- गंगाधर पराजुली
अमेरिकाका बस्ने नेपालीहरुका संस्थामध्ये मेरिल्याण्डको बाल्टिमोरमा रहेका नेपालीहरुको छाता संस्था बाना (बाल्टिमोर एसोसिअसन अफ नेपलिज ईन अमेरिका) मा नेपाली जनसम्पर्क समिति वा नेपाली काँग्रेस पक्षधरहरुले आफ्नो गुमेको प्रभाव स्थापित गर्न सफल भएका छन। अमेरिकामा रहेका नेपालीहरुका विभिन्न संस्थाहरुमध्ये एनआरएनएपछि सबैभन्दा धेरै सदस्य संख्या रहेको संस्थाको रुपमा बानालाई लिने गरिएको छ ।
बाल्टिमोरमा रहेका नेपालीहरुको छाता संस्थाको रुपमा मानिने बानाको स्थापना भएको दुई दशकजति पुगेको भएपनि पछिल्लो डेढ दशक जति समय उक्त संस्थाको नेतृत्वमा बामपन्थी अर्थात प्रवासी नेपाली मंचले चाहेका व्यक्तिहरु पुगेका थिए। तर यसपटकको अधिबेशनले जनसम्पर्क समिति सम्बद्धहरुलाई पुनस्थापित गर्न सफल भएको छ। जनसम्पर्क समिति वा नेपाली काँग्रेस सम्बद्ध जितेन (जितेन्द्र) गुरुङ बानाको अध्यक्ष निर्बाचित हुन सफल भएभने उनको प्यानलमा रहेका उमेद्वारहरुले नै सबै जसो पदमा चुनाब जित्न सफल भएका छन। जितेन गुरुङ, लक्ष्मी भारती र कोशिस भण्डारी तिन जना अध्यक्ष पदमा प्रतिष्पर्धा गरेकोमा उनीहरुको छुट्टाछुट्टै प्यानल चुनाबी मैदानमा रहेपनि गुरुंगको प्यानलले क्लिन स्विफ्ट गर्न सफल भएको हो ।
अध्यक्षमा निर्बाचित गुरुङ यस अगाडी बानाको सल्लाहकार सहित बाल्टिमोरस्थित विभिन्न सामाजिक एबम अन्य संस्थामा समेत सक्रिय रहँदै आएका थिए। नेपाली काँग्रेससंग नजिक रहेका जितेनको बिजयले बानामा बामपन्थी अर्थात प्रवासी नेपाली मंचसंग निकट रहेकाहरुले लामो समयदेखि कायम राख्दै आएको बर्चस्व तोड्न सफल भएको अनुभूति गरेका छन।
सन २०११ पछि बानाको नेतृत्वमा नेपाली काँग्रेस निकट अर्थात् नेपाली जनसम्पर्क समितिमा रहेकाहरु पुग्न नसकेकोमा यस पटक कांग्रेस वा जनसम्पर्क समितिका अगुवाहरुको अभुतपुर्ब एकताको कारण कांग्रेस भनेर चिनिने जितेन सहित उनको प्यानल नै बिजयी हुन पुगेको हो।
बानामा नेपाली काँग्रेस वा प्रजातन्त्रबादीको रुपमा रबिना थापाको अध्यक्षको कार्यकालपछि २०११ मा बिजय श्रेष्ठले चुनाब जितेर अध्यक्ष बनेका थिए। त्यसयता झन्डै डेढ दशकसम्म लगातार प्रवासी नेपाली मंच निकटहरुले नै बानामा बर्चस्व कायम राख्न सफल भए। जसअनुसार प्रवासी नेपाली मंचसंग सम्बद्ध विजय श्रेष्ठले दुई कार्यकाल, कुलमणि आचार्य र अनुशुया पन्तले एक / एक कार्यकाल बानाको अध्यक्ष बन्ने अबसर प्राप्त गरे भने पछिल्ल्लो दुई कार्यकाल सुबोध विलास पन्तले बानाको अध्यक्ष बनेर संस्ठाका विभिन्न गतिबिधि गर्दै संस्थाको महत्व बढाउन थप पहल गरेका थिए।
बानाको नेतृत्व लिन नेपाली जनसम्पर्क समिति वा नेपाली काँग्रेस निकटका व्यक्तिहरुले पनि पहल नगरेका हैनन तर, उनीहरु बिचको आपसी मनमुटाबका कारण प्रवासी नेपाली मंच निकट रहेका हरुले नै बिजय प्राप्त गर्दै आएका थिए। जनसम्पर्क समिति निकट रहेका गौतम दाहाल २०११ र २०१३ मा अध्य्क्षको उमेद्वार बनेको भएपनि उनले चुनाब जित्न सकेनन। यसैगरि २०१७ मा अध्यक्षको उमेद्वार बनेका सतिश चापागाईंले पनि पराजय भोग्नुपरेको थियो।
