Play

लामिछानेलाई ४३ वटा प्रश्न, नौ घण्टासम्म संसदीय समितिसंग बयान र छलफल

गुरुकुल खबर


काठमाडौँ,  सहकारी ठगी सम्बन्धी विशेष संसदीय छानबिन समितिले शुक्रबार अपराह्न साढे ४ बजेबाट रवि लामिछानेसँग सोधपुछ गरेको थियो। समितिले पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीबाट उनी एमडी भएको गोर्खा मिडिया नेटवर्कले रकम अपचलन गरेको विषयमा सोधपुछ गरेको हो।

शुक्रबार अपराह्न ४ बजेदेखि सुरू भएको सोधपुछ प्रक्रिया सबै सकिँदा शनिबार बिहान करिब एक बजेको थियो।

समितिले सुरूमा लामिछानेलाई छानबिन समितिको कार्यविधिबारे प्रस्ट पार्‍यो। लामिछानेले आफ्ना सहयोगीलाई बैठकमा कक्षमा सहयोगका लागि प्रवेश दिन आग्रह गरे। तर समिति सभापति सूर्य थापाले कार्यविधि अनुसार सोधपुछका लागि नाम तोकिएका व्यक्तिलाई मात्र प्रवेश दिइने जानकारी गराए।

समितिले लामिछानेलाई सोध्न ४३ वटा प्रश्न तयार पारेको थियो। सभापति थापाले नै सबै प्रश्न सोधे। सांसदले चाहेमा सभापतिको अनुमतिमा पूरक प्रश्न सोध्न सकिने व्यवस्था थियो। नेपाली कांग्रेसका इश्वरी न्यौपाने र दिलेन्द्र बडु र माओवादीका लेखनाथ दाहालले पूरक प्रश्न सोधे। त्यहाँ उपस्थित एमालेकी सरिता भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले भने कुनै प्रश्न सोधेनन्।

सांसदहरूले लामिछानेलाई कुल ५१ वटा प्रश्न सोधे। सोधपुछ क्रममा लामिछाने सामान्य ढंगमै प्रस्तुत भएका थिए।

‘उहाँ कुनै पनि प्रश्नमा उत्तेजित र आक्रोशित हुनुभएन,’ एक सांसदले सेतोपाटीसँग भने, ‘कतिपय बेला बरू भावुक हुनुभयो।’

ती सांसदका अनुसार सुरूआतमा सभापति थापाले लामिछानेको स्वास्थ्य, जबाफ दिन सक्ने, नसक्ने अवस्थाबारे सोधे।

लामिछानेले जबाफ दिन सक्ने बताए।

यसपछि थापाले सोधे, ‘तपाईं कुनै सहकारीमा आबद्ध हुनुहुन्छ कि हुनुहुन्न? हुनुहुन्छ भने तिनको विवरण दिनुहोस्।’

लामिछानेले जबाफ दिए, ‘म कुनै सहकारीमा आबद्ध छैन।’

त्यसपछि उनलाई समितिले पूरक प्रश्न सोधेको थियो — पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीमा तपाईं सदस्य रहेको र खाता नम्बरसमेत देखिन्छ नि?

लामिछानले आफूले सूर्यदर्शन र सुप्रिम सहकारीको सदस्य नरहेको र त्यहाँ कसैलाई पनि नचिन्ने जबाफ दिए।

यसपछि समितिले गोर्खा मिडिया नेटवर्कमा उनको जिम्मेवारी, टिभीको अहिलेको अवस्था र जिबी राईसँगको चिनजानबारे सोध्यो। गोर्खा मिडियामा पैसा कहाँबाट आयो, सहकारीको पैसा जम्मा भएको हो कि होइन भन्ने जस्ता प्रश्न गर्‍यो।

यी सबैबारे आफूलाई थाहा नभएको उनले बताए। टेलिभिजनमा आफ्नो जिम्मा खर्च गर्ने मात्र भएको र लगानीको जिम्मा जिबी राईको भएको बताए। जिबी राईले कहाँबाट लगानी ल्याए भन्नेबारे आफूलाई थाहा नहुने जबाफ उनले दिए।

एक सांसदका अनुसार त्यसपछि सभापति थापाले यी दुई सहकारीबाट लिएको ऋण गोर्खा मिडियाको खातामा गएको र त्यही पैसा देखाएर सेयर सदस्य बनेको देखिन्छ नि भनेर सोधे।

‘हामीले रकम जम्मा गर्न गएकै मान्छेलाई समितिमा ल्याएर सोधेका छौं। सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गएको रकम र तपाईंले सेयर लिएको बेलाको रकम उही छ। तपाईंका नाममा डिपोजिट भएको कागज छ। यो त मिल्छ त सबै भनेर भन्नुभयो,’ थापाका भनाइ उद्धृत गर्दै ती सांसदले भने।

लामिछानेले आफूले कुनै कागज गरेर ऋण नलिएको बताए, ‘मैले कुनै ऋणको फारम भरेको छैन। मेरो खातामा पैसा आएको छैन। पोखराको सूर्यदर्शन सहकारीमा भएको ठेगाना सिर्जनाचोक, पोखराको छ। सुप्रिममा भएको रवि लामिछानेको ठेगाना बुटवल छ। त्यो रवि लामिछाने म होइन।’

यसपछि सभापति थापाले विभिन्न सहकारीबाट विभिन्न व्यक्तिका नाममा लिएको ऋण सिधै गोर्खा मिडियाको खातामा गएको छ भनेर प्रश्न गरे। ती व्यक्तिका नामको ऋण कहिले कहिले गोर्खा मिडियामा गएको छ भन्ने विवरण पनि उल्लेख गरे।

