अमेरिका, विश्व प्रेस स्वतन्त्रता दिवस अर्थात मे ३ को सन्दर्भ पारेर नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले शुभकामना आदान प्रदान तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ । युनेस्कोले तय गरेको नया साहसिक संसारमा रिर्पोटिङ–प्रेस स्वतन्त्रता र मिडियामा कृतिक बुद्दिमता अर्थात एआईको प्रभाव विषयमा केन्द्रीत रही नेजाले अन्तर संवाद गरेको हो ।
संघका अध्यक्ष सुरज भण्डारीले नेजाले समय र सन्दर्भ अनुसार विभिन्न काम गर्दै आएको जानकारी दिंदै प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर एआईको प्रभाव र चुनौतीबारेमा सम्बाद कार्यक्रम गरिएको बताए। उनले नेजा अधिबेशनको तयारीमा समेत रहेको जानकारी दिंदै नेपाल र अमेरिकाको मात्र नभएर अन्य मुलुकमा पत्रकार समेत कार्यक्रममा सहभागि बनेको बताए।
कार्यक्रममा हाल चिनमा रहेका पुराना पत्रकार प्रा. धर्मानन्द अधिकारी र भगिरथ योगीले पत्रकारिताको बिगतलाइ स्मरण गर्दै एआईको कारण पत्रकारितामा अवसर र चुनौती दुवै थपिएको बताए । नयाँ प्रबिधिको प्रयोगमा ध्यान नदिने हो भने पत्रकारितामा चुनौती र संकट बढ्दै जाने उनीहरुको भनाइ थियो ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति एवं न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष गंगाधर पराजुलीले नेपालमा २०४६ सालको आन्दोलनबाट प्रजातन्त्र पुनस्थापना भएपछि पत्रकारिताको बिकासले गति लिएको र संचार संस्था र संचारकर्मीहरुको संख्यामा उल्लेखनीय वृद्धि भएको भएपनि कोभिड -१९ को महामारी पछि नेपालको पत्रकारिता ओरालो लागेको कारण अहिले संकटग्रस्त अबस्थामा रहेको जानकारी दिए।
गुरुकुल खबरका अध्यक्ष एबम प्रधानसम्पादक समेत रहेका पराजुलीले बिगतमा करिब ९ हजारको संख्यामा दर्ता भएका पत्रपत्रिकाहरु मध्ये हाल करिब १ हजार मात्र नियमित रुपमा प्रकाशन भैरहेको, करिब १ हजार दुई सय एफएम रेडियोहरु मध्ये ५० प्रतिशत जति मात्र नबिकरण भएको, अनलाइनको संख्या करिब चार हजार पुगेको, संचारमाध्यममा संलग्न पत्रकार र कर्मचारीको संख्या करिब ६० हजारको हाराहारीमा रहेकोमा अहिले त्यो संख्या घट्दै गएको र बार्षिक करिब १२ अरबको बिज्ञापन बजार खुम्चिएर ४ अर्ब जातिमा सिमित भएको, एआई जस्ता नयाँ प्रबिधिलाई नेपाली पत्रकारिता जगतले आत्मसात गर्न नसक्दा र सरकारले समेत मिडिया मैत्री काम नगर्दा नेपालमा पत्रकारिता चुनौतीपूर्ण बन्दै गएको स्पष्ट पारे।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारी ,नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, प्रेस चौतारी नेपालका सचिव विक्रम लुईटेल, नेपाल पत्रकार महासंघ, युरोपका उपमहासचिव भरत प्रधान, श्रमजिवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसी, नेजाका संस्थापक अध्यक्ष गिरिश पोखरेल लगायतले आआप्न्हो भनाई राखेका थिए ।
एआईको प्रयोगले पत्रकारितालाई सहज बनाएपनि यसको प्रयोगमा सावधानी नअपाउने हो भने पत्रकारिताका लागि यो चुनौती बन्ने बक्ताहरुको भनाइ थियो । पत्रकारितामा एआईको प्रयोगलाई अवसरको रुपमा लिदैं सावधानी पूर्वक यसको प्रयोग गरिनुपर्नेमा उनीहरुले जोड दिए ।
यसैगरि नेजाका पूर्व अध्यक्षहरु आङ छिरिङ शेर्पा र भोला आचार्य, पत्रकारहरु विष्णु छिमेकी, विनय देवकोटा,मनोज जोशी,हेमराज बराल, जानु पंगेनी, सुपेन्द्र बस्नेत, सिर्जना काफ्ले,सुदीप शिवाकोटी लगायतले धारणा राख्दैं पत्रकारिता नयाँ चरणमा प्रवेश गरेको र यसलाई चुनौतीसँगैं अवसरको रुपमा प्रयोग गर्नुपर्ने धारणा राखे । कार्यक्रममा नेजाका उपाध्यक्ष सुजन पण्डितले स्वागत गरेका थिए भने महासचिव बाबुराम दाहालले कार्यक्रममा सहजीकरण गरेका थिए ।