बिराटनगर, पुर्बी नेपालको पाँचथर जिल्ला कुम्मायक गाउँपालिका–३ कात्तिकेमा आज भएको जिप दुर्घटनाका घाइतेको नेपाली सेनाले उद्धार गरेको छ । धरानबाट पाँचथर जाँदै गरेको बलेरो जीप तमोर नदीमा खस्दा छ जनाको मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

प्रजिअ पोखरेलका अनुसार अहिलेसम्म घटनास्थलबाट पाँचजनाको शव निकालिएको छ भने अर्को एउटा शव निकाल्ने तयारीमा छ । समाचार, अनुसार छ जना घाइते भएको र तीमध्ये एक जनालाई उपचारका लागि फिदिम पठाइएको र बाँकी पाँच जनालाई धरान पठाइएको छ ।
ताप्लेजुङ्गबाट धरानतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । घाइते भएका छ जनालाई नेपाली सेनाको श्री वीरदल गणबाट खटिएको टोलीले स्थानीय वासिन्दा र अन्य सुरक्षा निकायको सहयोगमा उद्धार गरेको सूचना तथा सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

बोलेरो जिपमा १२ जना यात्रु सवार रहेको निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । घाइतेमध्ये पाँच जनालाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र एक जनालाई जिल्ला अस्पताल फिदिम लगिएको जनाइएको छ ।















