पोखरा, पोखरामा माघ १९ गते शनिबार हुन लागेको अरुणा लामा–तारादेवी स्मृति श्रष्टा साँझ स्थगित भएको छ । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयूक्त आयोजनामा शनिबार साँझ हुन लागेको सो कार्यक्रमका गिटारिष्ट सञ्जीव पालको अचानक निधन भएपछि कार्यक्रम स्थगित गरिएको हो ।
शुक्रबार निधन भएका पाल शनिबार हुने कार्यक्रमका गिटारिष्ट थिए । उनलाई शुक्रबार दिउँसो घरमा आराम गरिरहेका बेला ह्रदयघात भएको थियो । ह्रदयघात भएका पाललाई तत्कालै पोखरा नयाबजारस्थित गण्डकी मेडिकल कलेज (जिएमसी) को आकस्मिक कक्षमा लागिएको भएपनि उपचारका क्रममा निधन भएको अरुणा लामा–तारादेवी स्मृति श्रष्टा साँझ कार्यक्रमका संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनले भने,‘कार्यक्रमको तयारी पूरा भएको थियो । तर कार्यक्रमका गिटारिष्टको निधन भएकाले उहाँको शोकमा कार्यक्रम स्थगित गरेका छौं ।’ उनले स्थगित कार्यक्रम केहि दिनपछि गरिने बताए । ‘अहिलेलाई कार्यक्रम स्थगित भयो, अर्को मिति हामी छिट्टै तय गर्छौं’–उनले भने ।
स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर २०७९ सालदेखि शुरु भएको यो कार्यक्रम हरेक वर्ष माघ तेश्रो शनिबार हुँदै आएको छ । कालजयी गायीका तारादेवीको माघ १० गते र अरुणा लामाको माघ २२ गते स्मृति दिवस हो । दुबै कालजयी गायीकाद्वयको स्मृति दिवसको बिचको शनिबार पारेर कार्यक्रम हुँदै आएको छ ।