Play

मणिपाल अस्पतालमा नयाँ सेवा थपिंदै, डिलक्स रुम संचालनमा, क्यान्सर कक्ष र अत्याधुनिक ल्याब छिट्टै

गुरुकुल खबर


पोखरा, पोखरामा निजि क्षेत्रले संचालन गरिरहेको मणिपाल शिक्षण अस्पतालले आफ्नो सेवालाई अन्तराष्ट्रियस्तरको बनाउने क्रममा विभिन्न उपचार सेवाहरु सहित बिरामी र तिनका कुरुवा एबम आफन्तजनको लागि नयाँ सुविधाहरु थप गर्ने क्रमलाई निरन्तरता दिएको छ ।

बिगतमा भारतीय समूहको स्वामित्वमा रहेको मणिपाल अस्पताल पछिल्लो समय पोखराका प्रतिष्ठित ब्यबसायी आनन्द बतास सहितको ब्यबसायिक समुहले लिएपछि अस्पतालको उपचार सेवा प्रभावकारी बनाउने र आबश्यक सुबिधाहरु थप गर्दैजाने नीति अनुरुप विभिन्न सेवाहरु थप गर्ने र बिस्तार गर्ने काम हुँदै आएको छ ।

अस्पतालले उपचारको लागि आबश्यक प्रबिधि, उपकरण, जनशक्ति र भौतिक पुर्बाधार बिस्तार गर्ने कुरालाई प्राथमिकतामा केहि महिना अगाडी अत्याधुनिक र सुबिधासम्पन्न आइसीयु कक्ष संचालनमा ल्याएको थियो भने हालै मणिपाल इन्टरनेसनलको नामबाट बिरामीलाइ उपचार गर्ने सुबिधा सम्पन्न कोठाहरु थप गरेको जनाएको छ ।

अस्पतालका प्रमुख जनसम्पर्क अधिकारी कृष्णमोहन श्रेष्ठले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार अस्पतालमा यस अगाडी बिरामी बस्नको लागि जनरल र क्याबिन कोठामात्र रहेकोमा अहिले अत्याधुनिक सुबिधा सहितका डिलक्स रुमहरु थप गरिएको छ । नवनिर्मित सुबिधासम्पन्न कोठाहरुमा आबश्यकता अनुसार बिरामी राखेर उपचार शुरु गरिएको भएपनि त्यस कक्षको औपचारिक उद्घाटन भने केहि सातामा गरिने श्रेष्ठले बताए ।

अन्तराष्ट्रियस्तरका सुबिधा सम्पन्न अस्पतालमा हुने किसिमको सेवा सुबिधा उपलब्ध हुने गरि निर्माण गरिएको मणिपाल इन्टरनेसनल कक्ष ( डिलक्स ) मा बिरामीहरुको लागि, उनीहरुका कुरुवाहरुको लागि र भेट्न आउने आफन्तजनको लागि विभिन्न सुबिधाहरु उपलब्ध रहेको छन ।

सुबिधाजनक र आरामदायी बेड, सोफा, कुर्सीहरु, टेलीभिजन, फ्रिज लगायतका आबश्यक सामानहरु त्यहाँ राखिएको छ। तारे होटलको कोठामा पाहुनालाई उपलब्ध हुने सुबिधा सहित उपचारको लागि आबश्यक जनशक्तिको सुबिधाको ब्यबस्था त्यस कक्षमा गरिएको छ ।

हाल १४ वटा सुबिधा सम्पन्न कोठाहरु निर्माण गरिएको र कोठामा रहेको सुबिधाको आधारमा सुईट, एक्जिक्युटिभ र प्रेसिडेन्सियल नामबाट बर्गोकरण गरिएको छ । कतिपयमा बिरामी भेट्न आउनेहरुको लागि प्रतिक्षा गर्न सोफा सहितका  छुट्टै कोठा समेत रहेका छन अस्पतालका सूचना अधिकारी शंकर बहादुर जिसीका अनुसार संभवत गण्डकी प्रदेश भित्रका अन्य अस्पतालमा यस किसिमको सुबिधा भएका कोठा उपलब्ध छैनन ।

यसका साथै अस्पतालले क्यान्सरका बिरामीहरुको उपचार गर्नको लागि पनि नयाँ कक्ष शुरु गर्ने भएको छ । मणिपाल अस्पतालमा बिगतमा क्यान्सरको उपचार सेवा संचालन गरिएको भएपनि सन् २०१७ बाट अस्पतालको उपकरण बिग्रेपछि उक्त सेवा बन्द हुन पुगेको थियो जसका कारण क्यान्सरका बिरामीहरु उपचारको लागि पोखराबाट बाहिर जानुपर्ने बाध्यता सिर्जना भएको थियो ।

‘अहिले क्यान्सर बिरामीहरुको लागि पनि सुबिधा सम्पन्न कक्षको निर्माण कार्य चलिरहेको छ । संभवत अबको दुई महिना  भित्रमा  मनिपाल अस्पतालबाट नै क्यान्सरका बिरामीहरुको उपचार सेवा शुरु हुन्छ ।’ अस्पतालका मार्केटिंग बिभाग प्रमुख रोशन अधिकारीले गुरुकुल खबरसंग भने । अधिकारीका अनुसार रेडियो थेरापी, लिनियर एक्सेलेटर लगायतका आबश्यक मेसिन र उपकरणहरु समेत आइसकेकोले जडान गर्नको लागि आबश्यक उपयुक्त संरचना निर्माणको कार्य हाल भैरहेको छ ।

