- गंगाधर पराजुली
एकस्वस्थ मानिसको शरिरबाट निकालिएको रगतलाई आबश्यक परिक्षण गरेर रगत आबश्यक परेको अर्को बिरामी मानिसलाई चढाउने कामलाई रक्तसंचार सेवा भनिन्छ। जीवित मानब वा प्राणीको शरीरका बिभिन्न अंगमा रगत प्रबाह हुने प्रक्रियालाई पनि रक्त संचार भनिन्छ।चिकित्सा विज्ञानले मानब शरीरमा रक्तसंचारको भूमिकालाई महत्वपूर्ण मान्दै सम्पूर्ण प्राणीहरुको शरीरमा रक्तसंचार हुन्छ भन्ने तथ्यलाई धेरै पहिले नै उजागर गरेको हो । सन १६१६मा वैज्ञानिक डा विलियम हार्वेले मानव जाति लगायत सम्पुर्ण प्राणीहरुमा रक्तसञ्चार हुन्छ भन्ने तथ्य पत्ता लगाएको मानिन्छ ।
रक्तसंचार सेवाको शुरुवात
सन १६६५मा डा रिचार्ड लोबेरले एउटा कुकुरको रगत अर्को कुकुरमा सफल सञ्चार गराएका थिए। जनावरको रगत जनावरलाई संचार गरेपछी जनावरको रगत मानिसलाई समेत संचार गरिएको थियो । तर त्यस क्रममा मानिसको मृत्यु भए पछी मानब शरीरमा अन्य प्राणीबाट मानब शरीरमा रगत संचार गर्नु उपयुक्त छैन भन्ने तथ्य पत्ता लागेको जानकारहरु बताउछन् ।
रगत र रक्तसंचार सेवाको इतिहास हेर्दा सन् १८१८ मा डा. जेम्स ब्लेण्डेलले मानव शरीरको रगत अर्को मानवमा सञ्चार गर्न सकिन्छ भन्ने तथ्य पत्ता लगाएका हुन। सन १९०१ मा अष्ट्रियाका बैज्ञानिक डा. कार्ल लेनडेस्टेनर नामका बैज्ञानिकले मानव शरीरमा सञ्चार भैरहने रगतको समूह पत्ता लगाएको मानिन्छ। उनले मानब शरीरको रगतमा ए,ओ र बि रक्त समूह हुन्छ भनेर पत्ता लगाएका थिए । सन १९३० मा तिनै डा कार्ल लेण्डेस्टेनरलाई नोवेल पुरस्कारबाट सम्मानित गरिएको थियो । मानव रगतमा ए,ओ र बि रक्तसमुह हुन्छ भन्ने महत्त्वपूर्ण तथ्य पत्ता लगाएकोले उनलाई सम्मानित गरिएको थियो ।
चिकित्सा विज्ञानमा भएको बिकास क्रमसंगै सन १९१४ मा बेल्जियमका डा. हस्टिनले मानव शरीरबाट निकालिएको रगतलाई आवश्यक तरल पदार्थ राखि केहि दिन सुरक्षित रहने गरि बोत्तलमा राख्न सकिने तथ्य सार्वजनिक गरेका थिए।
विश्व स्वास्थ्य संगठनले रगतको रक्त समूह पत्ता लगाउने डा कार्ल लैण्डेस्टेनरको जन्मदिन १४ जुनलाई सन २००४ बाट विश्व रक्तदाता दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । उक्त निर्णय पछी हरेक वर्षको जुन १४ लाई विश्व रक्तदाता दिवसको रुपमा मनाउन लागिएको हो । यो दिनलाई विश्वभरका रक्दाताहरुलाई सम्मान गर्ने दिवसको रुपमा पनि लिने गरिन्छ।
