Play

साठी लाख धरौटी बुझाएर छुटे रबि, आँफुमाथिको मुद्धा खारेज हुनुपर्ने जिकिर

रबि लामिछाने प्रस्तुत वारदातमा कसूरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएको काठमाडौँ जिल्ला अदालतको निष्कर्ष


गुरुकुल खबर


काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एबम पूर्व उपप्रधानमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौँमा ६० लाख धरौटी बुझाएर उनी रिहा भएका छन। बुधबार जिल्ला अदालत काठमाडौँमा ६० लाख रुपैयाको प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको रुपमा उनले बुझाएका थिए ।

यस अघि पोखरामा पनि उनले ६५ लाख रुपैया धरौटी बुझाएर रिहा भएका थिए। कास्की जिल्ला अदालतमा भएको थुनछेक बहस पछि उनलाई सुर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धि मुद्दामा ६५ लाख धरौटी लिएर छाडिएको थियो। पोखरा पछि काठमाडौँमा गरेर उनले १ करोड २५ लाख रुपैया अदालतले भन्ने बित्तिकै धरौटी बुझाएर हिरासत मुक्त भएका छन्। उनि माथि चितवन बिरगंज र रुपन्देहीमा समेत सहकरी सम्बन्धि मुद्दा चलिरहेको र त्यहाँ थुनछेक बहस हुन बाँकि नै छ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको थियो । थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले सो आदेश दिएको हो ।

काठमाडौँ जिल्ला अदालतको आदेशमा भनिएको छ, ‘अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसूरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएकोले प्रस्तुत मुद्दाको प्रकृति समेतलाई मध्यनजर राखी मुद्दाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी रवि लामिछानेबाट रु.६०,००,०००/- (साठी लाख रुपैयाँ) नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारेखमा राख्नु ।’

बुधबार रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए । उनीहरू दुवैले लामिछाने निर्दोष रहेको र तारेखमा मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने जिकिर गरेका थिए । दुई जनाको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको थियो । त्यस्तै, पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले जवाफी बहस गरेका थिए ।

लामिछानेले अनुसन्धान अधिकारी र अदालत समक्षको बयानमा इन्कारी बयान गरेता पनि उनीमाथि किटानी जाहेरी दरखास्त रहेको देखिएको अदालतको आदेशमा उल्लेख छ । लामिछानेले अदालतमा आफू गोर्खा नेटवर्क मिडिया प्रा.लि. को प्रबन्ध निर्देशक रहेको, गोर्खा मिडिया नेटवर्क प्रा.लि.बाट सेयर खरिद गरी नलिएको, आफूलाई प्राप्त भएका सेयर स्वेट सेयर बापत पाएको हुँ भनेर बयान दिएका थिए ।

यसैगरी, गोर्खा मिडियाबाट राजीनामा दिई छोडेर जाँदा पनि सेयरको पैसा नलिई तेतिकै सेयर हस्तान्तरण गरेर गएको लामिछानेले बयानमा भनेका थिए । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा नेटवर्क मिडिया प्रा.लिको खातामा आएको रकमका बारेमा आफूलाई केही थाहा नभएको र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट आफूले कुनै रकम नलिएको भन्दै आफू निर्दोष छु भनेर उनले इन्कारी बयान दिएका थिए ।

यसैबीच लामिछानेले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा आफू विरुद्धको मुद्दा खारेज हुनुपर्ने जिकिर गरेका छन् । काठमाडौँ जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसका क्रममा उनले आफुलाई लगाइएको मुद्दाको प्रक्रिया नै पूरा नभएकाले यसलाई खारेज गर्नुपर्ने दाबी गरेका थिए । प्रक्रिया पूरा नहुँदा आफ्नो नागरिकता खारेज भएको स्मरण गराउँदै उनले यो मुद्दा पनि सोही तरिकाले आएकाले यसलाई खारेज गरिनुपर्ने बताए ।

‘ड्यु प्रोसेस पूरा नगरेको अवस्थामा मेरो नागरिकता खारेज भयो र मैले अर्को नागरिकता लिनुपर्‍यो,’ उनले भने, ‘प्रक्रिया पूरा नहुँदा के हुन्छ भन्ने नजिर म आफैँ हुँ । यो मुद्दा पनि ड्यु प्रोसेस पूरा नगरी आएको हुँदा यसलाई खारेज गर्नुपर्छ ।’

उनले आफ्नो लोकप्रियताको आधारमा गोर्खा मिडिया नेटवर्कमा १५ प्रतिशत सेयर दिइएको र त्यसको प्रक्रिया पूरा गर्नका लागि मात्र आफूले कम्पनी रजिस्ट्रारको कार्यालयमा गएर हस्ताक्षर गरेको दाबी गरे ।

 

२ माघ २०८१, बुधबार १९:५० मा प्रकाशित
Nabintech