पोखरा, नेपाली कांग्रेसका नेता एबम मोरङ ३ का निवर्तमान सांसद डा. सुनिलकुमार शर्माले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई २० लाख रुपियाँ दिने घोषणा गरेका छन ।
मङ्गलबार बेलुकी यूएईमा हुने खेलको अन्त्यमा २० लाख रुपियाँको चेक मैदानमै हस्तान्तरण गर्ने कार्यक्रम तय भएको डाक्टर शर्माले जानकारी दिए ।
दुई पटकको विश्व विजेता तथा टेस्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिजलाई नेपालले जितेको अवसरमा डा. शर्माले नेपाली क्रिकेट टिमको सम्मानमा उक्त रकम दिने गरेको बताइएको छ ।
डा. शर्माले नेपालको नाम उच्च बनाइरहेका खेलाडीहरूलाई सम्मान गर्दै उनीहरूको उत्साह र हौँसला अझ बलियो बनाउन योगदान पुग्ने बताए। सोमबार भएको नेपाल–वेस्ट इन्डिजको खेलमा खेल हेर्न डा. शर्मा युएईको सारजाह क्रिकेट रङ्गशालामा पुगेका थिए ।
नेपालले यूएईमा जारी नेपाल–वेस्ट इन्डिज टी–२० सिरिजमा शानदार प्रदर्शन गर्दै एक खेल अगावै युनिटी कपको सिरिज जितिसकेको छ । मंगलवार हुने अन्तिम खेल पनि नेपालले जितेमा सिरिज क्लिन स्विप गर्दै अर्को इतिहास रच्नेछ ।
यसैबीच दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज र नेपालबीचको टी– २० सिरिज युनिटी कपअन्तर्गत अन्तिम खेल आज मंगलबार हुँदैछ। खेल आज राति सवा ८ बजे यूएईस्थित शाहजाह क्रिकेट स्टेडियममा हुनेछ ।
नेपालले सिरिजको उपाधि जितिसकेको छ । लगातार दुई खेलमा शान्दार जित दर्ता गर्दै उपाधि जितिसकेको नेपाललाई आज सिरिज ‘क्लिन स्विप’ गर्ने मौका रहेको छ । टी– २० विश्वकप छनोटको तयारीमा रहेको नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग सिरिज खेलको हो ।