पटक पटकको निर्बाचनमा कांग्रेस समर्थकहरु बिचको आपसी मतभेदको कारण अध्यक्षको उमेद्वारले जित्न नसकेपछि बानाको अध्यक्ष पदमा जनसम्पर्क समिति निकट भनेर चिनिएका कुनै व्यक्तिहरु चुनाबी प्रतिष्पर्धामा आउन समेत नसक्ने अबस्था देखिंदै आएको थियो। अघिल्लो पटक जनसम्पर्क समितिको तर्फबाट अध्यक्षको उमेद्वार नभएकोमा मंच सम्बद्ध हिरा गुरुङ र सुबोध पन्तबिचको प्रतिष्पर्धामा पन्त सहितको टिम विजयो भएको थियो । पन्तको कार्यकालमा संस्थाका गतिविधिले तिब्रता पाएको र विभिन्न भौतिक पुर्वाधारको तयारीमा समेत पन्त सफल भएको समेत बताईन्छ।
जनसम्पर्क समिति निकटको व्यक्ति बानाको अध्यक्षको उमेदवार बनेपनि जित्न नसक्ने अबस्थाका कारण पछिल्लो समय जनसम्पर्क समिति सम्बद्ध व्यक्तिले अध्यक्ष पदमा समेत उमेद्वारी दिन छाडेको महशुस गरिएको थियो । यस अगाडीको अधिबेशनमा जनसम्पर्क समितिको तर्फबाट अध्यक्षको उमेद्वार नहुँदा जनसम्पर्क समितिका केहि नेताहरुले सुबोध विलास पन्तलाई नै समर्थन गरेका थिए भने केहीले उनका प्रतिद्वन्दी हिरा गुरुङलाई साथ दिएका थिए।
यसपटक अध्यक्षमा बिजयी जितेन गुरुंगले अघिल्लो अधिबेशनमा पन्तलाई साथ दिएको कारण पन्तले उनलाई बानाको सल्लाहकार मनोनयन गरेको थिए । जसले गर्दा गुरुंगलाई बानाका हरेक गतिबिधिसंग नजिक रहँदै आफ्नो प्रभाव र चुनाबी अभियान अगाडी बढाउन सहज भएको थियो भन्दा अत्युक्ति हुँदैन ।
हुन त, यसपटक अध्यक्ष पदमा उमेद्वारी दिएका तीनजना जितेन गुरुङ, कोशिश भण्डारी र लक्ष्मी भारती सबैले आफुलाई नेपाली काँग्रेस वा जनसम्पर्क समितिकै सदस्यको रहेको बताउने गरेका छन। तर, चुनाब वा अन्य सार्बजनिक कार्यक्रममा जितेन गुरुङले आफुलाई स्पष्ट र खुल्ला रुपमा नेपाली काँग्रेसको कार्यकर्ताको रुपमा पहिचान दिन तयार भएपनि अन्य उमेद्वारले भने आन्तरिक रुपमा मात्र आफुलाई कांग्रेस भनेर चिनाउन चाहन्थे। अध्यक्षमा उमेद्वारी दिएका कोशिश भण्डारी र जितेन गुरुङ दुवै जना नेपाली जनसम्पर्क समितिले आयोजना गरेको एक भेलामा समेत सहभागी भए।
त्यस भेलामा जितेनले स्पष्ट रुपमा आँफु नेपाली काँग्रेसको नीति र बिचारलाई आत्मसात गरेर हिडेकोले सबै कांग्रेसजनको साथको अपेक्षा गरेका थिए। ‘ मैले चुनाब जिते पनि कांग्रेस समर्थकहरुको सहयोगले चुनाब जित्ने हो र चुनाब हारे पनि कांग्रेस भएर नै हार्ने हो ‘ उनले भनेका थिए ।
तर सोहि भेलामा सहभागी कोशिश भण्डारीले भने आँफु नेपालमा रहंदा नेपाली कांग्रेस भएपनि अमेरिका आएपछि भने नेपाली मात्र भएको भनि कांग्रेसको आफ्नो पहिचान लुकाउन खोजेको थिए। उनको त्यो भनाई त्यहाँ उपस्थित कतिपय कांग्रेसजनलाई चित्त बुझेको थिएन। आफुलाई कांग्रेस भन्दा बाहिर रहेकाहरुले सहयोग गर्ने आश्वासन दिएको कारण चुनाबी मैदानमा उत्रिनुपरेको कुरामा पनि भण्डारी जानकार थिए। त्यसैले पनि उनले आफुलाई कांग्रेस भनेर चिनाउन चाहेनन।
