पोखरा, पोखरा उद्योग वाणिज्य संघकाले यही माघ १० गतेदेखि पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रथम आइटी महोत्सव गर्ने भएको छ। संघले लामो समयदेखि पोखरामा राष्ट्रिय औधोगिक व्यापार मेलाको आयोजना गर्दै आएको छ
मेलाको तयारीको क्रममा मंगलबार आयोजना गरिएको बस्तुगत संघसंस्थाका प्रतिनिधिहरुसँगको बैठकमा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले मेला उद्यमशिलता विकासको उद्देश्यले आयोजना गरिएको र त्यसमा व्यापार संगै प्रबर्धन र नयाँ सम्भावनाका खोजी गरिने जानकारी दिए ।
‘संघले नेपालमै पहिलोपटक मेला आयोजना गर्दा जे उद्देश्य बोकेको थियो, अहिले हामी त्यही बिन्दुबाट अगाडि बढ्ने जमर्को गर्दैछौँ, उनले भने ‘मेलामा सूचना प्रवधि,महिला उद्यमी र उद्योगहरुका उत्पादन प्रदर्शनी हुनेछ मेला सिक्ने ठाउँ हो, मनोरञ्जन पनि चाहिएला तर अब हामी मनोरञ्जनात्मक गतिविधि कम र प्रबर्दनात्मक गतिबिधि धेरै गर्नेछौँ ।’
अध्यक्ष कार्कीका अनुसार मेला सम्पन्न गर्न ५ सय १ सदस्यीय मूल आयोजक समिति र २७ वटा उपसमिति सहित कार्यसम्पादन समिति गठन भइसकेको छ । नेपालको विभिन्न स्थानमा उत्पादित औद्योगिक,हस्तकला तथा खाद्य परिकारहरुको प्रदर्शनका निम्ति आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले गण्डकी सहित सातवटै प्रदेश सरकारसँग समन्वय गरिरहेको छ ।
‘मेलामा गण्डकी सहित सातवटै प्रदेशका सरकारसँग त्यहाँका उत्पादनहरुलाई पोखराको मेलामा प्रदर्शनको व्यवस्थाका लागि अनुरोध गरेको उनले बताए सांस्कृतिक समूह पनि हरेक प्रदेशबाट आउने भएकोले यो मेला पूर्व मेचीदेखि पश्चिम महाकालीका उत्पादन, संस्कृति र खानाको त्रिवेणीको रुपमा लिन सकिने आयोजकहरुको बिश्वास छ।
आइटी महोत्सवअन्तर्गत सूचना प्रविधि क्षेत्रका पछिल्ला उत्पादन एवं त्यससँग सम्बन्धित नयाँ जानकारीहरु प्रबाह गर्ने व्यवस्था मिलाइएको बताईएको छ ।
बैठकमा बोल्दै संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले उद्घाटनको दिन नजिकिँदै गर्दा आन्तरिक तयारी तीव्र पारिएको बताए ।
संघका महासचिव शोभा गौतमका अनुसार कम्प्यूटर एसोसियसन पोखरा, मोवाइल बितरक संघ एवं पोखरा औद्योगिक क्षेत्र उद्योग संघ सँगको सहकार्यमा हुन लागेको मेलालाई सिर्जनशिलतासँग जोड्नका लागि विशेष पहल गरिएको छ ।
बैठकमा सहभागी बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुले संघको आयोजनामा हुने मेलालाई हर तरहले सघाउने प्रतिवद्धता जनाएका थिए ।