Play

कांग्रेसमा महाधिबेशनको विषय पेचिलो बन्दै, कार्यतालिकामा सहमति जुटाउन मागियो ‘दुईदिनको समय’

नेता कोइराला र महामन्त्री थापाको मिलन बिन्दु: पार्टीको नियमित महाधिबेशन पुष १६ मा गरौँ अनि मात्र चुनाबमा जाऔं


गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पनि दिउँसो १ बजेको लागि तय गरिएको थियो। तर, करिब दुई घण्टासम्म बैठकको प्रतिक्षा गरेर बसेका केन्द्रीय सदस्यहरुलाई अन्तिममा जानकारी गराइयो। ‘आइतबार दिउँसो १ बजेसम्मको लागि बैठक स्थगित भएको छ।’ पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्काले शुक्रबार १ बजेका लागि बोलाइएको बैठक सुरुवात नै नगरी आइतबारसम्मका लागि बैठक स्थगित गरेको थिए ।

असोज २८ गतेबाट शुरु भएपनि पटक पटक स्थगित हुँदै आएको बैठकमा पार्टीको महाधिबेशन गर्ने भन्ने विषय पेचिलो बन्दै गएको छ। मङ्सिर भित्र महाधिबेशन गर्ने कि फागुन २१ मा हुने भनिएको चुनाब अगाडी नै महाधिबेशन गर्ने भन्ने कुराले मात्र नभएर चुनाब पछि मात्र महाधिबेशन गर्ने भन्ने विषय अहिले कांग्रेस भित्र बहसमा छ। त्यसमाथि मङ्सिरमा पार्टीको १५ औं महाधिबेशन नगर्ने हो भने बिशेष महाधिबेशन गर्नुपर्ने माग पनि चर्को रुपमा उठिरहेको छ।

महाधिबेशनको बिषयको कारण शुक्रबार पनि बिहान देखि दिउँसोसम्म पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति खड्का, पूर्वपदाधिकारी र इतर समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै छलफल गरेका थिए। ‘पहिले कार्यवाहक सभापति र महामन्त्रीहरूबीच छलफल भयो, त्यसपछि पूर्वपदाधिकारीसँग र शेखर कोइरालासँग गोप्य छलफल गर्नुभयो,’ एक केन्द्रीय सदस्यले भने, ‘त्यसकै निष्कर्षको आधारमा मुख्यसचिवले बैठक स्थगितको सूचना सुनाउनुभयो।’ बैठक स्थगित गर्नुपर्नाको कारण भने खुलाइएको छैन ।

महाधिवशेनबारे सहमति नजुटाई बैठक बस्दा बाहिर राम्रो सन्देश नजानेभएकोले सहमति जुटाउने प्रयासस्वरूप केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको बताइएको छ। पार्टीको महाधिबेशन गर्ने बिषयमा सबैको एकमत रहेपनि महाधिबेशन कहिले गर्ने भन्ने बिषयमा भने कुरा मिलेको छैन। जसका कारण महाधिबेशनको कार्यतालिका केन्द्रीय समितको बैठकमा आउन सकेको छैन । महामन्त्री थापा र शर्माले प्रस्ताव गरेको कार्यतालिकामा कार्यवाहक सभापति खड्का सहमत नभएपछि बैठकमा गएर बिबाद गर्नुभन्दा पहिले नै बैठक स्थगित गरिएको बुझिएको छ।

पहिले मङ्सिरमा नै महाधिबेशन गर्नुपर्छ भन्ने महामन्त्री थापा र शर्मा पनि यतिबेला पुस १६ को मितिमा महाधिबेशन गरौँ भन्नेमा पुगेका छन। तर कार्यबाहक सभापति खड्काले भने सके फागुनको चुनाब पछि नत्र फागुनको पहिलो हप्तातिर महाधिबेशनको मिति तोक्न प्रस्ताब गरेको बताइएको छ। ‘जसका कारण कार्यबाहक सभापति र महामन्त्रीको बिचमा कुरा नमिलेकोले बैठक स्थगित गरिएको हुनसक्छ।’ एक केन्द्रीय सदस्यले गुरुकुल खबरसंग भने ।

