काठमाडौँ, नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको कारबाही फुकुवा गर्न अघि सारेको प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले तत्काललाई अस्वीकार गरेका छन् । आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकमा महासचिव पोखरेलले पाण्डे र तिम्सिनाको गत पुसमा गरेको निलम्बन फुकुवाको प्रस्ताव पेस गरेका थिए ।
बैठकमा महासचिव पोखरेलले उक्त प्रस्ताव अघि सार्दा अध्यक्ष ओलीले तत्काललाई अस्वीकार गर्दै ‘अर्को बैठकमा छलफल गरौँला’ भनेर पन्छाएका थिए । ‘महासचिवज्यूले पाण्डे र तिम्सिना दुवैको कारबाही फुकुवाको प्रस्ताव सचिवालय बैठकमा गर्नुभएको थियो तर अर्को बैठकमा छलफल गरौँला भनेर अध्यक्ष ओली उठ्नुभयो’, एक सचिवालय सदस्यले भने, ‘धेरै सचिवालय सदस्यले कारबाही फुकुवाको निर्णय हुने अपेक्षा गरे पनि अध्यक्षले चासो नदेखाएपछि केही भएन ।’
एमाले नेताहरूका अनुसार अर्को बैठकमा नेताद्वयको कारबाहीबारे छलफल गरेर निर्णय हुनसक्ने सम्भावना छ । ‘अध्यक्षलाई लाग्यो भने अर्को बैठकबाटै उहाँहरूको कारबाही फिर्ता हुनसक्छ’, एक सचिवालय सदस्य भन्छन्, ‘कतिपय विषय उहाँको मुडमा समेत भर पर्ने गरेको छ ।’
यसअघि अध्यक्ष ओलीले नेतृ पाण्डेलाई बालुवाटार बोलाएर कारबाहीबारे प्रसङ्ग कोट्याएका थिए । त्यसवेला पाण्डेले कारबाही गरेको भनिए पनि पत्र नै नपाएकाले कहिलेदेखि कारबाही लागु हुने र कहिले सकिने भन्ने अन्योलमा रहेको बताएकी थिइन् । जवाफमा ओलीले पत्र नै नपाएको भए ‘के को कारबाही हुन्छ त ?’ भनेर अनभिज्ञता प्रकट गरेका थिए ।
व्यवसायी मीनबहादुर गुरुङले पार्टी कार्यालय भवनका लागि जग्गा दिने र त्यो स्वीकार्ने पार्टीको निर्णयबारे प्रश्न गरेको भन्दै एमालेले पाण्डे र तिम्सिनासँग स्पष्टिकरण सोधेको थियो । त्यसपछि पार्टीले ६ महिनाका लागि उनीहरूलाई जिम्मेवारीबाट हटाएको थियो ।
- शाक्यसँग सवाल–जवाफ
एमाले सचिवालय बैठकमा हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएको विषय पनि प्रवेश भएको थियो । त्यो प्रसङ्गमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक सञ्जालमा लेखेको विषयबारे अध्यक्ष ओलीले चासो राखेका थिए । सरकारका काम र पार्टीका मन्त्रीहरूको विषय उठान गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले भनेका थिए, ‘सरकारले राम्रै काम गर्ने प्रयास गरिरहेको छ । हाम्रै पार्टीका मन्त्रीको राजीनामा प्रसङ्गमा पनि पार्टीकै नेताहरूले चर्चा गरेको देखियो’, ओलीले बैठकमा भनेका थिए, ‘काम गर्न नसकेर उहाँले राजीनामा दिएको हो, तर त्यो कुरालाई लिएर के–के न जस्तो बुझियो ।’
अध्यक्ष ओलीले क्षमता प्रदर्शन गर्न नसकेपछि भट्टराईले मन्त्री पदबाट राजीनामा दिएको भन्दै थप प्रस्ट्याउने प्रयास गरेका थिए । ‘अष्टजीले स्टाटसमा लेख्नुभएको जस्तो कुरा होइन । क्षमता र योग्यता नभएर राजीनामा गर्नुभएको हो,’ ओलीको भनाइ थियो ।
विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि उपाध्यक्ष शाक्यले सक्षम र इमानदार भएकै कारण राजीनामा दिनुपरेको हो ? भनेर प्रश्न गरेकी थिइन् । ‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुप¥यो ? विद्या भट्टराई सक्षम, इमानदार, उच्च नैतिकता भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनु परेको हो ?’, शाक्यले नेतृत्वमाथि प्रश्न गरेकी थिइन् ।
ओलीले सचिवालय बैठकमा आफूलाई लक्षित गर्दै क्षमताको कुरा निकालेपछि शाक्यले बैठकमा आफ्ना धारणा प्रस्ट पारेकी थिइन् । शाक्यले भट्टराई योग्य र सक्षम रहेको आफ्नो बुझाइ रहेको प्रस्टीकरण दिएकी थिइन् । ‘मलाई लाग्यो– विद्या भट्टराई योग्य र क्षमता भएकी नेतृ हुन् । त्यसैले उनलाई हौसला दिनेगरी स्टाटस लेखेकी थिएँ’, शाक्यको भनाइ थियो ।
अध्यक्ष ओली र शाक्यबिच सवाल–जवाफ चलिरहँदा अरु सदस्यहरू भने चुपचाप बसे पनि शाक्यले ‘मेरो स्टाटसमा चित्त नबुझे मलाई नै भनेको भए हुने, किन बाहिर (संसदीय दलको बैठकमा) बोलेको ?’ भनेर प्रश्न गरेकी थिइन् । वैशाख १३ गते वानेश्वरमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले शाक्यको स्टाटसबारे आपत्ति जनाएका थिए ।
- ‘कांग्रेस नै देउवा, देउवा नै कांग्रेस’
एमाले सचिवालय बैठकमा सत्ता साझेदार दल नेपाली कांग्रेसकै कतिपय नेताले सरकारको कार्यशैलीलाई लिएर आलोचना गरेको प्रसङ्ग पनि उठेको थियो । त्यसबारे सदस्यहरूले जिज्ञासा राखे पनि अध्यक्ष ओलीले त्यस्ता चर्चाको अर्थ नहुने भन्दै कांग्रेस–एमाले सहमति अनुसार सरकार पूरै समय जानेमा विश्वस्त हुन आग्रह गरेका थिए ।
‘कांग्रेसका केही नेताहरूबाट आलोचना भएको सुनिन्छ तर त्यस्तो होइन’, ओलीले भने, ‘कांग्रेस भनेको देउवा र देउवा भनेको कांग्रेस हो अहिलेसम्म । त्यसैले गठबन्धन यताउता वा सरकार यताउता केही हुँदैन ।’
त्यस प्रसङ्गमा ओलीले कांग्रेसमा देउवाकै निर्णय लागु हुने र उनी ढलपल नभएसम्म चिन्ता नलिन आग्रह गरेका थिए ।
‘देउवाजीसँग ८० प्रतिशत केन्द्रीय सदस्य, सांसद छन् । उहाँले जे भन्यो त्यही हुन्छ’, ओलीले बैठकमा गरेको ब्रिफिङ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘देउवाजीलाई सभापति र दलको नेताबाट हटाउनसक्ने तागत कसैको छैन । यदि त्यो अवस्था आयो भनेचाहिँ सोच्नुपर्ने हुन्छ ।’
सरकारको नीति तथा कार्यक्रम र बजेटबारे नेताहरूको धारण माग्न बोलाइएको बैठकमा सचिवालय सदस्यहरूले नीति तथा कार्यक्रमले भनेजस्तै बजेट बनाउन सुझाव दिएको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘नीति तथा कार्यक्रमले भनेजस्तै बजेट पनि ठोस र परिणाममुखी होस् । विगतमा योजनाको छनोट स्रोतको विन्यास र योजनाको प्राथमिकतामा भद्रगोल देखिएको छ,’ ज्ञवालीले भने, ‘विगतमा भएको अव्यवस्थालाई चिर्दै बजेट आओस् ।’
आइतबारको बैठकमा धारणा राख्ने क्रम नसकिएपछि अर्को बैठकमा बाँकी सदस्यहरूका सुझाव लिनेगरी बैठक सकिएको छ ।
– रातोपाटीबाट