पोखरा, नेपालीहरुको दोश्रो ठुलो चाडको रुपमा लिईने तिहार पर्व आज शनिबारदेखि शुरु हुँदैछ। तिहार पर्वलाई उज्यालोको पर्वका रूपमा पनि लिईन्छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पांच दिनसम्म यो पर्व मनाइने भएकोले यसलाई यमपञ्चक पनि भन्ने गरिन्छ । झिलीमिलीको चाड भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि राजधानीलगायत प्रमुख सहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ ।
केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । कोजाग्रत पूर्णिमामा लक्ष्मीको पूजा गरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिने क्रम पनि सहरी क्षेत्रमा बढ्न थालेको छ । बडादसैँमा सुनसानजसयी बन्ने काठमाडौँ उपत्यका लगायतका प्रमुख शहरहरु तिहारमा भने झिलिमिलीले उत्सवमय जस्तै देखिन्छन ।

लक्ष्मीपूजाका दिन भलो होस् भनी भैलो र गोवर्द्धन पूजाका दिन देउसी खेल्ने गरिन्छ । विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने कोजाग्रत पूर्णिमाका दिनदेखि देउसी भैलो खेल्ने परम्परा पनि छ । कौडा, लङ्गुर बुर्जा, तासलगायत विभिन्न किसिमका जुवा तिहारका अवसरमा खेल्ने प्रचलन रझंदै आएको छ ।
शनिबार दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेसंगे नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धन त्रयोदशी पर्व मनाइंदै छ। काग तिहार भने आइतबार परेको छ। तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि नेपाल पंचांग निर्णायक समितिले जनाएको छ ।
कात्तिक २ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ। कात्तिक ३ गते सोमबार दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको हो । यस वर्ष कात्तिक ४ गते मङ्गलबार औँसी तिथि दिउँसो ४ः२९ बजेसम्म परेको छ ।
गाईगोरु एवं गोवर्द्धन पूजा कात्तिक ५ गते बुधबार परेको छ । हलितिहार, बलीपूजा र आत्म (म्ह) पूजा र नेपाल संवत् ११४६ आरम्भ यसै दिन परेको छ । कात्तिक ६ गते बिहीबार भाइटिका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः३९ बजे भाइटिकाको शुभ साइत रहेको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिए । भाइटिका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ । भाइटिका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्छ । लगाइदिने दिदीबहिनी भने पूर्व फर्कनुपर्ने जनाइएको छ ।
सर्वसाधारणका लागि मध्याह्नकलामा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुने उनले बताए । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक ६ गते गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।




















