Play

कांग्रेस-एमालेको अब बन्ने सरकारको प्राथमिकता राजनीतिक स्थिरता र संबिधान संसोधन हुनुपर्छ – कांग्रेस नेता केसी

'प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री, समानुपातिक प्रणाली खारेज र सांसदको संख्या आधा घट्ने गरि संबिधान संसोधन गर्नुपर्छ'


गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका नेता एबम प्रतिनिधि सभा सदस्य अर्जुन नरसिंह केसीले नेपाली काँग्रेस र नेकपा एमाले समेतको सहभागितामा अब बन्ने सरकारले राजनीतिक स्थिरता दिन र संबिधान संसोधन गर्न सक्नुपर्नेमा जोड दिएका छन। पोखरामा पत्रकारहरुसंगको कुराकानीमा काँग्रेस नेता केसीले अब बन्ने सरकार नेपालको संबिधानको धारा ७६ को २ अनुसार बन्नुपर्ने समेत स्पष्ट पारे ।

देशमा राजनीतिक स्थिरता होस भन्ने उद्धेश्यले संबिधानमा नै सरकार गठन भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताब ल्याउन नमिल्ने प्राबधान राखिएको भएपनि १८ महिनाको अबधिमा तीनपटक सरकार परिबर्तन भएर अब चौथो पटक सरकार परिबर्तन हुन लागेको नेता केसीले स्पष्ट पारे।

नेपालको संविधानको धारा ७६ को (२) उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ भनिएको छ।

“धारा ७६ (२ ) अनुसार बनेको सरकारले बिश्वासको मत प्राप्त गर्न नसकेको अबस्थामा मात्र धारा ७६ को (३ ) अनुसार सरकार बन्ने बाटो खुल्ने हो, तर ७६ ( २) अनुसार बनेको सरकारले बिश्वासको मत प्राप्त गरिसकेको अबस्थामा फेरी सरकार बनाउनुपर्दा ७६ ( २ ) अनुसार नै पुन सरकार बन्नुपर्ने संबैधानिक प्रक्रिया हो” उनको भनाई थियो ।

यसलाई पुष्टि गर्ने क्रममा केसीले “संविधानको धारा १०० को (२ ) मा  प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ।” समेत उल्लेख भएको कारण ७६ ( २ ) अनुसार सरकार बनाएर बिश्वासको मत लिने कुरामा द्विविधा नराख्न सबै संग आग्रह गरे ।

उनले भने, “अब आशा गरौँ, मुलुकका दुई ठुला पार्टी मिलेर बन्ने सरकारले आम नागरिकमा ब्याप्त निराशा र आक्रोशलाई आशा र खुसीमा परिणत गर्ने गरि काम गर्न सकोस। ”

अब बन्ने सरकारको मूल प्राथमिकता संबिधान संसोधन र राजनीतिक स्थिरता हुनुपर्नेमा उनको जोड थियो। पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता केसीले गुरुकुल खबरले सोधेको एक प्रश्नको जवाफमा भने ।,” संबिधान संसोधन कुन कुन बुंदामा गर्नुपर्छ भन्ने बिषयमा मेरो पार्टी नेपाली काँग्रेसले र अन्य दलले पनि खाका तयार गर्लान, तर मैले केहि विषय लिखित रुपमा पार्टीलाई पनि बुझाएको छु। मेरो व्यक्तिगत बिचारमा समानुपातिक निर्बाचन प्रणाली खारेज गरि समानुपातिक प्रतिनिधित्व गराउन समानुपातिक निर्बाचन क्षेत्र बनाउनुपर्ने वा राष्ट्रिय सभामा समानुपातिक किसिमले प्रतिनिधित्व गराउने व्यवस्था गर्नु उपयुक्त हुन्छ। यसैगरि संघिय र प्रदेशसभामा निर्बाचित हुने सांसदको संख्यामा पनि ५० प्रतिशत कम गर्नुउपयुक्त हुन्छ। किनकी भारतमा २२ लाख देखि २९ लाख मतदाता रहेको एक निर्बाचन क्षेत्र छ भने नेपालमा पनि मतदाताको संख्या बढाएर निर्बाचन क्षेत्र कायम गर्न सकिन्छ।”

यसैगरि उनले देशमा अस्थिरता बढेको कारण संसद र कार्यपालिकाको भूमिकाको ब्याख्या गरि प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री हुनुपर्छ भन्ने पक्षमा आँफु रहेको स्पष्ट पारे । “राष्ट्रपति आर्मीको पनि प्रमुख हुने भएकोले राष्ट्रपतिलाई प्रत्यक्ष निर्बाचित गर्दा तानाशाही बन्न सक्ने भएकोले शक्ति सन्तुलनको लागि पनि प्रधानमन्त्री प्रत्यक्ष निर्बाचित हुनुपर्छ भन्ने मेरो बिचार हो, यस्तो प्रणाली फ्रान्समा पनि छ।” केसीले भने ।

