अमेरिका, राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले विदेश मन्त्रालयका १ हजार ३५० भन्दा बढी अमेरिकामा रहेका कर्मचारीहरूलाई बर्खास्त गर्न सुरु गरेको छ। कूटनीतिक निकायमा अभूतपूर्व सुधारका लागि भन्दै शुक्रबार थालेको सो कदमले विदेशमा अमेरिकी हितको रक्षा र प्रवर्द्धन गर्ने अमेरिकी क्षमतालाई कमजोर बनाउनेछ भनेर आलोचना हुन थालेको छ।
यो कदमले अमेरिकामा रहेका १ हजार १०७ निजामती सेवा र २४६ विदेश सेवाका अधिकारीहरूलाई असर गर्ने भनेर समाचार संस्था रोयटर्सले जनाएको छ। रूस-युक्रेन युद्ध, गाजा द्वन्द्व अनि इसराइल र इरानबीचको उच्च तनावका कारण अमेरिकाले विश्व मञ्चमा धेरै चुनौतीको सामना गरिरहेको बेलामा ट्रम्पले यस्तो कदमा चालेका हुन्।
“मन्त्रालयले कूटनीतिक प्राथमिकताहरूमा ध्यान केन्द्रित गर्नका लागि आन्तरिक कार्यहरूलाई सुव्यवस्थित गरिरहेको छ,” कर्मचारीहरूलाई पठाइएको विदेश मन्त्रालयको आन्तरिक सूचनामा भनिएको छ। ‘कर्मचारी कटौती सावधानीपूर्वक मुख्य कार्यहरूलाई असर नगर्ने गरी दोहोरिएका वा अनावश्यक कार्यालयहरूलाई लक्षित भएको,’ सो सूचनाले जनाएको छ।
अमेरिकामा रहेका १८ हजार विदेश मन्त्रालयका कर्मचारीहरूमध्ये स्वेच्छिक अवकाशसहित करिब तीन हजार कर्मचारी कटौती हुनेछ भनेर विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले रोयटर्सलाई भनेका छन्।
आफ्नो ‘अमेरिका फर्स्ट’ एजेन्डासँग अमेरिकी विदेश नीति मिल्दोजुल्दो पार्ने गरी पुनर्संरचनाका लागि पहिलो चरण अन्तर्गत ट्रम्पले यो कदम चालेका हुन्। तर पूर्व कूटनीतिज्ञहरू र आलोचकहरू भने विदेश सेवाका अधिकारीहरूको बर्खास्तगीले चीन र रूसजस्ता विरोधीहरूको बढ्दो चुनौतीको सामना गर्ने अमेरिकाको क्षमतालाई जोखिममा पार्छ भन्छन्।
ट्रम्पले फेब्रुअरीमा विदेश मन्त्री मार्को रुबियोलाई आफ्नो विदेश नीति ‘विश्वसनीय रूपमा’ कार्यान्वयन भएको सुनिश्चित गर्न विदेश सेवालाई परिमार्जन गर्न आदेश दिएका थिए। संघीय कर्मचारीतन्त्रलाई खुम्च्याउन र करदाताको पैसाको फजुल खर्चलाई कम गर्न ट्रम्पले यो कदम चालेको सेतोपाटीले जनाएको छ।















