पोखरा, पोखरा महानगरपालिका -२३ का एकजना ८० बर्षीय वृद्धले आंफुले बृद्ध भत्ता बापत प्राप्त गरेको रकम सरस्वतिको मन्दिर निर्माणमा खर्च गरेका छन। पोखरा -२३ हर्पनका बयोबृद्ध खिमलाल पौडेलले पोखरा -२३ ठुलाखेत स्थित सिद्धवराह माध्यमिक विद्यालय माझथुमको हातामा सरस्वती मन्दिर निर्माणको लागि बृद्ध भत्ता बापत प्राप्त गरेर संकलन गरेको चार लाख रुपैया दान गरेका हुन ।
हाल भारतको वनारसमा रहेका पौडेलले आफुले प्राप्त गरेको स–सानो दान रकम र नेपाल सरकारले प्रदान गरेको ज्येष्ठ नागरिक भत्ता संकलन गर्दै आएका थिए । हाल वनारसको एक आश्रममा सन्यासी जिवन विताईरहेका पौडेल अहिले श्री १०८ स्वामी खेलन आश्रम नामले पनि चिनिन्छन् ।
उनले त्यहाँ वस्दा जम्मा गरेको केहि रकम र नेपालमा प्राप्त गरेको भत्तासमेत गरि चार लाख रुपैया जुटाएर मन्दिर निर्माणको लागि सहयोग गरेको जानकारी सहयोगदाता खिमलाल पौडेलका भतिज निर्मल पौडेलले दिएका छन् । पौडेलकी श्रीमती, तिन छोरा, तिन बुहारी, दुई छोरी र १० जना नातिनातिना रहेको र उनीहरु नेपालमा नै रहेका छन।
विगत केहि बर्षयता पौडेलले आफ्नो मनमा मन्दिर बनाउने चाहना रहेको भन्दै आएका थिए । उनले पोखरा आएको बेला विद्यालयमा गएर मन्दिर बनाउन सहयोग गर्ने आफ्नो इच्छा रहेको समेत बताउंदै आएको बिद्यालयका प्रधानाध्यापक बद्रिनाथ पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए ।
उनले ‘सरल यति सन्ध्या’ नाम गरेको पुस्तक पनि लेखेका छन् । वनारसबाट नै उक्त पुस्तक प्रकाशित भएको छ । मन्दिरको शिलान्यास यहि पौष २७ गते शनिवार निज खिमलाल पौडेल, गण्डकी प्रदेशमा नेपाली काँग्रेसका सांसद प्रकाश वराल र पोखरा वडा नं २३ का वडा अध्यक्ष रामकाजी गुरुङले संयुक्त रुपमा गरेका थिए ।
”विद्यालयमा अन्य भौतिक संरचना राम्रो भएपनि एउटा मनिदरको आवश्यकता थियो” विद्यालयका प्रधानाध्यापक वद्रीनाथ पराजुली वताउँछन् ।
वडाध्यक्ष रामकाजी गुरुङ र प्रदेश सांसद प्रकाश वरालले मन्दिर निर्माण गर्दा अपुग हुने रकम आफूहरुले व्यवस्था गर्ने वताए ।
शिलान्यास कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुदत्त पराजुलीको सभापतित्वमा भएको थियो । शिलान्यास समारोहमा सिद्धवराह गुरुकुल सन्यास आश्रम माझथुमका बटुकहरुले स्वस्ती बाचन गरेका थिए ।