अर्की उमेद्वार लक्ष्मी भारतीलाई कांग्रेसजनहरुले नै बरिष्ठ उपाध्यक्षमा जिताएको भएपनि उनि अध्यक्ष पन्तसंग मिलेर संस्थापन पक्ष भन्दा बाहिर निस्किन सकिनन। जसका कारण जनसम्पर्क समितिको भेलामा भारतीलाई आमन्त्रण समेत गरिएको थिएन उनलाई प्रवासी नेपाली मंचको उमेद्वारको रुपमा लिन थालिएको थियो ।
यसरि हेर्दा यसपटक बानाको अध्यक्षमा जनसम्पर्क समितिका उमेद्वारहरुलाई भिडाउने र आफ्नो अनुकुलमा चलाउन सक्ने मानिएकी लक्ष्मी भारतीलाई जिताउने प्रवासी नेपाली मंच अर्थात बानाको संस्थापन पक्ष नराम्रो संग पराजित हुन पुगेको छ। जितेनले बानाको सल्लाहकारकै रुपमा रहेर आफुलाई बानाको नेतृत्व गर्ने चाहना रहेको भन्दै बिगत एक बर्षदेखि निरन्तर पहल गरेको थिए भने लक्ष्मी भारतीले आफु बरिष्ठ उपाध्यक्ष रहेको कारण स्वाभाविक रुपमा आफुले चुनाब जित्ने अपेक्षा गरेकी थिइन्।
त्यसमाथि उनलाई बानाको संस्थापन पक्षले नै उमेद्वार बनाएको र जितेन र कोशिस दुवैजना बिचारले काँग्रेस अनि भूगोलले नेपालको पर्बत जिल्लाको भएको कारण उनीहरुको मत बाँडिने र त्यसको फाइदा लक्ष्मीलाई हुने अनुमान प्रवासी नेपाली मंचका नेताहरुको रहेको थियो। यता कोशिसले पनि आफु बानामा परिबर्तनको एजेन्डा बोकेर आएको कारणले मात्र नभएर कांग्रेसको पृष्ठभुमिबाट आएकोले पनि आफु बलियो भएको तर्क गर्दै आएका थिए । यसबाहेक उनले कांग्रेस बिरोधिहरुको समेत साथ पाउने र आफ्नो दाजु ह्यारी भण्डारीको प्रभावको आधारमा मत पाएर आँफु बिजयी बन्नेमा आशाबादी थिए।
यस्ता सबै खाले अनुमान बिपरित यसपटक सबैजसो कांग्रेसजनहरु जितेन गुरुङ र उनको टिम जिताउन एक भए। जितेनले बिगत एक बर्ष देखि नै अध्यक्षको तयारीमा लागेर सबैको साथ खोज्नुले मात्र नभएर विभिन्न संघसंस्थामा उनको संलग्नता र सक्रियता अनि सबैसंग समन्वय गर्ने तत्परताले पनि उनलाई जीतको नजिक पुर्याएको मान्न सकिन्छ।
कतिपयले त उनि गुरुङको परिवारमा जन्मिएर मगर परिवारमा बैबाहिक सम्बन्ध स्थापित गरेकोले जनजाती तर्फको मत समेत उनले धेरै पाएको बताएका छन। तर, जे जसो भनिएपनि यस पटक मेरिल्याण्डका कांग्रेसका अगुवाहरु सबैजसो उनको पक्षमा खुलेर लाग्नु नै उनको बिजयको मूल कारण मानिएको छ।
प्रवासी नेपाली मंचले आफ्नो उमेद्वार समेत नपाएर अर्कोलाइ नै समर्थन गर्नुपर्ने अबस्था आउनुले पनि बामपन्थी बिचार बोक्नेहरु यस पटक पछाडी पर्न गए। यस अगाडिको अधिबेशनमा सुबोध पन्तसंग प्रतिष्पर्धा गरेका हिरा गुरुंगलाई नै यस पटक उमेद्वार बनाउने तयारी मंचभित्र चलेको थियो । सोहि तयारी अनुरुप हिरा गुरुङ बानको अध्यक्ष पदमा चुनाब लड्ने भनेर प्रचार प्रसार समेत शुरु गरिएको थियों ।
तर अघिल्लो पटक पन्तसंग प्रतिष्पर्धा गरेको कारण पन्तसहित उनि निकटकाहरुले हिराको ठाउँमा बरिष्ठ उपाध्यक्ष रहेकी र आफ्नो अनुकुल चलाउन सक्ने लक्ष्मी भारतीलाई अगाडी सारेपछि आफ्नो समुहमा मतभेद सृजना भएको बुझेका हिरा गुरुंगले नतिजा आफ्नो पक्षमा आउने सम्भावना देखेनन जसका कारण अध्यक्षका बाँकी तिन जना प्रतिष्पर्धीलाई शुभकामना दिएर उनि चुनाबी मैदानबाट पछाडी हटे ।
