Play

पोखरा र भैरहवाबाट अन्तराष्ट्रिय उडान गर्न आबश्यक सबै पहल भैरहेको छ- पर्यटनमन्त्री पाण्डे

गुरुकुल खबर


पोखरा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि प्रसाद पाण्डेले पोखरा विमानस्थल र भैरहवा विमानस्थलबाट अन्तराष्ट्रिय उडान गर्नको लागि आँफुले सम्हालेको मन्त्रालय र नेपाल सरकारको तर्फबाट आबश्यक सबै किसिमको पहल भैरहेको बताएका छन।

नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री समेत रहेका नागरिक उड्डयन मन्त्री पाण्डेले पोखरा र भैरहवाबाट अन्तराष्ट्रिय उडान गराउनको लागि आंफुले भारत र चीन सरकारका अधिकारीहरुसंग समेत कुरा गरेको र नेपाल सरकारको विभिन्न तहबाट पनि यो बिषयलाई उच्च प्राथमिकतामा राखेर पहल भैरहेको बताए।

नेपालमा विमानस्थल धेरै भएपनि बिमान कम भएको र ति बिमान उड्ने नेपाली आकाश समेत सुरक्षित नभएको सन्देश प्रबाह हुँदा पर्यटकको आगमन बढ्न नसकेको बताउंदै पर्यटन मन्त्री पाण्डेले नेपालको भूगोलका कारण सडक यातायात भन्दा नेपाली आकाश मार्ग समयको कारणले सुनिश्चित र सुरक्षित छ भन्ने सन्देश बिदेशमा पुर्याउन आबश्यक रहेकोमा जोड दिए।

नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री पाण्डेले पोखरा र भैरहवाबाट अन्तराष्ट्रिय उडान गर्न सकेमा भारतीय हिन्दु र अन्य विभिन्न मुलुकका बौद्ध धर्मावलम्बीको ठुलो संख्या नेपालमा भित्र्याउन सकिने उल्लेख गरे ।

मुलुकमा राजनीतिक अस्थिरता बढ्दै गएको कारण नेकपा एमालेसंग मिलेर सरकार बनाउनुपरेको स्पष्ट पार्दै काँग्रेस सहमहामन्त्री पाण्डेले भने – “राजनीतिक अस्थिरताको कारण धेरै खालका अस्थिरता बढ्दै गएपछि सबै किसिमको अस्थिरता अन्त्य गर्नको लागि एमाले र काँग्रेसको बिचमा सहकार्य भएको हो । अब यो सहकार्यलाई २०८४ को चुनाब सम्म लैजाने र त्यसपछि स्वस्थ प्रतिष्पर्धा गर्नुपर्ने अबस्था छ।”

काँग्रेस सहमहामन्त्री पाण्डेले एमालेसंग मिलेर सरकार चलाउँदा मन्त्री स्तरमा, पार्टीको विभिन्न तहमा एबम कार्यकर्ता तहमा दुई पार्टीको सम्बन्ध के कस्तो हुने भन्ने सम्बन्धमा पार्टीले स्पष्ट नीति बनाउनुपर्ने र स्वस्थ प्रतिष्पर्धा गर्ने किसिमले नै सहकार्य हुनुपर्ने आफ्नो धारणा रहेको समेत स्पष्ट पारे।

नेपाल जातीय एबम भाषिक दृष्टिकोणले मात्र नभएर भौगोलिक र प्राकृतिक दृष्टिकोणले समेत बिबिधतायुक्त मुलुक रहेको बताउंदै संस्कृति मन्त्री पाण्डेले भने, “अहिले नेपालमा ८ वटा भाषा थपेर १ सय ३१ वटा बोलीचालीको भाषा पुगेको छ। यसका साथै यहाका हिमशृंखला र जलजंगल समेतको बिबिधतालाई अन्तराष्ट्रिय स्तरमा प्रबर्धन गर्न सक्ने हो भने नेपालको पर्यटकीय विकासले गति लिने र आर्थिक रुपमा समेत देशलाई समृद्ध बनाउन सकिन्छ।”

यसै प्रसंगमा उनले भने “फिजीमा कुल गार्हस्थ उत्पादनमा ८० प्रतिशत र माल्दिभ्समा कुल गार्हस्थ उत्पादनमा ४० प्रतिशत योगदान पर्यटन क्षेत्रले  दिएको छ तर नेपालमा भने पर्यटन बिकासका थुप्रै सम्भावना रहेपनि ५/६ प्रतिशत मात्र पर्यटन क्षेत्रबाट योगदान रहनु चिन्ताको विषय हो। ”

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाली काँग्रेसबाट सरकारमा गएका मन्त्रीहरुले  चुनौतीको सामना गर्दै देश र जनताको पक्षमा परिणाम दिने गरि काम गर्न आग्रह गरे ।  शिक्षा, संस्कृति र परम्परालाई बिग्रिन दिन नहुने बताउंदै उनले कांग्रेस गण्डकी प्रदेशले प्रदेशको बिकासको लागि ‘संकल्प’ तयार गरेकोले त्यसको आधारमा गण्डकी प्रदेशको विकास अगाडी बढोस भन्ने आफुहरुको चाहना रहेको स्पष्ट पारे ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रबक्ता माधब प्रसाद बाँस्तोला मधुले पार्टी र सरकार बिच समन्वयको आबश्यकता औल्याउंदै आम सर्बसाधारण र पार्टीका कार्यकर्तालाई निराश हुन नदिने गरि मन्त्रीहरुले काम गर्नुपर्ने बताए।

कांग्रेस नेता एबम पर्यटन मन्त्री पाण्डे मंगलबार नै नेपाली काँग्रेस कास्कीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा समेत सहभागी भएको थिए ।

पर्यटनमन्त्री पाण्डे बुधबार पोखरामा हुने ‘पोखरा पर्यटकीय राजधानी – नीति सम्बाद कार्यक्रम’ मा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम रहेको छ । कार्यक्रममा सात वटै प्रदेशका पर्यटन मन्त्रीहरुको समेत सहभागिता रहने छ कार्यक्रममा पोखरा र पर्यटन संग सम्बधित विभिन्न बिषयमा कार्यपत्र प्रस्तुत हुने र छलफल गरिने जानकारी आयोजकले दिएका छन।

८ आश्विन २०८१, मंगलवार २०:२५ मा प्रकाशित
Nabintech