अस्पतालका अध्यक्ष बतासका अनुसार उपचारका लागि आर्टिफिसियल इन्टेलिजेन्स भएको क्यान्स इक्युपमेन्ट आइपुग्ने चरणमा छ, यसको पूर्वाधार तयार भइरहेको छ, उच्चस्तरको टेक्नोलोजी, विशेषज्ञ डाक्टरको दरबन्दी र सर्वसुलभ रुपमा क्यान्सर रोगको सेवा सुरु गर्ने तयारीमा अस्पताल प्रशासन जुटेको छ ।

यसका साथै अस्पतालमा अत्याधुनिक प्रयोगशाला समेत थप हुन लागेको छ हाल भैरहेको ल्याब अर्थात् प्रयोगशालालाई अपग्रेड गर्ने र अत्याधुनिक उपकरणहरु जडान गर्ने प्रक्रियामा अस्पताल प्रशासन लागिरहेको अस्पतालका अध्यक्ष आनन्द बतासको भनाई छ ।

मणिपाल अस्पताललाई देशको सुबिधा सम्पन्न अस्पताल बनाउन आफुले पहल गरिरहेको बताउंदै अध्यक्ष बतासले अस्पतालमा छिट्टै नै अत्याधुनिक प्रयोगशाला, क्यान्सर उपचार कक्ष र वेलनेस सेन्टर सञ्चालनमा ल्याउने जानकारी दिए । ‘हामी सेमीअटोमेटिक ल्याब्रोटरी सिस्टम डेभलप गर्दैछौं। यो ल्याब नेपालमा अहिलेसम्मको हाइटेक र अन्तराष्ट्रिय स्तरको हुनेछ।’

यस अगाडी नयाँ आइसीयु कक्षको बिस्तार गरेपछि मणिपाल अस्पताललाई क्रिटिकल केयरमा संभवत नेपालकै ठूलो अस्पतालको रुपमा स्थापित भएको चर्चा चलेको थियो। ९४ वटा बेड रहेको आइसीयु कक्षलाई ७२ वटा बेड  थप गरि कुल १ सय ६६ आइसीयु बेड रहेको अस्पतालको रुपमा मणिपाल अस्पताल स्थापित भैसकेको अस्पतालका निर्देशक नारायण पौडेलले बताए। थप गरिएका ७२ आइसीयु अत्याधुनिक र सुविधासम्पन्न रहेको र अहिले गण्डकी प्रदेशका बिरामीहरु क्रिटिकल उपचारको लागि पोखरा बाहिर जानुपर्ने अवस्था करिब अन्त्य भएको छ।

सघन उपचार कक्ष बिस्तार भएपछि मणिपालमा भेन्टिलेटरको संख्या पनि ३४ पुगेको छ। कोभिड महामारीको समयमा अस्पतालमा भेन्टिलेटरको अभावमा थुप्रै सर्बसाधारणले ज्यान गुमाउनुपरेको पीडा महसुस गरेर सघन उपचार कक्षमा पर्याप्त भेन्टिलेटर व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलले जानकारी दिए ।

यसैगरि अस्पतालमा फुलबडी चेकअप सहितको वेलनेस सेन्टर सञ्चालनमा ल्याउने बतासले तयारी पनि भैरहेको छ । ‘पैसा भएका मान्छेहरुले त वेलनेस सेन्टरमा आएर फुलबडी चेकअप गर्छन् तर गाउँकालाई गाह्रो छ।’ उनले भने-‘त्यसका लागि हस्पिटल बस किन्दैछौं । बसभित्र डिजिटल एक्सरे, अल्ट्रासाउन्ड, ल्याब र फार्मेसी हुनेछ । त्यो बस हामीले गाउँगाउँमा लगेर निशुल्क फुलबडी चेकअप र क्यान्सर टेस्ट गर्नेछौं ।’

यसैबीच अस्पतालमा बस्नुपर्ने बिरामीका कुरुवाहरुको लागि राति सुत्ने ब्यबस्था सहितको ‘बिश्राम घर’ पनि संचालनमा आएको छ। टाढाबाट उपचारको लागि आएकाहरुलाई र अस्पतालमा रहनुपर्ने बिरामीका कुरुवालाई सहज होस् भनेर बिश्राम घरको सेवा शुरु गरिएको हो।

हाल १२ वटा कोठामा २४ वटा बेड राखेर सेवा दिईएको र उक्त सेवा दिएबापत अस्पतालले प्रति बेड प्रति दिन दुई सय रुपैयामात्र लिने गरेको छ । बिरामी रहेको वार्डबाट स्वस्थ्यकर्मीले आबश्यक परेको समयमा बिश्रामघरमा बस्ने सम्बन्धित बिरामीको कुरुवालाई सम्पर्क गर्न सक्ने ब्यबस्था समेत गरिएको बुझिएको छ।

यो पनि पढौं  ..

मणिपालमा तीज महोत्सबसंगै नृत्य प्रतियोगिता, ब्यबस्थापन र कर्मचारीको सम्बन्ध दरिलो हुने बिश्वास

२७ माघ २०८१, आईतवार १३:०१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा