Play

लामाचौरमा बिगतमा जस्तै तीज महोत्सब हुने, राष्ट्रिय महिला भलिबल बाहेकका अन्य खेल पनि हुने

गुरुकुल खबर


पोखरा, पोखराको लामाचौरमा बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि तीज महोत्सव हुने भएको छ। महोत्सवलाई सफल बनाउन गठित मुल समिति र विभिन्न २२ वटा उपसमितिले तयारीलाई तिब्रता दिएको पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो। महाेत्सवमा अन्तर समूह तीज गीत प्रतियाेगिता, लामाचाैर कप खुल्ला पुरुष तथा अन्तर मावि छात्रा भलिबल प्रतियाेगिता,अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, श्रष्ट्रा सम्मान तथा छात्रवृत्ति प्रदान सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ।

विगत ११ वर्ष देखि हुदै आएको राष्ट्रिय महिला भलिबल यस वर्ष भने नहुने भएको छ। तर राष्ट्रिय प्रतियोगिताको झल्को दिने गरी रारा लामाचौर कप’ खुल्ला पुरुष भलिबल र पोखरा एक्सपर्ट एजुकेशन लामाचौर कप अन्तर मा.वि भलिबल प्रतियोगितालाई भने थप व्यवस्थित गरिएको निवर्तमान अध्यक्ष स्वागत मानसिंह भण्डारीले जानकारी दिए। नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा यही भदौ ८ गते देखि १० गतेसम्म लामाचौरको ईन्द्रराज्य लक्ष्मी माविको प्राङ्गणमा उक्त महोत्सव हुने भएको छ

आयोजक नबआदर्श सामुदायिक विकास समाजका अध्यक्ष इन्जिनियर दिनेश भण्डारीले दिएको जानकारी अनुसार पुरूष भलिबलमा प्रथम हुनेलाई ३ लाख १ सय ११, द्वितीयलाई १ लाख ५० पचास हजार १ र सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट विधामा आकर्षक पुरस्कार प्रदान गरिने छ भने मावि भलिबल प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ सय ११, द्वितीयलाई ५० हजार १ सय ११ र सर्वोकृष्ट खेलाडीलाई ५ हजार रुपैया तथा उत्कृष्ट बिधामा आर्कषक पुरस्कार प्रदान गरिने भएको छ ।

त्यस्तै तीज गीत प्रतियोगितामा प्रथमले ५० हजार १ सय ११, द्वितीयले ३० हजार १ सय ११, तृतीयले २० हजार १ सय ११ र सान्त्वना पुरस्कार १० हजार १ सय ११ प्राप्त गर्ने बताइएको छ सहभागी टिमहरुलाई प्रोत्साहन स्वरुप नगद २ हजार प्रदान गरिने छ ।अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार नगद ४० हजार १ सय ११. द्वितीय पुरस्कार नगद २५ हजार १ सय ११, तृतीय पुरस्कार नगद १५ हजार १ सय ११, सान्त्वना ३ टिमलाई ५ हजार १ सय ११ र उत्कृष्ट भेषभुषालाई नगद ५ हजार १ सय ११ प्रदान गरिने प्रचार प्रसार संयोजक बिष्णु प्रसाद गौतमले बताए।

हालसम्म पुरूष भलिबलमा ६ वटा र अन्तर मावि भलिबलमा ११ टिम दर्ता भएको र यो संख्या केहि बढ्ने समाजले जनाएको छ। महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल, बालउद्यान, स्रष्टा सम्मान, कलाकारको दैनिक प्रस्तुति लगायत विविध मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष भण्डारीले जानकारी दिए ।

यस्तै, लोकदोहोरी कलाकारहरु प्रकाश दुतराज, जानकी तारामी मगर, रीता थापामगर, शिव हमाल, श्रीदेवी देवकोटा, दीपक खड्का, प्रजापति पराजुली, रामजी पौडेल, माया गुरुङ, लक्ष्मी नेपाली लगायतको प्रस्तुति रहने छ ।

महोत्सव आयोजना गर्न करिब ४५ लाख खर्च हुने भएपनि महोत्सवबाट बचत हुने रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोषमा थप गरिने अर्थ संकलन उपसमिति संयोजक कमल थापाले बताए ।

खेल कार्यक्रम भदौ ७ गतेबाट सुरु हुने भएपनि औपचारिक उद्घाटन भदाै ८ गते हुने बताइएको छ। क्लबका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संस्थाका निवर्तमान अध्यक्ष स्वागतमान सिंह भण्डारी, नवीन भण्डारी, बुद्धिबहादुर खत्री क्षत्री, प्रचारप्रसार संयोजक विष्णुप्रसाद गौतम लगायतले महोत्सवको तयारीका बारेमा बोलेका थिए भने द्वितीय उपाध्यक्ष हरिबहादुर थापा र सचिव शोभा बानियाँले क्लबका अन्य गतिबिधि बारेमा जानकारी दिए ।

यसैबीच, लामाचौरको सरस्वती आदर्श विद्याश्रमले एम्बुलेन्स संचालन सहयोगार्थ समाजलाई नगद १० हजार सहयोग गरेको छ । प्राचार्य कृष्ण गुरुङले उक्त रकम अध्यक्ष भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

३ भाद्र २०८२, मंगलवार २१:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा