Play

रबि पक्राउ पर्ने चर्चासंगै पार्टी कार्यालयमा भिड, पूर्व डीआइजी जोशीलाई बिमानबाट पोखरा ल्याईयो

गुरुकुल खबर


पोखरा,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति एबम पूर्व गृहमन्त्री रबि लामिछानेलाई सहकारीको रकम अपचलन गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरिएको चर्चासंगै रास्वपाले काठमाडौं उपत्यकामा रहेका आफ्ना नेता कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय वनस्थली आउन निर्देशन दिएको छ।

आइतबार साँझपख बागमती प्रदेश समितिका सभापति अच्युतम लामिछानेले ह्वाट्स एपमा सन्देश पठाउँदै पार्टी केन्द्रीय कार्यालय आउन निर्देशन दिएपछि पार्टीका कार्यकर्ताहरु केन्द्रीय कार्यालयमा जम्मा हुने क्रम जारी छ। पार्टी सभापति रवि लामिछानेसहितका नेता-कार्यकर्ता अहिले वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा जम्मा भएर बसेका छन।

गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक रहेका छविलाल जोशी पक्राउ परेको र सभापति लामिछानेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको हल्ला चलेपछि यसबारेमा चासो राख्दै नेताहरू पार्टीको केन्द्रीय कार्यालय पुगेका हुन्।  कास्की जिल्ला अदालतका न्यायाधिस कृष्णजंग शाहको इजलाशबाट सहकारीको रकम अपचलनमा मुछिएका भक्तपुर निवासी रबि लामिछानेलाई पक्राउ पुर्जी जारी गरिएको चर्चाले रास्वपा भित्र तरङ्ग उत्पन्न भएको हो। लामिछानेलाई पक्राउ पुर्जी जारी गरिएको सम्बन्धमा हाल सम्म कुनै सरकारी अधिकारीले जानकारी दिएको भने छैनन तर सामाजिक संजालमा पुर्जी जारी गरिएको चर्चाले ब्यापकता पाएको छ ।

‘तत्काल पार्टी केन्द्रीय कार्यालय आउनु भनिएको छ। कारण खुलाइएको छैन,’ एक नेताको भनाइ उद्धृत गर्दै एक कार्यकर्ताले गुरुकुल खबरसंग भने, ‘छविलाल जोशी पक्राउ परेको सूचना आएलगत्तै सभापति लामिछाने पार्टी केन्द्रीय कार्यालय पुग्नुभएको छ।’

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई आइतबार नै पक्राउ गरेको हो । उनलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् । पूर्व गृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अपचलन भएको सहकारी छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रहरीले पक्राउ गरेका पूर्व डिआईजी जोशीलाई आइतबार साँझ नै बुद्ध एयरको फ्लाइटबाट पोखरा ल्याउने तयारी गरिएको छ। सहकारी संस्थाका बचत अपचलनमा संसदीय विशेष छानबिन समितिले कारबाही सिफारिस भएपछि पक्राउ परेका जोशीलाई आइतबार राति ८ बजेको फ्लाइटबाट पोखरा ल्याउने तयारी गरिएको उच्च स्रोतले बतायो।

प्रहरी उच्च स्रोतका अनुसार उनलाई जरूरी पक्राउ पुर्जी थमाएर पक्राउ गरिएको थियो। उनलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराउने तयारी छ। उनलाई सुर्यदर्शन सहकारीको बचत अपचलनसम्बन्धी विषयमा पक्राउ गरिएको प्रहरीको भनाइ छ।

यसअघि जोशीको घरबाट प्रहरीले सहकारीसम्बन्धी डाटा रहेको सफ्टवेयर पनि बरामद गरेको थियो। उनीसँग सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सोधपुछसमेत गरेको थियो।

ग्यालेक्सी टेलिभिजन सञ्‍चालन गर्ने संस्था गोर्खा मिडियामा जोशीको ३५ प्रतिशत सेयर थियो। टेलिभिजन सञ्चालन भएको केही समयपछि उनले गोर्खा मिडिया छाडेका थिए। उनले छाडेपछि उक्त सेयर पनि अध्यक्ष जिबी राईकै नाममा रह्यो।गोरखा मिडिया नेटवर्कको तत्कालीन सञ्चालक समिति सदस्य रहेका लामिछाने र जोशीलाई कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको थियो ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई, लामिछाने र जोशी व्यापारिक साझेदार हुन् । जोशीमाथि सहकारीको बचत अपचलनबारे सिआइबीले पनि अनुसन्धान गरेको थियो। संसदीय छानबिन समितिको प्रतिवेदनमा विभिन्न सहकारीबाट गोर्खा मिडियामा बचत रकम आएकोबारे आफू अनविज्ञ रहेको जोशीले बयान पनि दिएका थिए।

गोर्खा मिडियामा पोखराको सुर्यदर्शनलगायत सहकारीबाट बचत रकम आएको संसदीय छानबिन समितिको प्रतिवेदनको निष्कर्ष छ।

गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयलाई संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए। उक्त निर्देशन दिएको केही समयमै जोशी पक्राउ परेका हुन्।

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई पनि कारबाही सिफारिस गरेको छ।

६ आश्विन २०८१, आईतवार २०:४० मा प्रकाशित
Nabintech