पोखरा, नेपाल प्रेस युनियनले आगामी चैत्र २६ गतेदेखि बैशाख १ गतेसम्म ‘इन्टरनेशनल मिडिया समिट’ गर्ने जनाएको छ। नेपाल र भारत लगायत विभिन्न मुलुकका पत्रकारहरुको सहभागितामा काठमाडौँमा समिटको उद्घाटन भएपनि त्यस पछिका कार्यक्रमहरु भने नवलपुरको सुस्ता, कास्कीको पोखरा र लुम्ले, मुस्तांगको लोमान्थांग लगायतका स्थानमा संचालन गर्ने गरि गृहकार्य भैरहेको बताइएको छ ।
नेपाल प्रेस युनियनको गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका प्रतिनिधिहरु सहितको बैठकमा युनियनका केन्द्रीय अध्यक्ष शिब लम्सालले जनआन्दोलन दिवस पारेर चैत्र २६ मा काठमाडौँमा मिडिया समिटको उद्घाटन गर्ने जानकारी दिए । भोलिपल्ट चैत २७ गते सहभागीहरु नवलपुरको त्रिबेणी सुस्ता पुगेर पाल्पाको रामपुर हुँदै स्यांग्जाबाट २८ गते पोखरा आइपुग्ने गरि कार्यक्रम तय गर्न लागिएको जानकारी दिए।
अध्यक्ष लम्सालका अनुसार पोखरामा चैत्र २८ गते ‘पोखरा र पर्यटन’ सहित विभिन्न बिषयमा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेपछि २९ गते लुम्लेमा र त्यसपछि मुस्तांगको लोमान्थांग पुगेर मिडिया समिटको घोषणापत्र जारी गरिने छ। समिटमा नेपाल, भारत लगायत विभिन्न मुलुकका गरि दुई सय जना विभिन्न संचार माध्यममा संलग्न पत्रकारहरुको सहभागिता रहने अपेक्षा गरिएको छ समिट अन्तर्गत विभिन्न स्थानमा विभिन्न चरणमा नेपालको मिडियाको अबस्था र समस्या, नेपालमा जलबायु परिबर्तन र असर, पर्यटन एबम आर्थिक विकास र चुनौती लगायत विभिन्न बिषयमा छलफल गर्ने किसिमले कार्यक्रमको तयारी शुरु गरिएको युनियनले जनाएको छ।
मिडिया समिट सम्बन्धि प्रारम्भिक तयारीको लागि आयोजित छलफल कार्यक्रममा अध्यक्ष लम्सालले अन्तराष्ट्रिय पत्रकार महासंघ लगायत विभिन्न संस्थामा आबद्द करिब २० वाट देशका पत्रकार सहित नेपालका अग्रज पत्रकारहरु, युनियनको केन्द्रीय समिति र पत्रकारिता संग सम्बन्धित अन्य संस्थाका प्रतिनिधिहरु समेत गरि दुई सय जना समिटमा सहभागी हुने जानकारी दिए।
छलफलमा नेपाली काँग्रेस केन्द्रीय प्रचार विभागका सदस्य एबम युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले विभिन्न जिल्ला वा नगरमा कार्यक्रम गर्दा स्थानीय मुद्दा वा विषयलाई प्राथमिकता दिएर कार्यक्रम गर्नसके आमनागरिकले समेत अपनत्व लिने भएकोले स्थानीय स्तरको प्रमुख मुद्दामा समेत बहस हुने गरि कार्यक्रम तय गर्न आग्रह गरे। कार्यक्रममा पोखराका अग्रज पत्रकारहरु नारायण कार्की, इन्द्र रिजाल, ऋषीकान्त पौडेल, रमेश पौडेल, राजबहादुर गुरुङ, सरिता पगेनी लगाएतले विभिन्न सुझाब दिएका थिए ।
उक्त कार्यक्रम पूर्व युनियनको गण्डकी प्रदेश समितिको बैठकमा समेत यस बिषयमा चर्चा भएको बुझिएको छ। बैठकमा युनियनका गण्डकी प्रदेशका विभिन्न जिल्लाका अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको युनियनको गण्डकी प्रदेशका महासचिव प्रकाश ढकालले जानकारी दिए । बैठक नेपाल प्रेस युनियन गण्डकी प्रदेश समितिका अध्यक्ष टंकराज अधिकारीको अध्यक्षतामा बसेको थियो ।