काठमाडौँ, बिहीबारदेखि मुलुकका विभिन्न स्थानमा आएको अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या करिब १ सय ५० पुगेको छ । प्रहरी प्रधान कार्यालयले जनाए अनुसार आइतबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १ सय ४८ जना पुगेको छ। तर ५५ जना भन्दा बढी बेपत्ता रहेको कारण मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ बेपत्ता हुनेहरुको खोजि भैरहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले ३ हजार ६ सय ६१ जना भन्दा बढीको उद्धार गरेको जनाएको छ । उद्वार गरिएका हरुमध्ये १ सय १ जना घाइते समेत रहेको र विभिन्न ठाउँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत पनि उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ।
मृतकमध्ये अधिकांश शनिबारको बाढी–पहिरो र डुबानका घटनामा परेका हुन् । अविरल वर्षापछि पहिरोमा पुरिएर धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा मात्रै ३५ जनाको मृत्यु भएको छ । झ्याप्लेखोलामा आएको पहिरोमा परि चारवटा यात्रुबाहक बस पुरिएको कारण ति बसमा यात्रा गर्नेहरुको मृत्यु भएको हो।
यस्तै अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा सडक तथा राजमार्ग अबरुद्द बनेको र खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । त्यसैगरी मुख्य राजमार्गहरू मध्ये केहि पनि अझै अवरूद्ध अवस्थामा छन्। काठमाडौं भित्रिने नाका पृथ्वी राजमार्गस्थित धादिङको झ्याप्ले खोलामा पहिरो जाँदा अवरूद्ध भएको सडक एकतर्फी चलाउन पहल भैरहेको छ ।
काठमाडौँ उपत्यकामा मात्र मृत्यु हुनेको संख्या ५२ पुग्यो
यसैबीच शनिबार आएको बाढी-पहिरोले काठमाडौं उपत्यकामा मात्र मृत्यु हुनेको संख्या ५२ पुगेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी विनोद घिमिरेका अनुसार आइतबार साँझ ६ बजेसम्म मृतकको संख्या ५२ पुगेको हो। ज्यान गुमाउनेमा सबैभन्दा धेरै ललितपुरमा छन्।
घिमिरेका अनुसार काठमाडौंमा १७ जना, ललितपुरमा ३० जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ। त्यस्तै काठमाडौंबाट दुई जना र ललितपुरबाट ७ जना बेपत्ता रहेको खबर छ।
अहिलेसम्म काठमाडौंका १ हजार ४ सय ४२ जना, ललितपुरका ६ सय ५७ जना र भक्तपुरका ५६ जना गरी २ हजार १ सय ५५ जनाको उद्धार भएको छ। काठमाडौंमा १८ जना, ललितपुरमा १० जना र भक्तपुरमा ३ जना बाढी पहिरोमा परि घाइते भएको र ललितपुरमा घाइते भएका ९ जना अस्पतालबाट डिस्चार्ज समेत भइसकेको प्रहरीको भनाई छ।