Play

भ्रमणले नेपाल भारतबीच आपसी सद्भाव अभिबृद्धि भएको छः परराष्ट्रमन्त्री डा. राणा

जलवायु परिवर्तनको असर लगायतका साझा समस्याहरुको अनुसन्धान गरि समाधानमा लाग्न आग्रह


गुरुकुल खबर


काठमाडौँ,  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबीचको आपसी सद्भाव अभिबृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताएकी छन । भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको आफूले विश्वास लिएको बताईन ।

मन्त्री डा राणाले भनिन “भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरु समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबद्र्धन गर्न मार्गदर्शन समेत गरेको मैले विश्वास लिएको छु ।”

उनले भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा गत आइतबार नयाँ दिल्ली गएको र नेपाल र भारतको उच्चस्तरीय भ्रमण आदानप्रदानको कार्यक्रम अनुसार नै यो भ्रमण भएको जानकारी गराउँदै भारतका प्रधानमन्त्री र विदेशमन्त्रीसँग सौहार्दपूर्ण रुपमा भेटवार्ता भएको तथा ती भेटमा नेपालको हित र चासोका साथै आपसी हितका विविध विषयहरुमा कुराकानी भएको जानकारी दिईन ।

भ्रमणका क्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट भएको र त्यस भेटका क्रममा नेपाल र भारतबीच रहीआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने वषयमा विचारको आदानप्रदान भएको उनले जानकारी दिईन ।

साथै त्यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र पनि हस्तान्तरण गरेको मन्त्री डा राणाले बताईन।

सोही दिन मन्त्री डा राणाको भारतीय समकक्षी विदेशमन्त्री एस.जयशङ्करसँग पनि भेटवार्ता भएको थियो । सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै उर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकूद, सीमा पूर्वाधार लगायत सहयोग आदानप्रदान र सहकार्यका बारेमा छलफल भएको उनले जानकारी दिईन।

भारतीय विदेशमन्त्री एस.जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि गत आइतबार नयाँ दिल्ली गएकी हुन । परराष्ट्रमन्त्री नियुक्त भएपछिको उनको यो पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा आज बिहिबार नियमित उडानबाट अपराह्न चार बजे काठमाडौँ आएकी हुन ।

यसैबीच भारतको औपचारिक भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दक्षिण एसियामा देखा परिरहेको जलवायु परिवर्तनको असर लगायतका विविध साझा समस्याहरुको संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गरेकी छन ।

बिहिबार नयाँ दिल्लीमा दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक के. के. अग्रवालसँगको भेटबार्तामा मन्त्री राणाले उक्त आग्रह गरेकी हुन ।

अध्यक्ष अग्रवालसहितको टोलीसँग मन्त्री डा राणाले भनिन  “जलवायु परिवर्तन त अहिलेको यस क्षेत्रकै ज्वलन्त समस्या भयो । त्यस्तै अरु पनि हाम्रो दक्षिण एसियाली क्षेत्रका कैयौँ साझा समस्या छन् । ती समस्याको समाधानका लागि यो विश्वविद्यालयका अनुसन्धानदाता एवं प्राज्ञहरुले संयुक्त रुपमा अनुसन्धान उपायहरु सुझाउन सकेमा राम्रो हुन्छ भन्ने मलाई लाग्दछ ।”

त्यस अवसरमा सो विश्वविद्यालयका अध्यक्ष प्राध्यापक अग्रवालले विश्वविद्यालयका क्रियाकलापहरुका बारेमा जानकारी गराउँदै यस अन्तर्गत नेपालमा क्याम्पस स्थापना गर्न प्रस्ताव गरे । सो विश्वविद्यालय दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, सार्कका सदस्य राष्ट्रहरुको सहभागितामा सञ्चालित छ । सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु यो विश्वाविद्यालयको पदेन चान्सलर रहने व्यवस्था पनि छ ।

गत आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस.जयशङ्करसँग द्विपक्षीय वार्ता गरेकी थिइन । भारतीय विदेशमन्त्री एस.जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री डा राणा आज अपराह्न स्वदेश फर्कंने कार्यक्रम छ ।

६ भाद्र २०८१, बिहीबार १८:१७ मा प्रकाशित
Nabintech