लामिछानेले सहकारीबाट ऋण ल्याउने विषयमा आफूले कुनै निर्णय नगरेको बताए।

उनले भने, ‘गोर्खा मिडियामा म हुँदा मैले निर्णय गरेर, योजना बनाएर कुनै सहकारीबाट पैसा ल्याउने काम भएको छैन।’

त्यस्तै आफूलाई जिबी राई सहकारीहरूमा संलग्न भएको विषय समेत चितवनबाट दोस्रोपटक चुनाव जितेपछि मात्र थाहा भएको जबाफ दिए।

‘जिबी राईसँग मेरो चिनजान टेलिभिजन खोल्न उनले प्रस्ताव ल्याएपछि भएको हो। उनका यति धेरै सहकारी छन् भन्ने जानकारी त्यति बेला मलाई थिएन। मैले दोस्रोपटक चुनाव जितेपछि जब मिडियामा उनका बारेमा खबर आउन थाले, त्यसपछि थाहा पाएको हुँ।’

समितिले हरेक प्रश्न सोधेपछि लामिछानेको जबाफ तत्कालै टाइप गरिएको थियो। लेखेको जबाफ पढेर लामिछानेलाई सुनाइएको थियो। प्रश्न सोध्ने क्रम करिब पौने १२ बजे सकिएको थियो। तर त्यसपछिको प्रक्रियामा समय लागेकाले सोधपुछ करिब ९ घन्टा चलेको समितिका एक सांसदले बताए।

‘उहाँले हस्ताक्षर गर्नुअघि प्रिन्ट गर्न लगाएर पटक पटक पढ्नुभयो,’ ती सांसदले भने, ‘उहाँले हस्ताक्षर गरिसक्दा एक बज्यो।’

अर्का एक सांसदका अनुसार लामिछानले पटक पटक आफ्नो जबाफ पढ्न थालेपछि समिति सभापति थापाले ढुक्कले समय लिन भनेका थिए।

‘सभापतिले ढुक्कले हेर्नुहोस्, हामी छर्लंग उज्यालो हुँदासम्म बस्छौं भन्नुभयो,’ उनले भने, ‘समयको दबाबमा नपर्नुहोस् नै भन्नुभयो।’

ती सांसदका अनुसार लामिछानले बयानमा तीन वटा कुरा प्रस्ट्याएका छन्;

— सहकारीमा आफ्नो खाता नभएको र आफ्नो कुनै विवरण ऋण लिँदा पेस नभएको।

— गोर्खा मिडिया नेटवर्कमा आफू रहँदा सहकारी वा बैंकबाट ऋण लिने कुनै निर्णय वा कागज नभएको। गोर्खा मिडियाको बैंक खाताको विवरण लगायतमा आफ्नो कुनै पहुँच नभएको।

— जिबी राईले कहाँबाट पैसा ल्याए भनेर खोज्ने काम सरकारकै अन्य निकायको भएको र आफ्नो नभएको। जिबी राईको आर्थिक स्रोत आफूलाई थाहा नहुने र नभएको।

लामिछानले गोर्खा मिडिया नेटवर्कबाट आफूले तलब खाएको तर अरू कुनै रकम नखाएको पनि बताएको ती सांसदले जानकारी दिए।

सहकारी ठगी प्रकरणमा समितिले अहिलेसम्म सुप्रिम र सूर्यदर्शन सहकारीका पदाधिकारी तथा कर्मचारीहरूसँग समेत गरेर ५० जनासँग सोधपुछ गरिसकेको छ।

यी दुई सहकारीका कुमार रम्तेल, रोशनी गुरूङ, भविश्वर अर्याल र ओमप्रकाश गुरूङले रवि लामिछानेकै संलग्नतामा सहकारीको पैसा गोर्खा मिडिया नेटवर्कमा लगेको भन्ने संकेत गर्दै बयान दिएको ती सांसदले बताए।

‘ऋण लिन फारम भरेका कागजात त छैनन् तर पैसा गोर्खा मिडिया नेटवर्कमा गएको छ। गोर्खा मिडियामा अर्को रवि लामिछाने को छ त, उहाँ नै त हो नि भन्ने जबाफ कुमार रम्तेल र ओमप्रकाश गुरूङबाट आएको छ,’ ती सांसदले भने।

उनका अनुसार समितिले अहिलेसम्म लामिछानेले ऋण लिन गरेको कुनै कागजात भने भेटेको छैन।

कांग्रेस सांसद ईश्वरी न्यौपानेले लामिछानले बयानमा सबै जानकारी जिबी राईलाई मात्र भएको जबाफ दिएको बताइन्।

उनले लामिछानेको जबाफ उद्धृत गर्दै सुनाइन्, ‘गोर्खा मिडियामा म ग्यालेक्सी टिभी चलाउन भनेर गएको हुँ, त्यसका लागि मैले ५ लाख तलब लिएँ। सेयर किन्दा जिबीले नै एड्भान्स रकम दिए, सेयर उसैले किनिदिए। छाड्ने बेलामा पनि न मैले पैसा हालेँ, न लिएँ। कम्पनी रजिस्ट्रार कार्यालय लगायतमा बुझाएका विवरणहरू काम चलाउनका लागि हो। व्यवहारमा यस्तै चल्ने भएकाले मैले पनि त्यही गरेँ।’

लामिछानले जिबीले नै ‘फेक’ ऋण बनाएको हुन सक्ने बयान पनि समितिमा दिएका छन्।

उनले जस्तै अन्य व्यक्तिहरूले पनि बयानमा जिबी राईले फेक ऋण लिएको हुन सक्ने जबाफ दिएको न्यौपानेले बताइन्।

  • सेतोपाटीबाट 

९ भाद्र २०८१, आईतवार ००:१४ मा प्रकाशित
Nabintech