विश्व स्वास्थ संगठनले रक्तदाता दिवस मनाउने निर्णय गर्नु अगाडी नै अर्थात सन् १९३२ मा एशियाका डा. एन्डी बाग्दासरावले बोत्तलमा राखिएको रगतलाई ४ डिग्री सेन्टिग्रेड तापक्रममा २१ दिनसम्म सुरक्षित राख्न सकिने तथ्य पत्ता लगाउनुको साथै यो प्रविधिको विकास पनि गरे।तर मानब शरिरबाट निकालिएको रगतलाई जम्मा गरेर सुरक्षित साथ केहि समय राख्नु चुनौतीपूर्ण थियो। यही चुनौतीको सामना गर्दै सन १९३६ मा क्यानाडाका डा. नर्मल बेश्युनले स्पेनको म्याड्रिड शहरमा विश्वको पहिलो ब्लड बैंक स्थापना गरेपछि रगतलाइ पनि सुरक्षित रुपमा राख्न सकिने भएको हो ।
समयको अन्तरालसंगै सन १९४० मा डा. कार्ल लैण्डेस्टेनर र डा. एलेक्जेण्डरले गरेको संयुक्त अध्ययनबाट मानव शरीरमा रहेको रगतमा आरएच नेगेटिभ र पोजिटिभ समूह हुन्छ भन्ने पत्ता लागेको थियो। मानव शरीरमा हुने रगतको ए,बि र ओ समूह संगै आरएच समूह चिकित्सा विज्ञानमा अर्को महत्त्वपूर्ण उपलव्धि मानिन्छ। बिरामी मानिसको उपचार गर्दै जाने र रक्त समुहको पनि अध्ययन गर्दै जाने क्रममा यी तथ्यहरु पत्ता लागेको बताईन्छ।
नेपालको छिमेकी राष्ट्र भारतको कोलकतामा सन १९४२ मा पहिलो ब्लड बैंक स्थापना भएको भए पनि नेपालमा रक्तसंचार सेवाको इतिहास धेरै लामो छैन । त्यसको करिब ८० बर्ष पछि मात्र नेपालमा ब्लड बैंक स्थापना भएको हो ।
नेपालमा रक्तसंचार सेवा
नेपालमा आज भन्दा करिब ५८ बर्ष अगाडी अर्थात् २०२३ साल साउन १२ गते बिर अस्पतालको सानो कोठामा पहिलो ब्लड बैंक ( रक्त संचार केन्द्र ) स्थापना भएको थियो । लक्ष्मी ब्लड बैंक नामाकरण गरिएको सो बैंकले पहिलो बर्ष १ सय ५७ युनिट रगत जम्मा गरी रगत आबश्यक परेका बिरामीलाई उपलब्ध गराएको थियो। यसरी नेपालमा औपचारिक रुपमा रक्त सञ्चार शुरु भएको दिन श्रावण १२ लाई हरेक बर्ष रक्त सञ्चार दिवसको रुपमा मनाइंदै आएको छ।
बिस. २०२० चैत्रमा नेपाल रेडक्रस सोसाईटीको स्थापना भएको तिन वर्षपछी २०२३ मा ब्लड बैंकको स्थापना भएको थियो । स्वयंसेवीहरुको संस्था नेपाल रेडक्रस सोसाईटीले ब्लड बैंकको स्थापना र समन्वय संगै नियमित रुपमा रक्तसंचार सम्बन्धि काममा निरन्तरता दिंदै आएको थियो ।
प्रारम्भमा रगत आवश्यक हुनेले रगत दिने व्यक्ति आफैँ खोजी खरिद गर्नुपर्थ्यो । त्यसबेला बिशेषगरि भरियाहरुले पैसा लिएर रगत दिने गर्थे । तर समय बित्दैजाँदा ‘रगत खरिद तथा बिक्री गर्ने वस्तु होइन, स्वतस्फुर्त रुपमा स्वयम्सेवी दान दिनुपर्छ’ भन्ने विश्वव्यापी मान्यतालाई स्थापित गराउन सोसाइटी र स्वयम्सेवी रक्तदाताले अथक प्रयास गरेपछि सरकारले विसं २०४० मा रगत बिक्री गर्न प्रतिबन्ध लगाएको थियो ।
