पोखरा, मुलुकका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण धनजनको क्षती भएसंगै कास्की जिल्लामा पनि स्थानीय प्रशासनले सजगता अपनाउन थालेको छ। जिल्ला विपद ब्यबस्थापन समितिको अध्यक्ष समेत रहेकी कास्कीको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले कास्कीका ग्रामिण सडकहरुमा सवारी साधन संचालनको लागि समय निर्धारण गर्ने निर्णय गरेको छ। बर्षा र बाढीको सम्भावनालाई मध्यनजर गर्दै १५ दिनको लागि यस्तो ब्यबस्था गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।
बुधबारदेखि लागू हुने गरी १५ दिनसम्मका लागि ग्रामिण भेगका सडकमा चल्ने सवारी साधनको लागि समय तोकिएको हो । असार २३ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बर्षातको समयमा हुन सक्ने सम्भावित क्षतिबाट यात्रु तथा सवारी साधनलाई जोगाउन यस्तो निर्णय गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिब लम्सालको नामबाट जारी सूचनामा उल्लेख छ ।
अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरूलाई तोकिएको समयमा मात्र ग्रामिण सडकमा यात्रा गर्न पाउने ब्यबस्था अनुरुप कास्कीको अन्नपुर्ण गाउँपालिकाको विरेठाँटीबाट घान्द्रुक, विरेठाँटीबाट उल्लेरी र लुम्लेबाट लान्द्रुक जाने सवारी साधनहरू हरेक दिन साँझ ५ बजेभित्र छुटिसक्नुपर्ने बनाइएको छ। घान्द्रुक, उल्लेरी र लान्द्रुकबाट विरेठाँटी र लुम्लेतर्फ आउने सवारी साधनहरूले बिहान ५ बजेपछि मात्र यात्रा गर्न पाउनेछन् । यसरी रातिको समयमा उक्त क्षेत्रका सडकमा सवारी साधन चल्न नदिईने भएको छ ।
यसैगरी पोखरा महानगरपालिका -१३ को काहुँखोलाबाट ताङ्तिङ जाने सवारी साधनहरूले साँझ साढे ४ बजेभित्र प्रस्थान विन्दु छाडिसक्नुपर्ने र ताङ्तिङबाट काहुँखोला फर्कने सवारी साधनहरूले बिहान ५ बजेपछि मात्र चल्न पाउने भन्ने निर्णय बैठकले गरेको छ । स्थानीय प्रशासनले सबैजसो सवारी साधनसहित सरोकारवालाहरुलाई तोकिएको समय-तालिका पालना गर्न समेत आग्रह गरेको छ ।