Play

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा शर्मा र प्रदेश योजना आयोगको उपाध्यक्षमा देवकोटा

अघिल्लो पटक गरिएका नियुक्तिलाई नै निरन्तरता दिंदै मुख्यमन्त्री पाण्डे


गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशका मुख्य मन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएपछि प्रदेश सरकारको सिफारिसमा वा मुख्य मन्त्रीबाट विभिन्न पदमा नियुक्ति गर्ने क्रम जारी छ । जसअनुसार शुक्रबार नै गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएकाछन् भने गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा नियुक्त भएकाछन् दुवैजना यस अगाडी पाण्डे मुख्यमन्त्री हुँदा सोहि पदमा कार्यरत थिए।

गण्डकी प्रदेश सरकारको सिफारिसमा चिरञ्जीवी शर्मालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार  मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । उनी यसअघि पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्ता थिए । शर्मालाई प्रदेश प्रमुख भट्टको उपस्थितिमा शुक्रबार नै उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश राजन भट्टराईले पद तथा गोपनियताको शपथ गराए ।

सपथमा मुख्यमन्त्री पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ, उपसभामुख बिनाकुमारी थापा, प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत र विभिन्न मन्त्रालयका सचिवहरु सहित अन्यको उपस्थिति थियो ।

शर्मा गण्डकीका छैटौं मुख्य न्यायाधिवक्ता हुन् । यस अगाडी पहिलो कार्यकालमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङका राजेन्द्र घिमिरेलाई, त्यसपछिका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कास्कीका रोहितराज बास्तोलालाई मुख्यन्यायाधिबक्ता बनाएका थिए यो कार्यकालमा पहिलो पटक मुख्यमन्त्री बनेका खगराज अधिकारले कास्कीका श्रीकान्त बराललाई मुख्य न्यायाधिवक्ता बनाएका थिए ।

त्यसपछि सुरेन्द्रराज पाण्डेले आफ्नो पहिलो कार्यकालमा चिरञ्जीवी शर्मा र त्यसपछी खगराज अधिकारीले लमजुङका एमाले नेता कृष्ण अधिकारीलाई मुख्य न्यायाधिवक्ता बनाएका थिए । सर्वोच्च अदालतको आदेशपछि  गत साता बनेको पाण्डे नेतृत्वको सरकारले फेरी शर्मालाई नै उक्त पदमा नियुक्त गरेको हो

म्याग्दीको बेनी नगरपालिकाका १० घर भएका शर्मा २०४८ देखि कानुन व्यवसायमा आबद्ध छन् । शिक्षण पेसामा समेत आबद्ध रहेका शर्मा गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर पदको उम्मेदवार थिए । उनी एमालेका सुरत केसीसँग पराजित भएका थिए ।

बिएल, बिएडका साथै उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । म्याग्दीको महेन्द्र माविमा २ वर्ष प्रअ रहेका उनले झण्डै १८ वर्ष म्याग्दी बहुमुखी कलेजमा पढाए । उनले राजनीतिशास्त्र र बिजनेस ल विषय पढाए । शर्मा म्याग्दी जिल्ला बारका पूर्व अध्यक्ष हुन् ।

मुख्यमन्त्रीले यसअघि पनि विश्वास गरेर आफूलाई नियुक्त गरेको र अहिले पनि अवसर दिएकामा धन्यवाद् दिँदै उनले कर्तव्यनिष्ठ भएर कानुनको अधिनमा रही जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन। मुख्य न्यायाधिवक्ताले उच्च अदालतका न्यायाधीश सरह सेवा, सुविधा पाउँछन् । मुख्य न्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हो ।

यसैगरी गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा पुन: नियुक्त भएका छन्। देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबारै शपथ गराएका हुन । उनी पाण्डेको पहिलो कार्यकालमा समेत सोहि पदमा कार्यरत थिए ।उनी गोरखाको पालुङटार नगरपालिका ३ निवासी हुन् ।

यस अगाडिका मुख्य मन्त्री खगराज अधिकारीले उक्त पदमा डा. श्रीकान्त खतिवडालाई नियुक्त गरेका थिए तर उनले छोटो समयमात्र काम गर्ने मौका पाए ।

दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा पिएचडी गरेका देवकोटा हाल ग्लोबल इन्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज (जिआइइएस) मा रिसर्च फेलो हुन् ।  विकास योजना, विपद् व्यवस्थापनका साथै विपद मैत्री विकासका ज्ञाता डा. देवकोटा कम उमेरमा पिएचडी गर्नेमा पर्छन्। उनले २९ वर्षको उमेरमा पिएचडी गरेका हुन् । केही समय कोरिया सरकारकै मातहतमा रहेर काम गरेका उनी स्विस कम्पनीमा विपद व्यवस्थापन विज्ञका रुपमा आबद्ध थिए।

गण्डकी प्रदेशको समृद्धिका लागि विपतमैत्री विकास योजना निर्माण गरेर कृषि, पर्यटन, जलस्रोत र पूर्वाधारलाई प्राथमिकतामा राखेर आफूले यसअघि काम गरेको र त्यसै अनुसार अगाडि बढ्ने प्रतिबद्धता उनले जनाएका छन् ।असार १ गते प्रदेश सरकारले संसदमा बजेट पेस गर्नुपर्छ । त्यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्छ । नीति तथा योजना आयोगले बजेट अगावै मध्यमकालीन खर्च संरचना पनि तयार गर्नुपर्छ ।

मुख्य मन्त्री पाण्डेले आफ्नो सचिबालयमा पनि पुरानै कर्मचारी नियुक्त गरेको छन् भने प्रेस संयोजकमा पनि पहिलेकै नियुक्ति लाइ निरन्तरता दिंदै गोर्खाका नरहरी सापकोटालाई नियुक्त गरेको बुझिएको छ ।  सापकोटा नेपाल पत्रकार महासंघ गोर्खाका अध्यक्ष समेत हुन ।

१८ जेष्ठ २०८१, शुक्रबार २३:२४ मा प्रकाशित
Nabintech