तत्कालिन सरकारले रगतको बेचविखन गर्ने कामलाई पुर्णतया अवैध घोषणा गरेपछि भने रगत बिक्रि गर्नेहरुको ठाउँ स्वयंसेवी रक्तदाताहरुले लिन थालेका हुन । नेपालमा त्पसपछि मात्र स्वयंसेवी रक्तदाताहरुको संख्यामा उल्लेख्य वृद्धि हुन लागेको हो। विश्व स्वास्थ संगठनले पनि सन २०२० सम्म शतप्रतिशत स्वयंसेवी रक्तदान गर्ने लक्ष पुरा गर्नको लागि हरेक देशलाई स्वयमसेवी रक्तदाता बनाउन उत्प्रेरित गर्दै आएको थियो ।
विश्वका वैज्ञानिकले हालसम्म मानव शरीरलाई आवश्यक पर्ने कृत्रिम रगत र तिनका प्रकार आविष्कार गर्न सकेका छैनन् । त्यसैले स्वच्छ व्यक्तिले दिने रगतले नै अर्को बिरामी व्यक्तिले प्रयोग गरी नयाँ जीवन प्राप्त गर्दछ । अर्कोतर्फ रक्तदान गरेर दातालाई कुनै हानि हुँदैन । चिकित्सकका अनुसार रगतमा भएको रातो रक्तकण भरिइरहन्छ, त्यसको परिपूर्ति ३ महिनामा हुन्छ ।
मानिसको शरीरको कुल तौलमा करिब ८ प्रतिशत रगतको मात्रा हुन्छ । औसत तौलको मानिसमा ४ लिटर रगत हुन्छ। त्यसैले ३ सय देखि ३ सय ५० मिलिलिटर रगत झिक्दा शरीरलाई कुनै हानी नहुने भएकोले रक्तदान गर्दा मानिसको स्वास्थमा प्रतिकुल असर नपर्ने चिकित्सकहरु बताउछन् ।
रक्तसंकलन र वितरणको एकल जिम्मा रेड्क्रसलाई
नेपालमा प्रजातन्त्रको पुनर्बहाली पछि बनेको पहिलो सरकारले नेपालमा रक्तसंचार सम्बन्धि काम गर्ने जिम्मेवारी नेपाल रेडक्रस सोसाइटीलाइ सुम्पिएको हो। तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले २०४८ चैत्र २४ गतेको मन्त्रीपरिषदको निर्णयअनुसार रक्तसंकलन र वितरणको एकल जिम्मेवारी नेपाल रेडक्रस सोसाईटीलाई सुम्पिएको थियो। तत्पश्चात नेपालमा रक्तसंचार सम्बन्धि सबै कामको जिम्मेवारी रेडक्रसले नै लिंदैआएको हो । २०७१ सालमा जारी रक्तसञ्चार ऐनले भने रगत व्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटीको एकल जिम्मेवारी हटाएको छ।
पछिल्लो समय विभिन्न दुर्घटना, प्रसूति, क्यान्सर सहित विभिन्न रोगको शल्यक्रिया गर्नुपर्ने बिरामीको सङ्ख्या बढ्दै जाँदा रगतको माग समेत दिन प्रतिदिन बढ्दै गएको छ । यसका लागि नेपाल रेडक्रस सोसाईटीले पनि क्रमिक रुपमा आफ्नो क्षमता विस्तार गरि हालसम्म साविकको ७ वटा प्रदेश र ७२ जिल्लाका १ सय ८ स्थानबाट रगत व्यवस्थापन गर्दै आएको छ।