नेपाली काँग्रेस भित्र संबिधान संसोधन गरि सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने आवाज समेत उठिरहेको बेला कांग्रेस नेता केसीले आँफु ‘सर्ब-धर्म, सम-भाव’ को पक्षमा रहेको भन्दै धर्म निरपेक्ष भन्दा धार्मिक स्वतन्त्रता मुलुकमा आबश्यक रहेकोमा जोड दिए।

“अब बन्ने सरकारको मन्त्रीमण्डलमा जाने इछ्या मैले राखेको छैन, तर मेरो आबश्यकता र उचित सम्मान सहित प्रस्ताब आएमा त्यसबारेमा मैले सोच्नसक्छु।” केसीले  भने । उनले जातीय, क्षेत्रिय एबम अन्य सबै सन्तुलन मिलाएर राम्रो काम गर्न सक्ने प्रभावशाली व्यक्तिहरुलाई मन्त्रीमण्डलमा पठाउने तर्फ सबै पार्टी गम्भीर हुन समेत आग्रह गरे। “सरकारमा पुगेपछि दुई ठुला पार्टीहरु फेरीपनि स्वार्थमा अलमलिए भने दुवै दलको लागि यो गम्भीर चुनौती बन्न सक्छ” केसीले स्पष्ट पारे।

आंफ्नो लामो राजनीतिक यात्राको क्रममा नागरिकहरुमा अहिलेको जस्तो निराशा र असन्तुष्टि यस अगाडी कहिले नदेखेको केसीले उल्लेख गरे।  “अब दुई ठुला दल मिलेर बन्ने सरकारले पनि जनताको निराशालाई आशामा परिणत गर्नको लागि सरकारको संस्कार, कार्यशैली र प्रवृतिमा परिबर्तन गर्नु आबश्यक छ। भ्रष्टाचार र सुशासनको पक्षमा सरकारले राम्रोसंग काम गर्न सक्नुपर्छ। अन्यथा जनताले सबै दल सधैं उस्तै छन भन्ने अवस्था कायम रहन्छ र देश अझ पछाडी धकेलिन सक्छ। ” नेता केसीको भनाई थियो ।

यसै सन्दर्भमा उनले भने, “यदि सरकार परिबर्तन भएर पनि जनताको असन्तुष्टिलाई सम्बोधन नगर्ने वा गर्न नसक्ने हो भने जनताले सरकार परिबर्तन भएको अनुभूति गर्न पाउने छैनन र जनतामा देखिएको निराशा अझैँ बढेर जान्छ। ”

नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारको प्रश्नको उत्तर दिंदै कांग्रेस नेता केसीले पोखरा विमानस्थल निर्माणमा एडीबी र जाइकाले कम लागतमा बनाउने भन्दा उनीहरुलाई बाइपास गरिएको र चिनिया लगानीमा निर्माण गर्दा लागत धेरै बढाईएको पाइएको जानकारी दिए।

पोखरा विमानस्थल बिआरआई वा ऋणबाट बनाईएको भन्ने अझै सम्म पनि स्पष्ट नभएको भन्दै केसीले पोखरा विमानस्थलमा भएको अनियमितता सम्बन्धमा आबश्यक छानबिन गरि लेखा समितिलाई प्रतिबेदन दिनेभएकोले अहिले नै सबै कुरा आंफुले भन्न नमिल्ने बताए ।

कार्यक्रममा युनियनका उपाध्यक्ष ज्योती हमाल र सचिब धनबहादुर गुरुङ सुमन लगायतले युनियनको बारेमा जानकारी गराएका थिए ।

आइतबार पोखरा आएका केसीले सोमबार पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता सम्बन्धमा अध्ययन गर्न राजेन्द्र लिंग्देंनको संयोजकत्वमा आएको टोलिसंगै विमानस्थलको निर्माण र संचालनको अबस्थाका बारेमा जानकारी लिएका थिए । मंगलबार उनले पोखरामा नेपाली काँग्रेसका विभिन्न तहका नेता कार्यकर्ताहरुसंग समेत भेटघाट गरि समसामयिक राजनीतिक अवस्थाका बारेमा जानकारी लिएका थिए ।

कांग्रेस नेता केसी पोखराका शिक्षासेवी शंकर गौतमको शबयात्रामा समेत सहभागी भएर गौतम प्रति अन्तिम श्रद्दान्जली अर्पण गरेका थिए गौतमको सोमबार दिउँसो  ६७ बर्षको उमेरमा निधन भएको थियो । कास्की लगायत विभिन्न जिल्लामा जिल्ला शिक्षा अधिकारी भएर काम गरेर सेवा निवृत्त भएका गौतम उच्चरक्तचापको कारण गत माघ महिनाबाट गम्भीर बिरामी परेपछि पोखरा र काठमाडौँका विभिन्न अस्पतालमा उपचारकै क्रममा थिए ।

 

 

२५ असार २०८१, मंगलवार २०:०७ मा प्रकाशित
Nabintech