पोखरा, नेपालकै राम्रो उपचार सेवा प्रदान गर्ने अस्पतालको रुपमा स्थापित हुँदै गएको पोखराको मणिपाल शिक्षण अस्पतालले अब क्यान्सरका बिरमिहरुको उपचारको लागि छुट्टै बिभाग शुरु गरेको छ। अस्पतालको शुरुवातका दिनमा क्यान्सरका बिरामीको उपचार हुने गरेको भएपनि केहि समयमा नै अस्पतालमा क्यान्सरका बिरामीको उपचार रोकिएको थियो।
जनशक्ति र उपकरणको अभावमा रोकिन पुगेको क्यान्सरको उपचार सेवालाई पुन निरन्तरता दिन मणिपाल अस्पतालको नयाँ ब्यबस्थापनले भने शुरु बाट नै चासो देखाएको थियो। सोहि अनुरुप करिब एक बर्षको प्रयासमा अस्पतालले छुट्टै उपचार कक्षाको निर्माण गर्नुको साथै आबश्यक उपकरण र जनशक्ति समेत ब्यबस्थापन गरि क्यान्सरको उपचार शुरु गरेको छ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओदुभिलले सबै किसिमका क्यान्सरका बिरामीको उपचार अब पोखराको मणिपालमा नै हुने भएकोले चितवन, काठमाडौँ र भारतसम्म जानुपर्ने बाध्यता अन्त्य भएको बताए।
उनले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार अस्पतालमा नयाँ अत्याधुनिक तथा गुणस्तरिय क्यान्सर उपचार विभाग शुभारम्भ गर्नको लागि बैदिक बिधिपुर्बक पुजा समत सम्पन्न भएको छ।
उनका अनुसार क्यान्सर रोगको उपचारको लागि रेडियो थेरापी (विकिरण उपचार पद्धति), किमो थेरापी, हर्मोन थेरापी, टार्गेटेड थेरापी, इमुनो थेरापी, अन्को सर्जरी (क्यान्सर शल्यकृया) जस्ता सेवाहरु अस्पतालमा शुरु भएको छ।
स्तन क्यान्सर, सानो आन्द्रा ठूलो आन्द्राको क्यान्सर, मल्द्वारको क्यान्सर, टाउकोको क्यान्सर लगायत शरिरको जुनसुकै भागको क्यान्सर रोगको उपचार मणिपाल अस्पतालमा गरिने भएकोले क्यान्सर रोगको पहिचान र उपचारको पोखरा र गण्डकी प्रदेशका बासिन्दाहरुको लागि पोखरा बाहिर जानुनपर्ने समेत उनले स्पष्ट पारे।