प्रवासी नेपाली मंचमा पनि यसपटक आन्तरिक मतभेद देखिएको र त्यसको शिकार यस पटक पनि आँफु बन्नुपर्ने सम्भावना देखेपछि हिरा चुनाबी मैदानबाट पछाडी हटेका हुन। हिरा गुरुङले सहमतिको आधारमा मात्र अध्यक्ष हुन चाहेको भन्दै प्रतिष्पर्धाबाट आफुलाई बाहिर राख्नु र बानामा काम गरेका भिम केसी र सागर घिमिरे पनि अध्यक्ष पदमा चुनाब लड्न तयार नभएपछि मंचको अनि बानाको संस्थापन पक्षको अध्यक्षको उमेद्वारको रुपमा लक्ष्मी भारतीलाई अगाडी सारेर प्यानल बनाइएको हो।
केहि समय अगाडी भएको बानाको ट्रष्टी समितिको निर्बाचनमा ट्रष्टी अध्यक्ष पदमा प्रवासी नेपाली मंचका नेता परुराम (प्रभु) थापा विजाई भएका थिए। उक्त समितिको उपाध्यक्षमा अनुशुया श्रेष्ठ पन्त, सचिबमा सुर्योदय तिमिल्सिना, र सदस्यहरुमा रिना केसी, जनक पौडेल र शुशिला महत विजय भएका थिए । १ सय १६ जना ट्रष्टी सदस्य रहेको बानाको ट्रष्टी अध्यक्ष पदमा विजयी प्रभु थापाले ९७ मत पाउँदा उनका प्रतिद्वन्दी महेन्द्र देशारले १९ मत मात्र प्राप्त गरेका थिए। ट्रष्टी निर्बाचनमा प्राप्त गरेको बिजय कार्यसमितिको निर्बाचनमा समेत हुने अपेक्षा थापा र उनको टिमले गरेको थियो ।
यसपटक जितेनको समूह जिताउन जनसम्पर्क समितिका संस्थापक अध्यक्ष रामचन्द्र अधिकारीको संयोजकत्वमा निर्बाचन परिचालन समिति गठन गरिएको थियो। बिगतमा दुई समुहमा विभाजित हुने जनसम्पर्क समितिका नेताहरु यस पटक सबै एकै ठाउँमा उभिएको देख्दा कतिपयले जितेनको जीत पक्का रहेको भनि चर्चा गरेका थिए। प्रतिष्पर्धीहरुले भने जितेन र कोशिसको मत दुई तर्फ विभाजित गराउने र लक्ष्मीलाई जिताउन प्रयास गरेका थिए। तर, मतदानको समयसम्म आइपुग्दा लक्ष्मीले चुनाब जित्ने सम्भावना कम देखिएको र कोशिस प्रतिष्पर्धामा आउने सम्भावना बढेपछि लक्ष्मीलाइ पर्ने मत समेत कोशिसलाई परेको बुझिएकोछ।
बानाका पूर्व अध्यक्ष समेत रहेकी एनआरएनए आइसीसीका पूर्व अध्यक्ष रबीना थापा, बानाका पूर्व अध्यक्ष कृष घिमिरे सहित रामचन्द्र अधिकारी, सुभाष घिमिरे, डोलनाथ घिमिरे, नारायण थापा, बुद्धि सुबेदी, राजु पराजुली, तरुण पौडेल, गौतम दाहाल, राजेन्द्र सेन्चुरी, सतिश चापागाईं, चित्रा केसी, दुर्गा श्रेष्ठ, कुल गुरुङ, केशब शर्मा, भरत बराल सहित मेरिल्याण्डका जनसम्पर्क समितिका अगुवाहरु यसपटकको चुनाबमा एकै ठाउँमा देखा परेका थिए।
उनीहरुले झन्डै देश दशकसम्म बैचारिक हिसाबले प्रतिष्पर्धी मानिएकाहरुको बर्चस्वलाई सहजै स्वीकार गर्न नसकेपछि एकै ठाउँमा उभिएको भन्नेहरुको संख्या समेत त्यत्तिकै छ। जे होस, मेरिल्याण्डमा विभाजित बनेका जनसम्पर्क समितिका अगुवाहरुलाई बानाको अधिबेशनले एकै ठाउँमा उभिन बाध्य बनाएको छ। जसका कारण जनसम्पर्क समिति भित्र अभुतपुर्ब एकता देखिएको र १२ बर्षमा खोलो पनि फर्किन्छ भन्ने उखान जस्तै २०११ पछि बानामा गुमेको बर्चस्व २०२५ मा स्थापित गर्न उनीहरु सफल भएका छन ।
कसले कति मत पाए ?