‘सहमति गर्दै छन् । गुट, उपगुटमा छरपस्ट भएकाहरूलाई एकीकरण गरेर मात्रै बैठक बस्नुपर्ने आवश्यकता महसुस गरी बैठक स्थगित गरिएको हो,’ एक केन्द्रीय सदस्यले भने, ‘सबैको सहमतिमा अगाडि बढे पार्टीको बृहत्तर हित हुन्छ।’ एक महिला नेतृले आइतबार महाधिवेशनको कार्यतालिका ल्याउन थप छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताइन्। ‘आइतबार एउटै क्यालेन्डर ल्याउने कुरो छ । त्यसका लागि छलफल, वार्ता गर्नुपर्‍यो,’ उनले भनिन्, ‘त्यसका लागि थप छलफल गर्न बैठक स्थगित भएको हो ।’

उनका अनुसार मुख्यसचिव कृष्णप्रसाद पौडेलले कार्यवाहक सभापति खड्काको निर्देशनअनुसार प्राविधिक कुरा व्यवस्थापन गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको सूचना सुनाएका थिए। पार्टी केन्द्रीय कार्यालय स्रोतले भने महामन्त्रीद्वयले छलफलका लागि दुई दिनको समय मागेपछि बैठक स्थगित गरिएको दाबी गरेको छ। ‘महामन्त्रीज्यूले छलफलका लागि दुई दिनका लागि समय माग्नुभयो,’ स्रोतले भन्यो।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले समझदारीको प्रयासस्वरूप केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको प्रतिक्रिया दिए। ‘अझै छलफल गर्ने कुरा गर्नुभयो, कार्यवाहक सभापतिले, आइतबार गरौँ न त भन्नुभयो,’ उनले भने, ‘सकेसम्म समझदारी निकाल्न सकिन्छ कि भनेर बैठक स्थगित गरिएको हो।’

महामन्त्रीद्वय थापा र शर्मासँग नेता शेखर कोइरालाले पार्टी भित्र देखिएको गतिरोध अन्त्य गरेर नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा छलफल गरेका थिए। शुक्रबार बिहान  विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा उपसभापति धनराज गुरुङ र सहमहामन्त्रीद्वय जीवन परियार तथा बद्री पाण्डे पनि सहभागी थिए । उनीहरूले २१ फागुनका लागि तय भएको निर्वाचन अगावै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका थिए।

‘नियमित महाधिवेशन निर्वाचन अगाडि नै गर्नुपर्छ, ढिलोमा पुस मसान्तभित्र गरिसक्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ विशालनगर बैठकमा सहभागी एक नेताले भने, ‘पुस १६ मा महाधिवेशनको मिति तोक्नुपर्ने पक्षमा हामी छौँ।’

यसैबीच महाधिवेशनबारे अन्योल बढ्दै गएपछि विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरेको समूह काठमाडौंमा भेला बोलाउने तयारीमा लागेको छ। केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिकासमेत पेस हुन नसकेको भन्दै उनीहरू पार्टीमाथि दबाब सिर्जना गर्न भेलाको तयारीमा लागेका हुन्।

विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियानको नेतृत्व गरेका नेता गुरुराज घिमिरेले सल्लाहका लागि भेला बोलाइएको बताए। ‘सल्लाह गर्ने बैठक हो त्यो। केन्द्रीय समितिले के गर्छ, त्यो पनि हामी हेरिरहेका छौँ,’ उनले भने, ‘आजसम्म बैठकमा कुनै विषय प्रवेश भएको छैन। त्यही भएर हामी बस्न लागेका हौँ।’

नेता घिमिरेका अनुसार हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको समूहको भेला आइतबारका लागि बोलाइएको छ। नयाँ बानेश्वरस्थित एक बैंक्वेटमा मध्याह्न साढे १२ बजेबाट भेला सुरु हुने बताइएको छ। यो समूहले २९ असोजमा दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति खड्कालाई बुझाएको थियो। ३० असोजबाट छलफल सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशनको मागलाई एजेन्डाका रूपमा भने पेस गरिएको छैन।

१४ कार्तिक २०८२, शुक्रबार २२:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा