Play

‘मोबाइल एक्स्पो र क्यान इन्फोटेक’ समेत मर्ज गर्दै पोखरामा राष्ट्रिय औधोगिक व्यापार मेलाको तयारी

राष्ट्रिय औधोगिक व्यापार मेलाबाट कमाउने तर्फ भन्दा मेला संचालन खर्च पुगोस भन्ने चाहना हो - पोउबासंघ अध्यक्ष कार्की


गुरुकुल खबर


पोखरा, यहि माघ १० गतेदेखि पोखराको नयाँजबारस्थित प्रदर्शनी केन्द्रमा ३३ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव हुने भएको छ। बिगतका बर्षहरुमा पोखरामा संचालन गरिंदै आएका अन्य केहि मेला वा महोत्सबलाइ समेत समाहित गरेर पोखरा उद्योग बाणिज्य संघले औधोगिक व्यापार मेला तथा आइटी महोत्सब गर्न लागेको हो। यस पटकको मेलामा १२ औं क्यान इन्फोटेक- २०२५ र चौथो मोवाइल एक्सपो- २०२५ लाई पनि समाहित गरिएको कारण यो मेला बिगतको भन्दा फरक हुने अपेक्षा गरिएको छ।

उक्त मेला सम्बन्धमा जानकारी दिने उद्धेश्यले बुधबार मेला आयोजनास्थल नयाबजारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरामा आर्थिक गतिबिधिलाई बढावा दिन २०४२ मा पोखरामा पहिलो पटक संगठित रुपमा मेला आयोजना गरिएको बताए। त्यो मेला नेपालको च्याम्बर इतिहासमा पहिलो भएको उनले दाबि गरे। त्यसपछि २०४९ मा ३० वटा स्टल राखेर औधोगिक मेला र २०५२ मा पोखराको बसुन्धरा पार्कमा नेपालको विभिन्न स्थानका औधोगिक उत्पादनलाई समेटेर राष्ट्रियस्तरको ‘पोखरा महोत्सब’ गरिएको उनले बताए ।

पोखरा उद्योग बाणिज्य संघले गरेको उक्त मेला अबलोकन गर्न विभिन्न जिल्ला र नगरबाट उद्योग बाणिज्य संघका प्रतिनिधिहरु पोखरामा आएको र त्यसपछि बिभिन्न जिल्ला र नगरमा यस किसिमका मेला र महोत्सब आयोजना गर्ने क्रम शुरु भएको थियो। संघका अध्यक्ष कार्कीले दिएको जानकारी अनुसार, पोउबासंघले त्यसपछि हस्तकला मेला –२०५३, पुष्प प्रदर्शनी– २०५५, हस्तकला तथा पुष्प मेला–२०५६, पश्चिमाञ्चल औद्योगिक व्यापार मेला–२०५९, औद्योगिक व्यापार मेला–२०६१, राष्ट्रिय शैक्षिक मेला पोखरा–२०६२, महिला उद्यमी मेला २०६८, २०७० र २०७४ तथा २०६३ सालदेखि राष्ट्रिय औद्योगिक व्यापार मेलाको नाममा यो मेलालाई निरन्तरता दिँदै आएको छ ।

आर्थिक गतिबिधि चलायमान बनाउन मेला र महोत्सब आयोजना गरिएको बताइएपनि पछिल्लो समय भने मेला र महोत्सबको नाममा बिकृति बढेको उनले बताए । मेला र महोत्सवहरु नयाँ उत्पादनहरुको प्रदर्शनी, औद्योगिक प्रदर्शनी, उत्पादक र उपभोक्ताबीचको भेटघाट, महिला उद्यमशीलतालाई प्रोत्साहन, नवप्रवर्तन, हस्तकला र घरेलु उद्योगका उत्पादनहरुको बजारीकरणका निम्ति समर्पित हुनुपर्ने र स्वरोजगार हुन चाहनेहरुका निम्ति मेला शिक्षालय बन्नुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै अध्यक्ष कार्कीले चिन्ता प्रकट गरे ।

“मेला र महोत्सवको नाममा हामीले पनि बाटो बिरायौं होला, तर केहि संस्था र व्यक्तिहरु मेलाको नाममा कमाउने धन्दामा लागेको पनि देखियो। मेला र महोत्सवमा औद्योगिक उत्पादन, सूचना प्रविधिको प्रदर्शन कम हुने तर मनोरञ्जनको नाममा धेरै गतिबिधि हुने अबस्था आर्थिक दृष्टिकोणले खुसि हुनुपर्ने अबस्था हैन।” कार्कीले पत्रकार माझ भने । उनले यसपटकको मेला नाफाको उद्देश्य लिएर आयोजना नगरिएको बताउंदै मेलाबाट आम्दानी कति र खर्च कति हुन्छ भन्नुभन्दा मेला आयोजनामा संघको तर्फबाट अतिरिक्त खर्च गर्न नपरोस भन्नेमा आफुहरु गम्भीर रहेको बताए। खर्च ब्यबस्थापन गर्नको लागि संघले पोखरा भित्र र बाहिरका ३० भन्दा बढी औधोगिक र ब्यबसायिक प्रतिष्ठानबाट विभिन्न किसिमको सहयोग लिने पत्रकार सम्मेलनमा वितरित प्रेस बिज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष कार्कीले अहिले हुन लागेको ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव, १२ औं क्यान  इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ बिगतका मेला महोत्सब भन्दा पृथक हुने दाबि गरे।  यस पटकको मेलालाई अर्थतन्त्रको आधारशिला एवं नवप्रवर्तनको केन्द्र बनाउने लक्ष्य राखिएको उनको दाबी थियो।

यस पटक हुने मेलाको आयोजक पोखरा उद्योग वाणिज्य संघ रहेपनि नेपाल उद्योग वाणिज्य महासंघ र महासंघ गण्डकी प्रदेश समितिलाई मेलाको संरक्षकको रुपमा राखिएको छ। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डलाई मेलाको प्रबर्दकको रुपमा राखिएको छ । यो मेलामा क्यान कास्की, नेपाल मोवाइल बितरक संघ गण्डकी, सिएसआइटी  एसोसियसन र पोखरा औद्योगिक क्षेत्र उद्योग संघले सहकार्य गरेको बुझिएको छ ।

मेलामा गण्डकी प्रदेश भित्रका ठूला, मझौला र साना उद्योगका उत्पादनका अलावा रोजगारी सिर्जना, नयाँ सम्भावनाको खोजी एवं अन्य प्रदेशका असल अभ्यासहरुलाई पनि समावेश गर्ने प्रयास भैरहेको र औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने लक्ष राखिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो।

“अन्य प्रदेशमा निजी क्षेत्रले अलम्बन गरेका असल अभ्यासलाई पनि प्रदर्शन गरौँ, सहकार्यको नयाँ अध्याय सुरुवात गरि  अन्य क्षेत्रबाट  गण्डकी प्रदेशमा लगानी आकर्षित गरौँ ” भन्ने लक्ष्य अनुरुप मुलुकका सातवटै प्रदेशको पहिचान बोकेका औद्योगिक उत्पादन, त्यहाँको संस्कृति एवं मौलिक रैथाने परिकारलाई समेत पोखरामा आयोजना हुने मेलामा समावेश गर्ने प्रयासमा आयोजक उद्योग बाणिज्य संघ लागेको छ । विभिन्न प्रदेशको उत्पादन र स्थानीय संस्कृतिको प्रदर्शनीले अन्य प्रदेशको निजी क्षेत्रसंग सहकार्य र सम्भावनाको नयाँ ढोका खुल्ने गरिएको संघका निबर्तमान अध्यक्ष पवन प्रजापतीको भनाई थियो।

अटो,औद्योगिक, मेड इन नेपाल, मोवाइल मेला यसपटक पनि समाबेश गरिएको छ । महिला उद्यमशिलता विकासको लागि मेलामा महिला उद्यमीका उत्पादनको प्रदर्शन र बिक्रीको व्यवस्था मिलाइएको छ यसका साथै स्वस्थ मनोरञ्जनका लागि सातवटै प्रदेशको प्रतिनिधित्व गर्ने खालका सांस्कृतिक कार्यक्रम एवं खानाका स्टल पनि मेलामा राखिने छ ।

 मोबाइल र सूचना प्रबिधि सम्बन्धि खेल र प्रतियोगिता हुने, हरेक दिन पांचजनालाई मोबाइल पुरस्कार दिईने 

यसपटक क्यान कास्कीसँगको सहकार्यमा हुने १२ औं क्यान इन्फोटेक २०२५ अन्तर्गत सूचना प्रबिधि क्षेत्रमा आएका नयाँ आविष्कार, सूचना प्रविधि उद्योगमा देखिएका नयाँ सम्भावना सहित सफ्टवेयर निर्माण एवं यसको बजार, आइटीसँग सम्बन्धित खेल र प्रतियोगिता पनि महोत्सवको आकर्षण बन्ने क्यान कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले ब्यक्त गरे ।

यसैगरि मोवाइल बितरक संघ, गण्डकीसँगको सहकार्यमा आयोजित चौथो मोवाइल एक्सपो अन्तर्गत मोवाइल खरिदमा ५० प्रतिशतसम्म छुटको  व्यवस्था सहित एक्सचेञ्ज अफर, किस्तामा मोवाइल फोन खरिदको प्याकेज मेलामा रहनेछ मेलामा जाने दर्शक मध्येबाट हरेक दिन पांच जनालाई डोर प्राइजको रुपमा ५ वटा मोवाइल उपलब्ध गराइने भएको मोबाइल वितरक संघ गण्डकीका अध्यक्ष मनोहर श्रेष्ठले जानकारी दिए ।

सांस्कृतिक कार्यक्रममा राजस्थानको सांस्कृतिक टोलि बाहेक गण्डकी प्रदेशका कलाकार मात्र 

बिगतका मेला र महोत्सबमा राष्ट्रिय स्तरका कलाकार भनेर विभिन्न स्थानका कलाकारहरुलाई आमन्त्रण गर्ने गरिएको भएपनि यस पटकको मेलामा भने गण्डकी प्रदेशका कलाकारहरुलाई नै संस्कृतिक कार्यक्रममा समाबेश गराइने भएको छ। मेला अबलोकन गर्न जाने दर्शकलाई मनोरंजन दिलाउने क्रममा लोकगीत, दोहोरीगीत, आधुनिक गीत लगायत विभिन्न जातीय एबम परम्परागत गीत र नृत्य समेत प्रस्तुत गरिने सांस्कृतिक उपसमितिका संयोजक ललितबहादुर कुँवरले गुरुकुल खबरलाई जानकारी दिए।

संयोजक कुँवरका अनुसार गण्डकी प्रदेश सहित सात वटा प्रदेशको संस्कृति र परम्परा झल्किने गरि विभिन्न प्रस्तुति समेत दिईने भएको छ देश भित्रको संस्कृति मात्र नभएर यस पटक भारतको राजस्थानको संस्कृति र परम्परा प्रस्तुत गर्नको लागि भारतीय राजदुताबासको समन्वयमा राजस्थानी कलाकारहरुको एक टोलि समेत पोखरा आउने भएको छ।

सांस्कृतिक कार्यक्रम संचालकको रुपमा गण्डकी प्रदेश बाहिरबाट मंजू पौडेल सहभागी हुने तर अन्य सबै कलाकारहरु गण्डकी प्रदेशभित्रका रहने जानकारी दिंदै संयोजक कुँवरले भने। “कलाकारहरु पशुपति शर्मा, रामजी खांड, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, पुरुषोत्तम नेउपाने, शिब हमाल, श्रीकृष्ण बम मल्ल, रञ्जन कार्की, पार्वती जिसी. तुलसा क्षेत्री, कला लम्साल, मंजू बिक लगायतले विभिन्न गीत संगीत र नृत्य एबम हास्यब्यङ्ग मार्फत मेलामा पुगेका दर्शकहरुलाई मनोरंजन दिलाउने छन।”

यसपटकको मेलामा बाल उद्यान लगायत विभिन्न पिंग लगायतका खेलहरु भने नराखिने भएको छ। यस अगाडी मेलामा राखिएको पिंग खेल्दै गर्दा दुर्घटना भएर दर्शक घाइते भएको कारण पिंग राख्न छोडिएको अनुमान गरिएको छ।

५ सय १ जनाको मूल समिति र विभिन्न २७ वटा उपसमिति गठन 

मेला सम्पन्न गर्न संघका अध्यक्ष गोकर्ण कार्की संयोजक रहेको ५ सय १ सदस्यीय मुल आयोजक र कार्य सम्पादन समितिको साथै सल्लाहकार समिति र विभिन्न २७ वटा उपसमितिहरु गठन गरिएको छ। मेला अबलोकनको लागि ५० रुपैया प्रवेश शुल्क राखिएको भएपनि संघका साधारण सदस्य, जेष्ठ नागरिक,अपाङ्ग, पोशाकमा रहेका सुरक्षाकर्मी र विद्यार्थीको हकमा भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी संघका महासचिब शोभा गौतमले दिईन।

मेला सम्पन्न गर्न गठित विभिन्न उपसमितिहरुमा अतिथि ब्यबस्थापनमा निबर्तमान अध्यक्ष पवन प्रजापती, स्टल निर्माणमा बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्दचार्य, प्रायोजक ब्यबस्थापनमा उपाध्यक्ष दिनेशचन्द्र बाँस्तोला, सुरक्षा ब्यबस्थापनमा उपाध्यक्ष बलराम आचार्य, आर्थिक ब्यबस्थापनमा कोषाध्यक्ष मनोज कुमार श्रेष्ठ, प्रकाशन तथा उपहारमा उपमहसचिब सुदीप प्रधानांगलाई संयोजक राखिएको प्रचार संयोजक मनोहरी पौडेलले गुरुकुल खबरलाई जानकारी दिए।

यसैगरी संघका कार्यसमिति सदस्य ललित बहादुर कुँवरलाई सांस्कृतिक ब्यबस्थापन, भिम गौतमलाई स्थानीय समन्वय एबम पार्किंग,टिकाराम सुबेदीलाई स्टल बिक्रि ब्यबस्थापन, जीबनप्रकाश श्रेष्ठलाई स्टेज र मूल गेट ब्यबस्थापन, रामचन्द्र तिमिल्सिनालाई कृषि ब्यबस्थापन, बन्दना कार्की केसीलाई हस्तकला तथा महिला परिचालन, रामप्रसाद कंडेललाई संयोजक राखिएको छ। यसैगरि बिजुली तथा टेलीफोन ब्यबस्थापन, सूर्यराज घिमिरेलाइ स्वास्थ्य, दुर्गा बराललाई रेस्टुरेन्ट ब्यबस्थापन, पृथ्वीराज तिमिल्सिनालाई ब्यानर र बस्तुगत संघ समन्वय, एकनारायण गौतमलाई खानेपानी र सरसफाई, कमल बहादुर सुनारलाई यातायात ब्यबस्थापन, नबिन पौडेललाई सीएसआइटी समन्वय र मनोहारी पौडेललाई प्रचार प्रसार उपसमितिको संयोजकको जिम्मेवारी दिईएको छ।

 

८ माघ २०८१, मंगलवार १५:३७ मा प्रकाशित
Nabintech