पलाई पनि खुल्ला राख्ने निर्णय गर्नु पर्दछ ।




