नेपालमा रगत संकलन तथा वितरणको एकिन विवरण प्राप्त नभएपनि पछिल्लो एक बर्षमा करिब ५ लाख युनिट रगत संकलन भएको रक्त संचार केन्द्र श्रोतले जनाएको छ । आर्थिक बर्ष २०७७/७८ मा भने नेपालभरिका ब्लडबैंकबाट २ लाख ४२ हजार ४८ युनिट रगत संकलन गरी ३ लाख ३१ हजार ४ सय ५६ युनिट रगत तथा रक्ततत्त्व वितरण गरेको रेडक्रसले जनाएको छ । रगतको माग र आवश्यकतालाई पूरा गर्न भने रक्तसंचार केन्द्रलाई अझै पनि सहज छैन ।
नेपाल रेडक्रस सोसाइटी एक अन्तर्राष्ट्रियस्तरको स्वयंसेवी सामाजिक संस्था हो । यस संस्थाप्रति अन्य बिभिन्न ब्यबसायिक तथा पेशागत सहितका संस्था एवं सर्वसाधारण नागरिक र स्वयंसेवी रक्तदाताहरुको विश्वास कायम छ। वास्तवमा ठुलो परिमाणमा रगत तथा रक्ततत्त्व संकलन एवं वितरण चुनौतिपुर्ण कार्य हो । यो चुनौतीपूर्ण कार्यको सहज समाधान जति प्रभावकारी ढंगले हुनुपर्ने हो, त्यसरी हुन नसकेको आरोप रेडक्रसमाथि लाग्ने गरेको छ। रेडक्रस संस्थामा हाल देखिएको आन्तरिक बिबादले रक्तसंचार सेवा सम्बन्धि काम समेत थप प्रभावकारी बन्ननसकेको भन्दा अत्युक्ति हुँदैन ।
नेपाल रेडक्रस सोसाईटी अन्तर्गत केन्द्रीय रक्तसञ्चार केन्द्र काठमाडौंमा स्थापना गरिएको छ। त्यस केन्द्रबाट आवश्यक सहयोग र निर्देशनमा देशभरी रक्तसञ्चार केन्द्र, रक्तसञ्चार ईकाई र ईमर्जेन्सी युनिट संचालनमा छन । चितवन,पोखरा ,नेपालगन्ज र विराटनगरमा पहिले क्षेत्रिय र हाल प्रादेशिक रक्तसञ्चार केन्दको रुपमा ब्लड बैंक सञ्चालन हुँदै आएका छन् । बुटवल, धनगढी,धरान लगायत अन्य शहरहरुमा भएका रक्तसञ्चार सेवा केन्द्र धेरै रगत संकलन र वितरण हुने स्थानको रुपमा मानिन्छन ।
केहि निजि अस्पतालमा रगतको ब्यापार
सरकारले जारी गरेको रक्तसंचार ऐन २०७१ पछि स्वास्थसंस्था वा अस्पतालहरुले पनि ब्लड बैंक संचालन गर्न पाउने भएका छन् । सोहि व्यवस्था अनुरुप देशका केहि निजि अस्पतालहरुले ब्लड बैंक संचालनमा ल्याएका छन। यो कार्यले एकातिर रक्तसंचार सेवामा रेडक्रस संस्थाको विकल्प तयार भएको देखिएको छ भने अर्कोतिर निजीस्तरबाट सञ्चालित यस्ता ब्लड बैंकहरुले रगत तथा रक्त तत्त्वको शुल्क अत्यधिक राखेर रगतकै ब्यापार गर्न थालेकोले आम सर्बसाधारण आर्थिक मारमा पर्न थालेका छन् ।
रक्तसंचार ऐनको फाइदा उठाउँदै काठमाडौंमा रहेका केही नाम चलेका अस्पतालहरुले रगतको मूल्य प्रति युनिट रु दुई हजार भन्दा बढी लिने गरेको छन् । जबकि।नेपाल रेडक्रस सोसाइटीबाट सञ्चालित ब्लड बैंकले रु ५/६ सय देखि १ हजार सम्ममा रगत तथा रक्ततत्त्व वितरण गर्दै आईरहेको छ । स्वयंसेवी रक्तदाताहरुबाट स्वैच्छिक अनि निशुल्क रुपमा रगत संकलन गरेपनि बढी मूल्य राखेर रगत तथा रक्ततत्त्वको व्यापार गर्ने प्रबृत्ति निजि स्वास्थ संस्थामा देखिएकोले त्यसमा नियन्त्रण जरुरी छ ।