सार्वजनिक भएको नतिजा अनुसार जीतेनले २ सय ६ मत बढी पाएर अध्यक्षमा विजयी भए । कुल खसेको २ हजार ७ सय नौ मत मध्ये जीतेनले १ हजार १ सय ६१ मत पाएका थिए । अध्यक्षका अर्का उमेद्वार कोशिस भण्डारीले ९ सय ५५ मत सहित दोस्रो भए। संस्थापन पक्षकी अध्यक्ष उम्मेदवार तथा वर्तमान कार्यसमितिकी वरिष्ठ उपाध्यक्ष लक्ष्मी भारती ५ सय ६१ मत सहित तेस्रो भइन्।
बानाको वरिष्ठ उपाध्यक्षमा जीतेन प्यानलकै जनक थापा विजयी भए। जनकले ९ सय ८५ मत प्राप्त गरे। कोशिस प्यानलबाट वरिष्ठ उपाध्यक्षकी उम्मेदवार डा. एकता कोइराला आठ ८ सय ५७ मत सहित दोस्रो स्थानमा रहिन। लक्ष्मी प्यानलका वरिष्ठ उपाध्यक्षका उम्मेदवार सागर घिमिरे ७ सय ५३ मत सहित तेस्रो स्थानमा रहे। उनी वर्तमान कार्यसमितिका महासचिव हुन्।
उपाध्यक्षमा जीतेन प्यानलकै ब्रजेश महर्जन विजयी भए। उनले १ हजार १ सय २५ मत पाए। उपाध्यक्षमा कोशिस प्यानलका गणेश भट्टराई ८ सय ६६ मत सहित दोस्रो र लक्ष्मी प्यानलका प्रेम कमली ५ सय ७५ सहित तेस्रो भए।
महासचिवमा पनि जीतेन प्यानलका शलिन बस्नेत विजयी भए। शलिनले १ हजार १ मत प्राप्त गरे। महासचिवमा कोशिस प्यानलका तारा खराल न्यौपाने ८ सय ४८ मत सहित दोस्रो र लक्ष्मी प्यानलका दामन विक्रम शाह ६ सय ९८ मत सहित तेस्रो भए।
सचिवमा जीतेन प्यानलका सुशील खत्री ९ सय ३९ मत सहित विजयी भए। कोशिस प्यानलका जनक बहादुर पुन मगर ८ सय ७५ मत सहित दोस्रो र लक्ष्मी प्यानलका वसन्त बस्नेत ७ सय २६ मत सहित तेस्रो भए। कोषाध्यक्षमा जीतेन प्यानलकी सज्नु डङ्गोल ९ सय ९७ मत सहित विजयी भइन् । लक्ष्मी प्यानलकी करुणा खड्का ८ सय २४ मत सहित दोस्रो स्थानमा रहिन। कोशिस प्यानलका राजेन्द्र रेग्मी ७ सय २२ मत सहित तेस्रो स्थानमा रहे। बोर्ड मेम्वरमा ऋदय केसी, प्रवीण लामा, अर्जुन क्षेत्री, भुपेश जङ्ग शाही, सोनिका चुनारा , डा. कृष्ण विष्ट , लक्ष्मी राम शाह, राजु सुवेदी विजयी भए।