पोखरा, नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले संविधान विरोधी कुनै पनि गतिविधि सह्य नहुने बताउंदै पुर्वराजावादी या अरु कुनै पनि नाममा हुने संविधान विरोधी गतिविधि तथा राजनीतिक अस्थिरता निम्त्याउने काम सरकारको लागि क्षम्य नहुने बताएका छन । गण्डकी प्रदेशको पोखरामा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको शुक्रबार उद्घाटन गृह मन्त्री लेखकले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त वर्तमान संविधानको रक्षाका लागि सबै तयार हुनुपर्नेमा जोड दिए ।
नेपालमा सात दशकको अन्तरालमा सात वटा संविधान बनेको उल्लेख गर्दै उनले वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएकाले यसैमार्फत हरेक समस्याको समाधान सम्भव भएको धारणा राखे । यसै सन्दर्भमा उनले भने “संविधानभित्र रही आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइन्छ । संविधानविरोधी गतिविधिका माध्यमबाट हत्याहिंसालाई प्रश्रय दिने, संविधान फाल्छु भन्नेजस्ता अराजक गतिविधि गर्न पाइँदैन । गरिएमा कानुनअनुसार कारबाही हुन्छ”,
संविधानको रक्षा आजको आवश्यकता भएकोमा जोड दिंदै उनले वर्तमान संविधान निर्माणको १० वर्षे हुँदैछ, यस अवधिको आवश्यक समीक्षासहित सम्बद्ध सबैसँग सहमति कायम गरेर आवश्यकताका आधारमा संबिधान संशोधन गर्दै थप सुधारको प्रयास गरिने बताए ।
पछिल्ला वर्षमा लागुऔषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध, प्राकृतिक विपद् आदि चुनौतीका रूपमा देखापरेकाले यी सबै चुनौतीको समाधान गर्नेतर्फ सरकार निरन्तर क्रियाशील रहेको उनले बताए।
साथै, सेवा प्रवाहलाई प्रभावकारी बनाउनु अपरिहार्य भएको उल्लेख गर्दै मन्त्री लेखकले जनतालाई सेवा दिने कुरामा कुनै कसर बाँकी नराख्न मातहतका विभिन्न सुरक्षा अधिकारीलाई निर्देशन दिए । सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशका सबै जिल्लाबाट सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको छ।
गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण
गृहमन्त्री रमेश लेखकले संघ सरकारको मातहतमा रहेको आपत्कालीन गोदाम गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन्।विपद्का बेला तत्काल राहत तथा उद्दार सामग्री भण्डारण गर्नका लागि पोखरामा निर्माण गरिएको प्रादेशिक आपतकालीन गोदाम गृह गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो । शुक्रबार आयोजित एक समारोहमा गृहमन्त्री लेखकले सो गोदामगृह गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेका हुन।
जलवायु परिवर्तनका कारण बढिरहेका विपद् तथा त्यसबाट मानव जीवन र सम्पत्तिमा हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले आपतकालीन गोदाम निर्माण गरिएको हो। संकटको बेला तत्काल राहत सामग्री आपूर्ति सुनिश्चित गर्ने गरी निर्माण गरिएको यो गोदाम प्रभावकारी हुने गृहमन्त्री लेखकले बताए ।
त्यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्राकृतिक विपत्तिका दृष्टिले जोखिमपूर्ण रहेको उल्लेख गर्दै सरकार यस्तो जोखिम न्यूनीकरण गर्न लगातार क्रियाशील रहेको बताए । बाढी, पहिरो र भूकम्पजस्ता संभावित विपत्तिहरूको प्रतिकार्यमा सरकार गम्भीर रूपमा लागेको मुख्यमन्त्री पाण्डेले बताए।
गण्डकी प्रदेश सरकारले १० करोड रुपैयाँभन्दा कम नहुने गरी विपद् व्यवस्थापन कोष छुट्याउँदै आवश्यक उपकरण तथा सहायता सामग्रीमा लगानी गरिरहेको पाण्डेले जानकारी दिए ।