पोखरामा रक्तसंचार सेवा
पोखरामा रक्तसंचार सेवाको शुरुवात २०४२ सालमा नेपाल रेडक्रस सोसाइटीले नै गरेको हो। शुरुमा ७ जना रक्तदाताको रगत सलाइनको जस्तो बोतलमा झिकेर सामान्य फ्रीजमा राखेर यो सेवाको शुरुवात गरिएको थियो । त्यस समयमा अस्पतालमा उपचाररत कुनै बिरामीलाई रगत चाहिएमा ब्लडबैंकमा रहेको स्वयंसेवी रक्तदाताको नामावली हेर्ने र उनीहरुलाइ बोलाउने वा बिरामीको तर्फबाट नै रक्तदाता बोलाएर रक्तसंकलन गरि बिरामीलाई उपलब्ध गराउने चलन थियो। रगत संकलन र वितरणको सेवा गरेबापत केन्द्रले बिरामीबाट न्युन रकम समेत लिने गर्थ्यो । तर अहिले पोखराको रक्तसंचार केन्द्र देशको अत्याधुनिक र सुबिधासम्पन्न मात्र नभएर गण्डकी प्रदेशभित्र उपचाररत सबै बिरामीहरुलाई निशुल्क रुपमा रगत उपलब्ध गराउने एकमात्र ब्लड बैंक बन्न पुगेको छ । यसै कारणले नेपालको सर्बोत्कृष्ट रक्तसंचार केन्द्रको रुपमा समेत पोखराले सम्मान प्राप्त गरिसकेको छ ।
बि.स. २०४२ सालमा नेपाल रेडक्रस सोसाइटी कास्कीले पोखराको तत्कालिन गण्डकी अस्पताल परिसरमा रहेको एक जिर्ण भवनको कोठाबाट रक्तसंचार सेवाको शुरुवात गरिएको थियो । रक्त संचार केन्द्र ( ब्लड बैंक ) लाई ब्यबस्थित बनाउदै जाने क्रममा २०५२ सालमा पोखराको ब्लड बैंक पनि अन्य बिकास क्षेत्रको जस्तै क्षेत्रिय रक्तसंचार केन्द्रको रुपमा रुपान्तरित हुनपुग्यो । तत्कालिन समयमा बार्षिक ३ हजार देखि ३ हजार २ सय युनिट रगत भए पुग्ने गरेकोमा गत वर्ष ४० हजार भन्दा बढीलाई रगत वा रक्ततत्व वितरण गरिएको रक्त संचार केन्द्र पोखराले जनाएको छ ।
शुरुवातको समयमा रगत संकलन भएपनि त्यसको ग्रुपिंग र क्रसम्याच मात्र गरेर आबश्यक पर्ने बिरामीलाई रगत दिने गरिन्थ्यो । तर समय बित्दैजाँदा रगतको जांच गरेर मात्र बिरामीलाई दिनुपर्ने कानुनी प्राबधान लागु भयो । रगतमा एचआइभी, युडीआरएल. हेपाटाईतिस बि र हेपाटाईतिस सी को समेत अनिबार्य यरिक्षन गर्नुपर्ने व्यवस्था आयो । त्यस बेला केहि सहयोगी संस्थाले रगत जाँचको लागि आबश्यक किट निशुल्क रुपमा रेडक्रसलाई उपलब्ध गराउथे । यसरी किट निशुल्क पाएपछि रेडक्रसले ५ सय रुपैया लिएर बिरामीलाई रगत वितरण गर्ने गरेको थियो । तर पछि किट पाउन छोडेपछि रगतको मूल्य प्रति युनिट १ हजार सम्म तिर्न बाध्य थिए आम सर्बसाधारणहरु ।
गण्डकी प्रदेशभित्र सबैलाई रगत निशुल्क
