पोखरा । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय सदस्य रुपनारायण भुजेलको निधन भएको छ । भुजेल केही दिन अघि कोरोना संक्रमित भएका थिए । उनको पोखरास्थित मेडिप्लस अस्पतालमा उपचारकै क्रममा आज दिउसो निधन भएको हो ।
भुजेल मदिरा व्यवसायी समिति कास्कीका निवर्तमान अध्यक्ष समेत हुन् । उनी लायन्स लगायतका संघसंस्थामा पनि आवद्ध
थिए। भुजेलका श्रीमती र दुई छोरा छन् ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले भुजेलको निधनबाट आफू निकै स्तव्ध र मर्माहत भएको भन्दै दुःख व्यक्त एवं परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
यसै बिच पोखरा उधोग बाणिज्य संघका महासचिव सुरेन्द्र बिजुक्छेले एक शोक विज्ञप्ति जारी गर्दै भूजेलको निधनबाट एक व्यवसायी वा पोखरा उधोग बाणिज्य संघको सदस्य मात्र नभएर सामाजिक काममा अग्रणी भूमिका खेल्ने योग्य र क्रियाशील व्यक्तित्व गुमाएको महशुस भएको जनाएका छन । शोक विज्ञप्तिमा भूजेलको निधनले संघमा अपुरणीय क्षति पुगेको र उनको अभाव संघमा खड्किरहने उल्लेख छ ।
यसैबीच मदिरा व्यवसायी समिति कास्कीले संस्थाका निवर्तमान अध्यक्ष भुजेलको निधनप्रति दुःख व्यक्त गरेको छ । संस्थाका अध्यक्ष डिल्लीराम पनेरुले भुजेलको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनामा समवेदना व्यक्त गरेका छन् । यस्तै, नेपाल मदिरा व्यवसायी महासंघले पनि भुजेलको निधनप्रति दुःख व्यक्त गरेको छ । महासंघका अध्यक्ष सोनाम शेर्पा र महासचिव तारानाथ ढुंगानाले शोक वक्तव्य जारी गर्दै महासंघका केन्द्रीय सदस्य तथा कास्कीका निवर्तमान अध्यक्ष भुजेलको निधनले संस्थालाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
यता,
भूजेल आंफु कोरोनाबाट संक्रमित भएपछि सामाजिक संजाल फेसबुकमा लेखेको स्ट्याटस यस्तो छ “ कोबिडको चरम लडाईमा भएको कारण फोन उठाउन नसकेकोमा क्षमा चाहन्नछौ, सम्पूर्ण देस विदेश र स्वदेशमा I आसिर्बाद,उर्जा, साहस सद्भाव र हौसलाले हामि छिटै नै कोरोनालाई परास्त गरि फ़र्कनेछौ ! आभारी छौ ! “
७ जेष्ठ २०७८, शुक्रबार २२:०० मा प्रकाशित