विराटनगर, विराटनगर महानगरपालिका– ५ विशाल चोकमा १४ वर्षीय चाँदनी यादवको हत्यापछि आमाबुवा र मावलीतर्फका आफन्तले चार फिट गहिरो खाडल खनेर गाढेको खुलेको छ । प्रेमीबाट छुटाउन बाबुआमा र मावली परिवार मिलेर हत्या गरेपछि मावली घरदेखि १२५ मिटर उत्तरमा चार फिट गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शुक्रवार चाँदनी यादवको शव फेला परेको थियो ।
चाँदनीको घर भारत बिहार प्रदेशको छपरा जिल्लामा हो । उनी पुसको पहिलो हप्ता आमा राजकुमारी र दाजुसँग मामाघर विराटनगर आएकी थिइन् । आमा घर आएको एक महिनापछि ११ माघमा हत्या भएकोे हुनसक्ने प्रहरीको अनुमान छ ।यद्यपि, प्रहरीले हत्याको मिति पत्ता लगाउन घटनाको अनुसन्धानका गर्दै आएको र पक्राउ परेकाहरूबाट भने घटनाका बारेमा थप कुरा खुल्ने मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए ।
‘भारतमा १ व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध थियो । एक पटक ती व्यक्तिसँग भागेपछि चाँदनीको बुवा आमाले मामाघर ल्याएका रहेछन् । ती व्यक्तिसँग छुटाउने उद्देश्य राखी बाबु आमाले उनलाई मावली लिएर आए । तर, चाँदनीले छुट्न नसक्ने अड्डी कसिन् । रिसको झोँकमा सबै मिलेर हत्या गरेपछि घटना लुकाउन शव गाडेको पाइयो,’ घटनाको अनुसन्धान गर्दै आएको एक प्रहरी अधिकृतले भने, ‘अहिले मामाघर तर्फका पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छौँ । थप विषय खुल्दै जानेछ । हामीले गहन तरिकाले अनुसन्धान सुरु गरेका छौँ ।’
प्रहरीले यस घटनामा आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरी नियन्त्रणमा चाँदनीका मावली हजुरबुवा अन्दाजी ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, सरजुगका भाइ पर्ने बतासी मण्डल, छोरा रामबाबु मण्डल, जेठी छोरी उर्मिला मण्डल, नातिनी अञ्जली मण्डल र नाति बबिदेवल मण्डल लगायतलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
प्रहरी नियन्त्रणमा रहेकाहरूले सोधपुछ गर्दा वास्तविक कुरा नबताइरहेको जानकारी डीएसपी जोशीले दिए । प्रहरीले थप प्रमाण जुटाउने काम गरिरहेको उनले बताए ।
हत्या गरेको भोलिपल्ट आमा र दाजु लागे घर
चाँदनीको हत्या गरेपछि मामा घरबाट १ सय २५ फिट उत्तरमा ४ फिट गहिरो खाल्डो खनेर शरीरका कपडा सहितको शव गाडिएको थियो । चाँदनीको हत्यापछि शव व्यवस्थापन गरेर भोलिपल्ट आमा र दाजु भारतस्थित घर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘मावली परिवारसँग मिलेर छोरीको हत्या गरेपछि आमा राजकुमारी र चाँदनीको दाजु घर फर्किएछन्,’ घटनाको अनुसन्धान गर्दै आएका एक अनुसन्धान अधिकृतले भने, ‘हत्या कसरी गरियो भन्ने यकिन छैन । त्यस विषय पत्ता लगाउन हामीले पक्राउ परेकासँग थप सोधपुछ र थप सबुत प्रमाण खोज्दैछौँ ।’
हत्या कसरी भयो भनेर अहिल्यै भन्न सकिने अवस्था नरहेको प्रहरीले बताएको छ । ‘हेरेर अनुमान गर्न सक्ने अवस्था छैन । शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएको छ । घटना यकिन गर्न पोस्टमार्टम रिपोर्ट आउनैपर्छ । थप अनुसन्धानसमेत भइरहेको छ,’ डीएसपी जोशीले भने ।
शव गाडिएको यसरी पत्ता लाग्यो
चाँदनी मामाघर आएको र छर छिमेकीहरूले उनलाई नदेखेपछि गाउँघरमा हल्ला चल्यो । चाँदनी बेपत्ता भइन् । चाँदनी बेपत्ता भएको जानकारी आउनासाथ प्रहरी पुग्दा हजुरबुवा सरजुग मण्डलले नातिनी आफ्नै घरतिर गइसकेको बताएका थिए । प्रहरीले बाबुआमासँग सम्पर्क गर्दा छोरी मामाघरमै रहेको बताए । मामाघरको हजुरबुवा र आमाको कुरा बाझिएपछि घटना रहस्यमय रहेको भन्दै मोरङ प्रहरीबाट अनुसन्धान टोली परिचालन भयो ।
‘बालिकाका बारेमा सोधी खोजी गर्दा वास्तै गरेनन् । बाबुआमा र मावली हजुरबुवाको भूमिका शङ्कास्पद देखियो । बारम्बार कुरा फेर्न थालेपछि शङ्का लागेर थप खोजतलास गर्दा शव फेला परेको हो,’ डिएसपी जोशीले भने । मृतक चाँदनी आमा राजकुमारीकी माइली छोरी रहेको रातो पाटीको समाचारमा उल्लेख छ ।