रक्तसंचार केन्द्रले भने रगतको मूल्य नभएर रगतको जांच गर्दा लाग्ने न्युनतम मुल्य मात्र लिएको जनाउदै आएको थियो । केन्द्रले सरकारी अस्पतालमा उपचाररत बिरामीको लागि प्रति युनिट ७ सय र निजि अस्पतालमा उपचाररत बिरामीको लागि प्रति युनिट १ हजार रुपैया गरि दुई किसिमको मूल्य लिंदैआएको थियो । अहिले रगतजांचको मूल्य पहिलेको भन्दा बढेको छ, तर अहिले भने केन्द्रले सरकारी वा निजि सबैखाले अस्पतालमा उपचाररत बिरामीको लागि कुनै पनि शुल्क नलिईकन रगत उपलब्ध हुँदै आएको छ ।
आफ्नो प्रदेश भित्रका सबै स्वास्थसंस्थामा उपचाररत बिरामीहरुको लागि आबश्यक पर्ने सम्पूर्ण रगत निशुल्क उपलब्ध गराउने र त्यसबापत लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गण्डकी प्रदेश सरकारले गरेपछी गण्डकी प्रदेश भित्र रगत तथा रक्ततत्व बिरामीलाई निशुल्क भएको छ। चाहे सरकारी, चाहे निजि वा चाहे स्वदेशी चाहे बिदेशी जुन देशको नागरिक भएपनि गण्डकी प्रदेश भित्रका स्वास्थसंस्थामा उपचाररत छन् र तिनको लागि रगत चाहिएको भए निशुल्क रुपमा रगत उपलब्ध हुने गरेको छ ।जुन आम सर्बसाधारणको लागि अत्यन्त खुसिको कुरा हो।
यो निर्णय गण्डकी प्रदेशका तत्कालिन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको गण्डकी प्रदेश सरकारले २०७८ फागुन १ गते देखि लागु हुने गरि गरेको हो। ब्लडबैंक पोखराले गण्डकी प्रदेशभित्र वितरण भएको रगतको प्रति युनिट १ हजार २ सय ४० रुपैयाको दरले हिसाब गरेर मासिक रुपमा प्रदेश सरकारबाट पैसा लिनेगर्दछ। यस किसिमको निर्णय अन्य प्रदेश सरकार वा अन्य स्थानीय सरकारले कतै पनि गरेको छैनन तर केहि स्थानमा भने आंशिक रुपमा सहयोग पुग्ने गरि निर्णय भएका उदाहरणहरु छन ।
उत्कृष्ट ल्याब सहितको ब्लड बैंक छिट्टै
बिकसित देशमा बिरामीलाई रगत दिने बेला “होल ब्लड” दिने चलन हट्दै गएको छ। नेपालमा भने अझै सम्म मानिसलाई आबश्यक पर्ने रक्ततत्व मात्र छुट्याएर रगत दिने प्रबिधि बिकास भैसकेको छैन तर केहि कम्पोनेन्ट भने छुट्याएर पनि दिने गरिएको छ। रगतको चारवटा कम्पोनेन्ट जांच गर्ने “किलिया प्रबिधि” पछिल्लो प्रबिधि हो । यो प्रबिधि अनुसार रगतको जांच गर्दा १ हप्ता भित्र सबै रिपोर्ट आउने गर्छ। जब कि केहि समय अगाडी सम्म सामान्य एचआइभीको परिक्षण गरेको रिपोर्ट थाहा पाउन महिनौं कुर्नुपर्ने अबस्था थियो। पोखरामा किलिया प्रबिधि अर्थात् एचआइभी, युडीआरएल. हेपाटाईतिस बि र हेपाटाईतिस सी को परिक्षणको रिपोर्ट १ साता भित्र निकाल्ने गरि उपकरणहरु समेत जडान गर्न लागिएको छ। प्रादेशिक रक्तसंचार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीका अनुसार आगामी साउन १२ गते रक्तदान दिवसको अवसर पारेर सुबिधा सम्पन्न र अत्याधुनिक प्रयोगशाला सहितको रक्तसंचार केन्द्रको उद्घाटन गर्ने तयारी भैरहेको छ ।
