मुस्ताङ, ललितपुर महानगर र मुस्ताङकोे घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । आफ्ना प्रतिनिधिसहित मुस्ताङ पुगेका महानगर प्रमुख चिरीबाबु महर्जन र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले शनिबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।
घरपझोङ गाउँपालिका मुस्ताङ जिल्लामा रहेको एक स्थानीय तह हो । पूर्वाधार निर्माण, सामाजिक विकास, सम्पदा संरक्षण, पर्यटन प्रबर्दनका असल अभ्यास आदानप्रदान गर्न भगिनी सम्बन्ध कायम गरिएको हो ।
समझदारी पत्रमा हस्ताक्षरपछि नगर प्रमुख चिरीबाबु महर्जनले सम्पदा संरक्षण र अन्य आवश्यक क्षेत्रमा ललितपुर महानगरले सहयोग गर्ने बताए । उनले भने, ‘ प्रकृतिले यो पालिकालाई छताछुल्ल वरदान दिएको रहेछ , यसको संरक्षण गर्न हामी कुनै न कुनै रुपमा जोडिने छौँ । ’ विना टेण्डर महानगरले निर्माण गरेका मूर्त सम्पदा र सडक निर्माण घरपझोङले अनुसरण गर्न सक्ने बताए ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भगिनी सम्बन्धपछि आफूलाई अभिभावक पाएको महसुस भएको बताए । नगरप्रमुख सहितको प्रतिनिधि मण्डल पालिकामा आएकोमा खुशी व्यक्त गर्दै उनले हिमालपारिको जिल्ला भएकोले गर्नुपर्ने काम प्रशस्तै भएपनि वार्षिक बजेट न्यून हुँदा काम गर्न असहज भएको बताए । उनले स्वास्थ्य शिक्षा, पूर्वाधार निर्माणमा गाउँपालिकाले गरेको कामको चर्चा गरे ।
घरपझोड गाउँपालिकाका उपाध्यक्ष जमुना थापा मगरले घरपझोङ गाउँपालिका हिमाल पारीको जिल्लाको पालिका भएकाले धेरै कुरामा पछि भएको बताउँदै ललितपुर महानगरबाट धेरै कुरा सिक्न सक्ने बताइन् । उनले भनिन्, ‘ हाम्रोमा गर्नुपर्ने काम धेरै छन्, देशभर नै नाम कहिलिए र अग्रणीे ललितपुर महानगरपालिकासँग सिकेर धेरै गर्नुछ । ’
ललितपुर महानगरका प्रवक्ता एवम वडा नं.९ का वडा अध्यक्ष राजु महर्जनले घरपझोङ गाउँपालिका र ललितपुर महानगरको संस्कृति र सभ्यताबीच एकरुपता रहेको बताए । घरपझोङसहित पाँचवटा पालिकासँग महानगरले भगिनी सम्बन्ध कायम गरेको बताउँदै भगिनी सम्बन्धले पालिकाबीच असल अभ्यास आदानप्रदान गर्न सजिलो हुने धारणा राखे ।
ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले भगिनी सम्बन्ध कायम भएपछि धेरैवटा ढोका खुल्ला खुलेको बताइन् । उनले भनिन् , एक अर्काको विकासमा साझेदार हुन, एक अर्काको असल अभ्यासहरुको अनुकरण र अनुसरण गर्न अब धेरै सहज हुन्छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले दुई पालिका दरिलो सम्बन्धमा बाधिएको बताउँदै देशकै अग्रणी पालिका र दुर्गम जिल्लामा रहेको पालिकाबीच गाँसिएको सम्बन्धले घरपोझोङ गाउँपालिका लाभान्वित हुने धारणा राखे ।
वडा नं.२ का वडा अध्यक्ष मनबहादुर हिराचनले भगिनी सम्बन्ध स्थापना हुँदा खुशी व्यक्त लागेको बताए । यो पालिका मुख्य पेशा कृषि र पर्यटन भएको बताउँदै पालिकाले पनि यी क्षेत्रलाई नै प्राथमिकतामा राखेको जानकारी दिए ।
विं.सं.२०७३ सालको स्थानीय निर्वाचन अघि मुस्ताङ जिल्लाका साविकाका मार्फा, टुकुचेको दुई वटा वडाहरु जोमसोस गाउँ समितिलाई समेटेर घरपझोड गाउँपालिका घोषणा गरिएको हो । यो गाउँपालिकामामा ५ वटा वडाहरु छन् ।
एक तथ्याङ अनुसार तीन हजार एक सय ८४ जनसंख्या रहेको छ । वडा नं.२ का वडा अध्यक्ष मनबहादुर हिराचनले भगिनी सम्बन्ध स्थापना हुँदा खुशी लागेको बताए ।