हाल पोखरामा दैनिक १ सय युनिट जति रगत वा रक्ततत्व वितरण हुने गरेको छ । चितवनमा दैनिक ४ सय युनिट र काठमान्डौमा दैनिक १ हजार युनिट रगत आबश्यक रहेको बताईन्छ। चितवन र काठमान्डूमा स्वास्थसंस्थाहरु पनि धेरै रहेको र विभिन्न जिल्लाबाट गम्भीर अबस्थाका बिरामीहरु उपचारको लागि त्यहाँ जाने गरेकोले पनि चितवन र काठमाडौँमा पोखराको तुलनामा बढी रगत आबश्यक पर्ने गरेको छ। कुनै केन्द्रमा बढी भएको रगत अन्य केन्द्र वा बैंकमा पठाउने ब्यबस्था रहेकोले रगत बिग्रिने सम्भावना भने अत्यन्त न्युन रहेको छ।
पोखरामा स्वयमसेवी रक्तदाता सहित विभिन्न संघसंस्थाहरुको सहयोगमा रक्तसंकलन हुने गरेकोमा गत वर्ष २० हजार युनिट जति र यो वर्ष २५ हजार युनिट जति रगत संकलन भएको केन्द्रले जनाएको छ। पोखराबाट संकलित रगत मध्ये बढी भएको रगत चितवन र काठमाडौँमा समेत पठाइने गरेकोछ। पोखरा क्षेत्रमा चेतनाको स्तर पनि बढेको र जिबनस्तर समेत सोहि अनुरुप बढेकोले र्रक्त संकलन बढ्दै गएको हो ।
गण्डकी स्वास्थ बिज्ञान प्रतिष्ठान परिसरमा रहेको प्रादेशिक रक्त संचार केन्द्रको सेवा आगामी साउन महिना देखि पूर्ण रुपमा सिर्जनाचोकस्थित नया भवनबाट हुँदैछ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले अध्याधुनिक सुविधा सहितको रक्तसञ्चार केन्द्र आठ करोड रुपैयाको लागतमा निर्माण गरेको हो। कास्की रेडक्रसका सभापति समेत रहेका भवन निर्माण समितिका संयोजक दण्डपाणी शर्मा पौडेलका अनुसार तीन तल्ले अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणमा स्थानीय सरकार, गण्डकी प्रदेश सरकार र संघिय सरकार सहित बिभिन्न व्यक्ति र संस्थाले आर्थिक एबम अन्य सहयोग गरेका छन् ।
एप्लाष्टिक एमिनिया, थेलेसेमिया, होमोफिलिया, हेमोडाइलोसिस आदिका बिरामीहरुलाई जीवनभर रगत तथा रक्ततत्वको आवश्यकता पर्दछ । यसरी नियमित रगत चाहिने बिरामीहरु देखी अन्य विविध कारणले रगत आवश्यक परेका बिरामीहरुको जीवन रक्षाको लागि स्वस्थ मानिसले रक्तदान गर्नुपर्ने र त्यो रगत बिग्रन नदिई बिरामीको शरीरमा पुर्याउनु आबश्यक छ। यो आबश्यकता पुरा गर्न तथा रक्तसंकलन तथा वितरण कार्यमा अन्तराष्ट्रियस्तरको सेवा दिन पोखराको प्रादेशिक ब्लड बैंकलाई सफलता मिल्ने अपेक्षा छ ।